काठमाडौं – बारामा जारी १० औं संस्करणको सिमरा गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनल चरणका खेलहरु आज सुरु हुदैछन् ।
पहिलो सेमिफाइनलमा आज आयोजक नव जनजागृती युवा क्लब र विभागीय त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाइनल भिडन्त जितपुरस्थित स्थानीय रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।
आयोजकले मकवानपुर–११ लाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो भने आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
आजको बिजेताले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली थ्रीस्टार र हिमालयन शेर्पा क्लब आमने सामने हुनेछन् ।
१० टोली सहभागी प्रतियोगीताको उपाधि जित्ने टोलीले ६ तथा उपबिजेताले ३ लाख रुपैया हात पार्नेछन् ।