Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टेक्नोलोजीमा बिश्वकै उत्कृष्ट मानिएको देश जापानमा, रोजगारी र पढाईका लागि आउने नेपालीहरुको बिगत केही बर्षदेखि उल्लेख्य रुपमा बढ्दो छ । केही बर्ष पहिलासम्म रोजगारीको लागि जापान आउने नेपालीहरु बढि थिए तर जापान सरकारले कुक तथा प्रशिक्षार्थी भिषामा कडाई गरे सँगै आजकाल विद्यार्थी भिषा तथा डिपेन्डेन्ट भिषामा आउनेहरुको लर्को नै छ ।
जापानमा नेपालीहरुको आगमन बढे सँगै आपराधिक क्रियाकलापमा नेपालीहरुको संलग्नता पनि बढ्दै गएको सुनिदै र देखिदै आएको छ । जसले गर्दा अहिले सम्म अन्य देशको तुलनामा मिहिनेती र मिलनसार भनेर चिनिने नेपालीहरुप्रति, जापानीहरुको बुझाई बिस्तारै फेरिदै गएको अनुभव हुन थालेको छ ।

जापानी मिडियाहरुले बिदेशीहरुको आपराधिक गतिविधीलाई बढिनै महत्वकासाथ प्रचार गरिदिन्छन । जसले गर्दा त्यस्ता सन्देश यहाँका जनतासम्म सहजै रुपमा पुग्ने गर्दछ । त्यसै त बिदेशीहरुप्रति पहिलेदेखि नै बढि सजग हुने जापानीहरु, यस्ता गतिबिधिले अरु भयभित देखिन्छन । जापानीहरु कुनै पनि नकारात्मक कुराहरु सिधै औंल्याउने गर्दैनन, घुमाउरो पाराले उनिहरुको धारणा ब्यक्त गर्ने गर्छन उनिहरुको घुमाउरो सुझावलाई बुझ्न सकियो भने आफुलाई सुधार गर्न सजिलो हुन्छ ।

जापानीहरु असल संस्कारको लागि बिश्वमै परिचित छन । खासगरी फोहोर ब्यवस्थापन, मिहिनेती, मिलनसार, लगनशिलता लगायत धेरै कुराहरुमा उनिहरु संसारकै अव्वल मानिन्छन । दोश्रो बिश्वयुद्धताका बिश्वमै बदनाम कमाएका यहाँका शासक तथा सैनिकहरु, युद्ध पराजय संगै आफ्नो संस्कारमा आमुल परिवर्तन गरी सैन्य गतिविधी त्यागेर संस्कारयुक्त हुंदै आए फलस्वरुप अहिलेको अति बिकसित युगमा पुगेको कुरा कमसेकम जापान प्रवेश गर्ने हामीमा अवगत हुनुपर्ने हो । आफु, आफ्नो समाज र संसार बदल्न लडाई झगडा होईन ईमान्दार र लगनशिलता हुनुपर्छ भन्ने मान्यता रहेको देशमा आएर हामीहरु के गर्दै छौं भन्ने कुरामा हामी सबै जानकार हुनु आवश्यक छ जस्तो लाग्छ ।
जापान प्रबेश गर्दै गर्दा यहाँको संस्कारमा घुलमिल हुन नसकेर केही असहज महशुस भए पनि बिस्तारै यहाँको बातावरणसंग समायोजन हुन सक्नुपर्दछ ।
अरुको देशमा बस्दै गर्दा त्यही देशको संस्कारमा रहनुपर्नेमा हामी हाम्रै देशमा रहंदा भुक्तभोगी भईआएको खराव आचरण देखाउनु भनेको पक्कै पनि राम्रो होईन । अहिलेसम्म अन्य देशको तुलनामा नेपालीहरुलाई कुनै पनि काम सहज रुपमा मिल्दै आईरहेको छ त्यसको कारण केही अपवाद बाहेक नेपालीहरुको लगनशिलता र ईमान्दार नै हो । तर त्यो ईमेजलाई गिरावट आउन नदिन सानासाना कुराहरुमा ध्यान दिन आवश्यक छ ।

गत बर्षको अन्तिम सम्मको डाटा हेर्दा जापानमा नेपालीको संख्या ८५ हजार जति पुगेको छ । पढाई र रोजगारको प्रशस्त सम्भावना भएर नै होला राजधानी टोकियोमा नेपालीहरु संख्यात्मक रुपले अन्यत्र भन्दा बढि स्वभाविक नै हो । तर टोकियो क्षेत्रमा नेपालीहरुको वसोवास बढ्दै गर्दा सानातिना देखि ठूला-ठूला आपराधिक क्रियाकलाप पनि बढ्दै गईरहेका छन । सानो होस वा ठूलो अपराध अपराध नै हुन्छ । १,२ जनाले गरेको अपराध मिडियामा आउनासाथ अन्य जापानीबाट नेपालीहरुप्रति गरिने ब्यवहारमा पनि परिवर्तन हुने हुनाले हामी सबैले ख्याल गर्नुपर्ने देखिन्छ ।
जापानमा आपराधिक कार्यमा समातिने घटनाहरु अधिकांश मादक पदार्थ सेवनका कारणले हुने गरेका छन । सेवन नगरेको वेलामा अति नै मिजासिला देखिने हामीहरु मापसेपछि उग्र हुनुपर्ने कारण के होला भनेर यहाँका बासिन्दाहरु पनि अचम्मित बन्ने गरेका छन । अधिकांश जापानीहरु मापसे गर्छन तर उनिहरु अति नै सौहार्द्रतापूर्वक खाने पिउने गर्दछन । अन्य समयमा त्यति बोल्न नरुचाउने उनिहरु पिएको बेलामा खुव रमाईलो गर्छन । एक आपसका मनका कुराहरु साटासाट गर्छन । वान्ता हुनेगरी पिउंछन तर कहिल्लै पनि अरुलाई बाधा पुरयाउने काम गर्दैनन । त्यो सबै हामी दैनिक जस्तो देख्ने गर्छौ, अनि त्यस वारेमा कुरा पनि गर्छौ कि उनिहरु कति मिजासिला होलान ? तर जव हामी सँगै पिउंन जान्छौं तव आत्मियताका सबै तत्व बिर्सिएर एक आपसमा बाझ्न र लड्न थाल्छौं । हातमा जे छ त्यसैले टाउकोमा बर्साउन थाल्छौं । अझ त्यतिले नपुगेर वसिरहेको कुर्सी नै उचालेर झटारो हान्छौं । हामी त्यतिवेला खुव महान सम्झन्छौ । हाम्रो चेत तव खुल्छ जव यहाँको पुलिसले सबै आपराधिक रिपोर्ट तयार गरेर जेल अथवा नेपाल फर्काउने फाईल तयार गर्छ । असीमित योजनाहरु वुनेर जापान छिरेका हामीहरुको सपना त्यति वेलासम्म धेरै ढिलो भईसकेको हुन्छ ।

घटनाहरु त्यतिमा मात्र सीमित हुदैनन । २,४ पैसा कमाईयोस वा नकमाईयोस जापान छिरेपछि केही व्यक्तिलाई यहाँको राजनीतिक दल अथवा अन्य संघसंस्थाको पद नभई हुदैन । जसको लागि एक अर्काको खुट्टा तान्ने प्रवृतिको ह्वात्तै बिकास भएको छ । एकातिर पद मिलेन अर्को संस्था खोल्ने, त्यहाँ पनि पुगेन अर्को तिर लाग्ने, आज एउटा दलको खुट्टा समाएर हिडेकाहरु भोलि अर्को दलको पद हत्याउन पुगेका हुन्छौं । त्यसका लागि साथीहरुलाई जुन हद सम्म पुगेर भए पनि घोच्याउने, अपशब्द बोल्ने आदि गर्ने गर्दछौं । त्यतिले मात्र नपुगेर केही अराजक प्रवृति भएका झुण्डहरुको एउटा संस्था वनाएर त्यसैको आडमा अरुलाई धम्क्याउने कार्य पनि बढ्दो छ ।
केही समय पहिला शिन-ओकुवोको एउटा प्रचलित रेष्टुरेन्टमा भएको घटना, उगुईसुदानी क्षेत्रमा जवर्जस्ती महिलालाई समातिएको घटना, खावासाकी क्षेत्रमा ट्याक्सी चालक माथि गरिएको दूर्व्यबहार र घटना केही पहिलेको भए पनि हालसालै बजारमा देखिएको कामाता क्षेत्रको घटनाले जापानवासी नेपालीहरुहरुलाई लज्जास्पद बनाएका छन । अझ कतिपय घटना त बाहिर प्रचारमा नआई भित्रभित्रै सामसुम पारिएका पनि छन । अराजक गतिबिधीलाई भित्रभित्रै नजरानाको लेनदेनमा सामसुम पारिने कामले त्यस्ता गतिविधीलाई निरुत्साहित गर्दैन बरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा झन प्रोत्साहित गरेको हुन्छ ।समाजका जिम्मेवार अगुवाहरु यस मामिलामा चनाखो हुनैपर्दछ ।

हामीहरु केही सपना बोकेर यहाँ आएका हौं । यहाँ रहुन्जेल यहाँको नीति नियममा रही यहाँकै संस्कार अनुसार चल्न सिक्नुपर्दछ । न कि हाम्रा कुसंस्कारहरु यहाँका बासिन्दालाई सिकाउने । एउटा सानो गल्तीले पछि जति पछुताए पनि फर्कन नसक्ने स्थितिमा पुरयाउन सक्छ । लगातारको कामको थकावटवाट मुक्त हुन पिउने काम ठिक होला तर रमाईलोका लागि मात्र पिउने बानी गरौं । जापानीहरु कसरी रमाईलो गर्छन सके उनिहरुसंग प्रत्यक्ष संगत गरेर सिकौं नभए देखेर भए पनि सिकौं । बिदेशमा रहदै गर्दा सामाजिक हुनु स्वभाविक पनि हो तर कुन उद्देश्यका लागि खोलिएको संस्था बुझेर मात्र लागौं । कुनै व्यक्तिसंग सहयात्रा गर्न नसकिने अवस्था छ भने त्यस्ता व्यक्तिको संगत नै नगरौं ।
कसैलाई गिराउने उद्देश्यले कुकार्य नगरौं । अन्जानमा कसैको आँचमा आघात पुरयाउने कार्य गरेमा क्षमा माग्ने बानी गरौं । जुन कामका लागि जापान आएको त्यसैमा लगनशील भएर लागौं । त्यति गर्न सक्यौं भने हाम्रा सपनाहरु पुरा हुन सक्छन ।
सकिन्छ हाम्रा देशका संस्कृतिहरु जापानीहरुलाई परिचित गराउने गरौं, सकिदैन उनिहरुलाई आघात पुग्ने गर्ने गरी कुनै कार्य नगरौं । जापानीहरुलाई खुशी बनाउने काम गरौं, आफु पनि खुशी अनि सुखी भएर बाचौं ।नत्र ‘चोक्टा खान आएकी बूढी झोलमा डुवेर मरी’ भने जस्तो होला ।***

(लेखक घिमिरे जापानमा आइटी क्षेत्रसंग सम्बन्धित युवा ब्यवसायी हुन्)

तपाईको प्रतिक्रिया