जापानमा हरेक सप्ताहान्त अर्थात शनिवार र आईतवार नेपालीहरुका विभिन्न कार्यक्रम भईरहन्छन् । सभा, भेला, अन्तरक्रिया, गोष्ठि, सेमिनार, अधिवेशन लगायत विभिन्न पर्वहरुमा सार्बजनिकरुपमा औपचारिक कार्यक्रमहरु यहाँ हरेक साता हुने गर्दछन् । विशेषगरी संघसंस्थाहरुले यस्ता कार्यक्रमहरु मार्फत आफ्ना गतिविधि अगाडि बढाईरहेका हुन्छन् । करीव सयौंको संख्यामा रहेका नेपाली संघसंस्थाहरु प्रायः राजधानी टोकियो केन्द्रित छन् ।
कुनै पनि कार्यक्रमको आयोजकले निमन्त्रणाका लागि पत्राचार गर्नेदेखि कार्यक्रम सम्पन्न गर्ने दिनसम्म आईपुग्दा धेरै गृहकार्य र तयारी गर्नुपर्ने हुन्छ । कार्यक्रमको उद्देश्य, प्रकृति र औचित्यअनुसार प्रमुख अतिथिको चयनदेखि वक्ताहरुको चयन गर्ने बेलासम्म धेरै विचार पुर्याउनुपर्ने हुन्छ । त्यसपछि कार्यक्रमको प्रकृतिअनुसार उदघोषकको चयन अर्को महत्वपूर्ण पाटो हो । कार्यक्रमको विषयवस्तु बारे उदघोषक जानकार हुन आवश्यक छ । आमन्त्रित अतिथिहरुलाई अपमानित भएको महशुस हुन नदिने गरी उदघोषक सचेत रहन सक्नुपर्दछ । मर्यादाक्रम अनुसारको सम्बोधन र बिषयवस्तुमा मात्र वक्ताहरुलाई केन्द्रित रहन उदघोषकले चलाखीपूर्ण भूमिका निर्बाह गर्न सक्नुपर्दछ । निर्धारित समयमा सुरु नहुनुले नेपालीको कार्यक्रमप्रति धेरैमा नकारात्मक प्रभाव परेको देखिन्छ । समयमा सुरु नहुँदा निर्धारित समयमा सकिने कुरै भएन । यसो हुँदा चाहेर पनि कतिपय कार्यक्रममा सहभागिता जनाउन सकिदैंन । एकैदिनमा धेरै कार्यक्रम जुध्नु, कार्यक्रम समयमा सुरु नहुनु, लम्बेतानको आसन ग्रहण, खादापाता, ब्याच वितरण र पट्यांईलाग्दा भाषणभिषण जस्ता कारण कार्यक्रमहरुप्रति सर्बसाधारणको आकर्षण दिनप्रतिदिन घट्दो छ । अर्कोतिर सँधै एउटै अनुहारका वक्ताहरुको लामो सूची, बिषयवस्तु एकातिर सँधै पुरानै गन्थन दोहोर्याईएका मन्तब्य, दर्शकदीर्घामा भन्दा मञ्चमा आसिन अतिथिहरुको बाहुल्यता आदि नेपाली कार्यक्रमहरुमा देखिने परिदृश्य हुन् ।
यी सबै तथ्यहरुलाई विश्लेषण गर्दा पछिल्ला समयमा नेपाली कार्यक्रमको गुणस्तर खस्कदों क्रममा रहेको भन्न सकिन्छ । त्यसकारण नेपाली समुदायमा हुने कार्यक्रमहरुको शैलीमा नयाँ प्रयोग र ब्यापक सुधारको खाँचो देखिन्छ । बिषयवस्तुको चयन एवं कार्यक्रमको नामाकरण, स्लोगन, आकर्षक ब्यानर, उदघोषक चयन, वक्ता चयन, समयको पालना जस्ता बिषयमा राम्रोसंग ध्यान पुर्याउन सक्ने हो भने कार्यक्रम स्वतः प्रभावकारी हुनेमा शंका रहँदैन । यसका लागि ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पूर्व तैयारी नै हो । आयोजित कार्यक्रम सम्पन्न गर्नका लागि क्षमता र अनुभव अनुसारको कार्यविभाजन, भूमिका बारे स्पष्टता, वक्तालाई पूर्व जानकारी गराई बोल्ने बिषयबारे अध्ययन गरी आउन आग्रह गर्ने हो भने कम समयमा प्रभावकारी खुराक आउन सक्नेमा संदेह रहँदैन । जसले गर्दा कार्यक्रमको गरिमा स्वतः बढ्न सक्छ । हामीकहाँ ब्यक्तिलाई खुशी पार्नका लागि पनि धेरैलाई बोल्न दिने प्रचलन छ । बिना तैयारीका धेरै वक्ता भन्दा तयारी साथ आएका अनुभवी एवं प्रभावशाली थोरै वक्ताबाट कम समयमा धेरै ज्ञानबर्द्धक र सूचनामुलक बिषयहरु आउन सक्छन् ।
अकोतर्फ हरेक कार्यक्रममा राजदूतलाई प्रमुख अतिथिकारुपमा निमन्त्रणा गर्ने विद्यमान प्रचलनमा पनि परिवर्तन गर्न जरुरी छ । कार्यक्रमको महत्व र औचित्य हेरी खास खास र सीमित कार्यक्रममा मात्र राजदूतको सहभागिताको अपेक्षा गरिनु सान्दर्भिक हुन्छ । जापान जस्तो नेपालका लागि अति महत्वपूर्ण देशका लागि खटिएका राजदूतले हरेक हप्ता हुने नेपालीहरुका सानातिना कार्यक्रममा समय दिएर संभव हुँदैन र अर्थ पनि छैन । बरु जापानमा नेपालको चिनारी बढाउने, देशमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने, यहाँ रहेका नेपालीहरुका लागि सेवा सुविधा बढाउने, दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने जस्ता महत्वपूर्ण कार्यक्रमहरुमा यहाँको नेपाली समुदायले दूतावासलाई सहयोग र सहकार्य गर्न सक्नुपर्दछ ।
जापानमा क्रियाशील संघसंस्थाहरु बीच हुने कार्यक्रमहरुलाई समयानुकुल प्रभावकारी र उपलब्धिमुलक बनाउन समय समयमा पारस्परिक बहस, छलफल र अनुभव आदान प्रदान गरिनु जरुरी छ । त्यतातिर कसैको ध्यान जान सकेको देखिदैंन । विद्यमान कर्मकाण्डी शैलीको हाम्रा कार्यक्रममा क्रमिक सुधार गर्दै नयाँपनसहित क्रमभंग हुनुपर्ने समयको माग छ । जापानी समुदायद्वारा आयोजना गरिने कार्यक्रमबाट पनि धेरै सिक्न सकिन्छ । भद्दा शैलीमा गरिने आसन ग्रहण, खादार्पण र आवश्यकता भन्दा बढि भाषणबाजी कटौती गरी समयको मात्र पालना गर्ने हो भने हाम्रा कार्यक्रमहरु स्वतः स्मार्ट बन्न सक्छन् । जापानको महंगो समयलाई कसैले पनि अरुचीको बिषयमा खर्च गर्न चाहदैनन् । त्यसैले यसतर्फ पनि समाजका जिम्मेवार अगुवाहरुले बेलैमा ध्यान दिने हो कि ?