Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

जापानीहरु रेलमा होस् या बसमा सार्बजनिक यात्रा गर्दा आफ्ना कारण अरुलाई डिष्टर्व नहोस्, अवरोध नपुगोस् भनेर हदैसम्मको हेक्का राख्ने गर्दछन् । कि त पत्रपत्रिका, पुस्तक पढेका हुन्छन् कि आफ्नो मोवाइल चलाएर बसेका हुन्छन् वा निदाउने प्रयासमा हुन्छन् । तर यही जापानी समाजमा बसेका हामी विदेशीहरु सार्बजनिक यातायातको क्रमममा अरुको प्रवाह नै नगरी चर्को चर्को स्वरले आपसमा हल्ला गर्ने, फोनमा कुराकानी गरेर सभ्यताका पूजारी जापानीहरुका अगाडि कार्टून बनिरहेको चालै पाउँदैनौं । यसप्रकारको क्रियाकलापले हाम्रो अनुशासनको तह र सभ्यताको प्यारामिटर मापन गरिरहेको हुन्छ । हामी पिछडिएको मुलुकको नागरिक त हौं नै, उनीहरुको देशमा बसेर हाम्रो पारा लाड्न खोज्नुले हामीलाई शोभा दिदैंन । हामी जुनसुकै तहको एकेडेमिक डिग्री लिएको भए पनि हामीले पालना गर्नुपर्ने नियम र अनुशासनको बेवास्ता गर्दा त्यसले कुनै अर्थ राख्दैन ।

जापान जस्तो संसारकै सुरक्षित, शालिन, सभ्य र अनुशासित समाजमा बसेर हामी नेपालीले पाईला पाईलामा सिक्नुपर्ने पक्षहरु बल्ग्रेल्ती छन् । बोलीचाली, भेटघाट, अभिवादन आदानप्रदान र जुनियरले सिनियरलाई मान्ने सँस्कार, अरुका बारेमा टिकाटिप्पणी गरेर समय नष्ट नगर्ने स्वभाव, नकरात्मक बिषय र आफुसंग सरोकार नभएको बिषयमा प्रवेश नगर्ने जस्ता जीवनशैलीका कारण यहाँ सबै शालिन र भद्र देखिन्छन् । यसकारण पनि जापानीहरु संगै काम गरेको अनुभव बटुलेका नेपालीहरु अरुभन्दा केही पृथक देखिन्छन् । हेर्दा सामान्य लागे पनि दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता बिषयले निकै महत्व राख्दछ । आफ्नो उमेर र शारीरिक बनोट अनुसारको गेटअपमा सफाचट भएर हिड्ने, बोलीमा बिनम्रता, समयको अधिकतम हेक्का, जिम्मेवारीप्रतिको उच्च प्राथमिकता, कामप्रति श्रद्धा जस्ता जापानी सँस्कार हामी नेपालीका लागि अनुकरणीय पाटा हुन्, विश्वविद्यालयको कोर्समा पनि पढ्न नपाईने ज्ञान हुन् ।

देशलाई उभो लगाउन यिनै अनुशासित घेराभित्र बाँच्ने यहाँका जनताका जीवनशैलीका कारण संभव भएको हो भन्दा अत्युत्ति नहोला । पहिलो र दोस्रो बिश्वयुद्धमा तहसनहस भएको देश जापानले आधा शताब्दिमै जुर्मुराएर आफुलाई बिश्वको अग्रस्थानमा उभ्याउन सफल भएको देखिन्छ । यस्तो देशमा बसेका हामी नेपालीले यहाँ रोजगारीका साथै यहाँको जीवन पद्धती, समाज र कार्यशैली बारेमा सुक्ष्मरुपले अध्ययन र मनन गर्न जरुरी छ । जुन आफ्नो देशमा फर्केपछि उपयोगीसिद्ध हुन सक्दछ ।

हरेक सरकारी कार्यालयमा बिना भनसुन, बिना रोकतोक तदारुकताका साथ सेवाग्राहीका काम फटाफट भईरहेका हुन्छन् । भिडभाड, ठेलमठेल, चर्काचर्की, हप्कीदप्की कहीं कतै देख्न र सुन्न पाईदैन । सिष्टमले सबै चलिरहेका छन् । शायद यसैलाई भनिन्छ होला, गुड गभर्नेन्स । राष्ट्रको उत्थान गर्ने बिषय नागरिकको सोचमा पनि निर्भर हुने कुरा हो । हरेक नागरिकलाई असल र राष्ट्रप्रति बफादार बनाउन त्यहाँको शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ । एउटा शिशुले हुर्कर्दै सिक्दै गर्ने शिक्षाले उसलाई कस्तो बनाउँछ भन्ने बिषय जापानमा प्रष्ट देख्न पाईन्छ । जीवनका ब्यवहारिक पक्षका बहुउपयोगी बिषयलाई सानैदेखि सिकाईने भएकोले युनिभर्सिटी पुग्ने बेलासम्म जापानीहरु जीवन दर्शन र देशदुनियाँलाई राम्रोसंग बुझिसकेको एक परिपक्व नागरिक बनिसकेका हुन्छन् । हामीकहाँ ब्यवहारिक भन्दा सैद्धान्तिक, रोजगारीका लागि फिट हुने भन्दा पास हुनका लागि, ब्यवहारमा भन्दा प्रमाणपत्र हासिल गर्नका लागि उद्यत शिक्षा प्रणालीका कारण सर्टिफिकेटमा पास भएपनि ब्यवहारमा पास हुन नसकेकै कारण नेपालमा शिक्षित बेरोजगारीको संख्या बढ्दो छ ।

राज्यले शिक्षामा गरेको लगानीको अनुपातमा प्रतिफल पाउन नसकेको विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ । शिक्षामा गुणस्तर र ब्यवहारिक शिक्षा प्रणाली भईदिएको भए २०, ३० हजार जागीरका लागि ६, ७ लाख नेपाली युवाहरु आज मलेसियामा हुने थिएनन् होला । हाम्रो शिक्षाले पाखुरामा सीप भएको गरिखाने जनशक्ति उत्पादनमा जोड दिएको भए सस्तोमा श्रम बेच्न लाखौं युवाहरु खाडिको ५० डिग्रीको घाममा जानुपर्दैनथ्यो होला । भावी पुस्तालाई पनि सस्तोमा श्रम बेच्न विदेश जान नपर्ने योग्य नागरिक तयार गर्न सोही अनुसारको शिक्षा र सँस्कारको ब्यवस्था गर्न राज्यले बेलैमा सोचोस् ।***

तपाईको प्रतिक्रिया