काठमाडाैं – थाइल्याण्ड टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि विमुख बनेको नेपाल दोस्रो स्थानमा रह्यो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको तथा दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।
अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।
मानसिक रूपमा फिट नहुँदा उपाधि गुम्यो
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रूविना क्षेत्रीले मानसिक रूपमा तयार नहुँदा फाइनल गुमाएको बताउनुभएको छ । विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
यो प्रतियोगिताबाट खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको उहाँको प्रतिक्रिया छ । ‘अहिलेसम्म नेपालले खेलेको प्रतियोगितामा सबै भन्दा राम्रो प्रर्दशन गर्यौ,’ उहाँले भन्नुभयो, ‘यो प्रतियोगिताबाट खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको छ ।’
खेलाडीबीचको आपसी समझदारीले थाईल्याण्डमा राम्रो प्रर्दशन गर्न सकेको दाबी गर्दै कप्तान क्षेत्रीले सम्पुर्ण खेलाडीमा जितको भोक देखिएको उल्लेख गर्नुभयो । फाईनल खेलमा केही नर्भस हुँदा ठूलो अन्तरको हार ब्यर्होन परेको बताउँदै उहाँले टोलीले सक्दो मेहेनत गरेको उल्लेख गर्नुभयो । टिमका प्रशिक्षक विनोद दाशले आफूहरूको केही लक्ष्य पुरा भए पनि उपाधि जित्न नसकेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ०६, २०७५
प्रकाशित समय: २०:२७:०८