नयाँ भिसा नीति अनुसार थप विदेशी कामदार जापान भित्र्याउने बिषयमा विभिन्न क्षेत्रबाट चासो ब्यक्त भएका छन् । यस सम्बन्धमा नेपालका मात्रै नभएर जापानका ठूला मिडियाहरुले पनि अत्यन्तै चासो लिएको पाईन्छ । जापानले स्पष्ट अध्यागमन नीति बनाएर आवश्यक पर्ने विदेशी कामदार भित्र्याउने अन्तिम गृहकार्यमा जुटिरहेको अवस्था छ । जसअनुसार विभिन्न मुलुकसंग तत्सम्बन्धि गृहकार्य भईरहेको र नेपालसंग पनि यो बिषयमा ठोस प्रक्रिया अगाडि बढाउन जापानको सरकारी टोली छिट्टै नेपाल जान लागेको बुझिएको छ ।
हालसम्मको अनुभवबाट सिक्दै झन्झटिला प्रक्रियालाई थप ब्यवस्थित र मर्यादित बनाउन दूवै मुलुकका अधिकारीहरु सजग देखिन्छन् । तथापि जापानमा अन्य विदेशी लगायत नेपालीका लागि नयाँ प्रकृतिको रोजगारी खुलेको सम्बन्धि बिषयलाई लिएर विभिन्न नेपाली मिडियामा आवश्यक कामदार संख्या, तलव, सुविधा नै किटान गरी आईरहेका समाचारले नेपाली जनमानसमा भ्रम सिर्जना गरेको देखिन्छ । रोजगारदाता मुलुक जापानले आधिकारिकरुपमा कुन मुलुकबाट कति संख्यामा कामदार आह्वान गर्ने, सेवा सुविधा के, कति हुने भन्ने केही स्पष्ट जानकारी नआईसकेको परिप्रेक्ष्यमा अनुमान र होचुवाको भरमा एकले अर्को मिडियाको हवाला दिदैं विभिन्न नेपाली सञ्चारमाध्यमले संख्या नै किटान गरी समाचार संप्रेषण गरिनुले सर्बसाधारणमा भ्रम पैदा गर्ने काम भएको छ भने अनाधिकारिक रुपमा चलखेल गर्नेहरुका लागि मलजल पुगेको जानकारहरु बताउँछन् ।
हालसम्मका अभ्यास र अनुभवका आधारमा जी-टु-जी मोडलमा कामदार आह्वान गर्ने बिषयले बहसमा प्रवेश पाएको बुझिए पनि जापानको तर्फबाट सरकार नै यसमा संलग्न हुन सक्ने संभावना कम देखिन्छ । जापानको हकमा मातहतको कुनै निकाय वा संयन्त्रमार्फत विदेशी कामदार भित्र्याउने प्रावधान हुन सक्ने संभावना प्रवल देखिन्छ । नेपालको तर्फबाट मेनपावर कम्पनी मार्फत विगतमा भएगरेका कामकार्बाहीलाई आधार मान्दा अबको सन्दर्भमा फरक मोडालिटी भए राम्रो हुने हो कि भन्ने आशय जापान पक्षको देखिन्छ । यस अर्थमा जापानमा नेपालीका लागि रोजगारीको अवसर खुलेको भए पनि यसलाई टुंगोमा पुर्याउन र दूवै पक्षबीच बिश्वस्त हुने आधार र अन्तिम मापदण्ड भने अझै तयार भईसकेको छैन । उसो त जापान पक्ष पनि तत्सम्बन्धि आवश्यक सबै नीति नियम र निर्देशिका निर्माणकै चरणमा रहेको बुझिएको छ ।
यसप्रकारको परिस्थितिमा नेपालको बजारमा भ्रमपूर्ण समाचारहरु संप्रेषण हुनुले जापानको नेपालप्रतिको बिश्वासमा आँच आउन सक्ने भएकोले नेपाली मिडिया जगत संयमित र जिम्मेवार हुनु जरुरी छ । जापानको श्रमबजारमा नेपालले पाएको अवसरलाई सहि ढंगले उपयोग गर्न नेपाल र नेपालीहरु पनि सोही अनुरुप प्रस्तुत हुनु जरुरी छ ।
देशका ऊर्जाशील युवालाई विदेश पठाउने नीति दीर्घकालिनरुपमा उपयुक्त नभए पनि तत्कालका लागि बेरोजगारी समस्या झेलिरहेको र देशभित्रै तुरुन्तै ठूलो संख्यामा रोजगारीको संभावना पनि नदेखिएको सन्दर्भमा जापान नेपालीका लागि नयाँ र आकर्षक गन्तब्य बन्न सक्नेमा भने कुनै शंका छैन । यसका लागि नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने आवश्यक भूमिका र हुनसक्ने संभावित अनियमिततालाई रोक्न हदैसम्मको पारदर्शी नीति नियम र मापदण्ड मार्फत जापानलाई बिश्वासमा लिन आवश्यक छ । ***