Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजनै जितिसकेको नेपालमा एक दिवसीय सिरिज खेलाउने मैदान छैन । एक दिवसीय मान्यता पाएको करीब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज खेल्यो, पहिलो सिरिज बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो ।

टि-२० मा समेत पहिलो सिरिज जितेको छ । तर, नेपालमै भने सिरिज आयोजना गर्ने अवस्था अहिले छैन । भएको एउटै मैदान कीर्तिपुरस्थित त्रिवि मैदान वर्षौंदेखि मर्मत हुनसकेको छैन । वर्षौंदेखि कीर्तिपुरस्थित त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन अब कहिलेसम्म कीर्तिपुरको मात्रै भर पर्ने हो ? यसको उत्तर नेपाली क्रिकेटका जिम्मेवार पदाधिकारीसँग छैन ।

हरेक चार वर्षमा मैदानको पिचको मर्मत गर्नुपर्ने बेलामा कीर्तिपुर मैदानको पिच आठ वर्षसम्म पनि चलाइएको छैन । जसका कारण यसको गुणस्तर खस्सिएको छ । नेपालमा एक दिवसीय सिरिज खेलाउन सकिन्छ कि सकिँदैन भनेर भर्खरै अध्ययन भने शुरु भएको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा सिरिजको आयोजना गर्न चासो दिइरहेको छ । तर, क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा रहेको छ भने एकमात्र अन्तर्राष्ट्रिय भनिएको कीर्तिपुर मैदान पुनःनिर्माण गर्नुपर्ने अवस्थाले नेपालमै तत्काल सिरिज आयोजना गर्ने अवस्था छैन ।

नेपालका मैदान एक दिवसीय सिरिज खेलाउन योग्य छ कि छैन भनेर जाँच गर्न अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि एण्डी अड्किङ्स नेपालमा छन् । उनले मङ्गलबार कीर्तिपुर मैदानका साथै आज निर्माणाधीन अवस्थामा रहेको मूलपानी मैदानको पनि निरीक्षण गरेका छन् । उनले मैदानको अवस्थाका बारेमा आइसिसीमा प्रतिवेदन बुझाउनेछन् । आइसिसीले उनकै प्रतिवेदनका आधारमा नेपाली मैदान सिरिज खेल्न योग्य छ कि छैन भन्ने कुराको टुङ्गो लगाउनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भन्नुभयो, ‘एण्डीले रिपोर्ट बुझाएपछि आइसिसीले त्रिवि मैदानलाई एक दिवसीययोग्य बनाउनका लागि गर्नुपर्ने कामबारे सुझाव दिनेछ, त्यहीअनुसार सुधार गर्नसक्ने नेपालले एक दिवसीय सिरिज आयोजना गर्ने बाटो खुल्नेछ ।’ उहाँका अनुसार त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले चासो देखाएको छ । त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनुपर्नेछ । भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नुछ । क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकूद परिषद्ले बजेट छुट्याएर काम गरे मात्र मैदानले एक दिवसीय मान्यता पाउनेछ ।

हालै युएइमा सम्पन्न सिरिजमा नेपाली खेलाडीले नायकत्व प्रदर्शन गरिसकेका छन् । केही युवा खेलाडीले सोचेभन्दा माथिल्लो स्तरको प्रदर्शन गर्दै नेपाली क्रिकेटको उज्यालो भविष्यको सङ्केतसमेत गरिसकेका छन् तर स्तरीय पूर्वाधार नहुँदा र क्यान लिम्वनको फकुवाका लागि उचित पहल नहुँदा नेपाली खेलाडीले देखाएको उज्यालो भविष्यको सङ्केत कतै अध्याँरोतर्फ जाने त होइन भन्ने आशङ्क उत्पन्न हुन थालेको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले कीर्तिपुरको मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आइसिसीले भनेअनुसार विधान संशोधन भइसकेको छ, क्यानका निर्वाचित पदाधिकारीले अदालतमा दायर गरेको मुद्दा फिर्ताको प्रक्रिया पनि शुरु भइसकेको छ । चाँडै क्यान निलम्बन फिर्ता हुन्छ ।’ खेल्ने उचित वातावरण तथा पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्याउन सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।  उहाँले मूलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरीने दाबी गर्दै आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।

क्रिकेट प्रशिक्षक राजु बस्नेतले नेपाली खेलाडीले नेपाली क्रिकेटलाई उचाइमा पुर्याएको बताउँदै पूर्वाधार नबन्नु दुःखद् विषय हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालभन्दा कम बरियता भएको मुलुकमा नेपालको भन्दा धेरैनै पूर्वाधारको विकास भएको छ, हाम्रो अवस्था लाजमर्दो नै छ ।’ एक दिवसीय मान्यता प्राप्त गरेको एक वर्ष पूरा हुनै लाग्दा नेपालले अहिलेसम्म दुईवटा मात्र सिरिज खेलेको छ । गत चैतमा एक दिवसीय मान्यता पाएको नेपालले नेदरल्याण्डस् र युएइविरुद्ध उनीहरुकै भूमिमा सिरिज खेलेको थियो ।

नेपाली क्रिकेटका लागि थप सफलताका सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि टिकाइ राख्न पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आइसिसीको निलम्बन फुकुवा अत्यावश्यक छ । दश वर्षअघि डिभिजन-५ मा रहेको नेपालले प्रतिकूल घरेलु वातावरणका बाबजुत एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

तपाईको प्रतिक्रिया