Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को रुपमा मनाउने घोषणा गरेको छ । यो अभियानमा २० लाख बाहृय पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य सरकारको छ । यसैक्रममा सरकारले सातै प्रदेशका थप एकसय ठाउँलाई नयाँ पर्यटकिय गन्तव्यका रुपमा पहिचान समेत गरेको छ । यो अभियान सफल पार्न सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त गरिसकेको छ । यसै सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को सेरोफेरोमा केन्द्रित भई संयोजक वैद्यसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

‘भिजिट नेपाल २०२०’ को अभियानलाई कसरी अगाडि बढाई राख्नुभएको छ ?
हरेक कार्यक्रमले समय र परिवेश अनुसार ‘स्पेस’ लिएको हुन्छ । हामी पनि सोही अनुसार अघि बढ्ने हो, आईपर्ने समस्यालाई चिर्दै जाने हो । यसको उद्देश्यलाई मैले अलिक फरक ढंगबाट पनि हेरेको छु । हामीले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने लक्ष्यमा जोड दिएका छौं । यो त एउटा अभियान हो, जसमा व्यवस्थापनको विषय जोडिन्छ, जुन सजिलो छ । मेरो लक्ष्यचाहिँ नेपालको सन्दर्भमा अहिले लगानी भित्र्याउन आवश्यक छ । नयाँ गन्तव्यको विकास गर्न आवश्यक छ । बेरोजगार युवालाई रोजगारी दिलाउनुछ । यो नै महत्वपूर्ण विषय हो । पर्यटन भनेको यस्तो क्षेत्र हो, जसले यी तीनै क्षेत्रलाई एकैसाथ अघि बढाउन सक्छ । यसै लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौं ।

सरकारको महत्वाकांक्षी कार्यक्रम पनि हो यो, यसलाई सफल पार्न तपाईको ‘रोडम्याप’ कस्तो छ ?
सबैभन्दा पहिले त लगानी भित्र्याउनु छ, अहिले आइरहेको लगानी अत्यन्त न्यून छ । अहिले नेपाल एउटा सस्तो गन्तव्यको रुपमा बिक्री भइरहेको छ । हामीले नेपालको ‘भ्यालु’ नबुझेको हो कि भन्ने आभास भएको छ । संसारकै सर्वोच्च शिखर नेपालमा छ । बुद्धको जन्मथलो, सीताको भूमिजस्ता महत्वपूर्ण स्थान हुँदाहुँदै पनि हामीले यस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य बिक्री गर्न सकेका छैनौं । यिनै पर्यटकिय क्षेत्रको अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न सके मात्र पनि हामीलाई २० लाख पर्यटक भित्र्याउन गाह्रो पर्दैन । भिजिट नेपाल २०२० अभियान व्यवसायीका लागि मात्र होइन, यसले जनतालाई प्रत्यक्ष रुपमा जोड्न सक्नुपर्छ । सम्रगमा जनताले फाइदा लिन सक्ने र नेपाललाई विश्वमै एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनेतर्फ यो अभियान केन्द्रित हुनेछ । म यही उद्देश्यका साथ अघि बढ्छु ।

नेपालमा एक पटक घुम्न आएका पर्यटक फेरि दोहोरिदैनन् भन्ने पनि सुनिन्छ, यस्तो अवस्थामा फेरि आउने वातावरण बनाउन के गर्नुपर्ला ?
हो, विदेशमा घुमेर आएपछि फेरि जाउँ जाउँ लाग्ने अवस्था छ । तर, नेपालमा एक पटक घुम्न आएका पर्यटक फेरि त्यहाँ जान नपरोस् भन्ने सोच्दै बाहिरिएका छन् । त्यसकारण पर्यटन विकासमा ब्रान्डिङ सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसका लागि पर्यटन क्षेत्रमा लामो सयमदेखि काम गरिरहनुभएका पर्यटन व्यवसायीहरूसँग छलफल गर्दैछु । अर्को कुरा, नेपाललाई माया गर्ने पर्यटक मार्फत नेपालको प्रचार गर्न सकेको खण्डमा यो अभियानलाई सफल रुपमा अगाडि बढाउन सकिन्छ । यसका लागि सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकले नेपाल त यस्तो एउटा मुलुक हो, जहाँ संसारमै नभएको उत्कृष्ट वस्तु पाईन्छ भनेर प्रचार गरिदिनुस् भन्ने अभियान चलाउन आवश्यक छ ।

पर्यटक आगमन या भनौं पर्यटन विकासका लागि पूर्वाधारको महत्व कत्तिको रहन्छ ?
पूर्वाधार विकास पनि पर्यटन विकासको महत्वपूर्ण हिस्सा नै हो । यो दुई वर्षको अवधिमा हामीले पूर्वाधार विकासमा बढी काम गर्न सक्ने अवस्था रहन्न । यसमा सरकार र निजी क्षेत्र मात्र होइन आम नेपाली नागरिक पनि यो अभियान हाम्रो हो भनेर लाग्नुपर्छ । म ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजक भएर आएको पनि केही महिना मात्रै भएको छ । मेरो सबैभन्दा ठूलो आशा लुम्बिनीको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ भन्ने छ । यसबाहेक पोखरा, लुम्बिनी र काठमाडौं विमानस्थलले नेपाल प्रवेशका लागि सहज बनाउँछ । सरकारले भर्खरै सातवटै प्रदेशमा नयाँ पर्यटन गन्तव्यको रुपमा एकसय ठाउँलाई पहिचान गरेको छ । ती क्षेत्रको पूर्वाधारको अवस्था के त्यो पनि बुझ्न आवश्यक हुन्छ ।

अहिले नेपालको अर्थतन्त्रमा पर्यटनको हिस्सा न्यून छ, भिजिट नेपाल अभियानले अर्थतन्त्रमा कसरी योगदान गर्न सक्छ ?
अर्थतन्त्रमा पर्यटनको योगदान कसरी बढाउने भन्ने विषय अति नै महत्वपूर्ण छ । यसका लागि सर्बप्रथम पर्यटकीय गन्तव्यका हिसाबले नेपाल नै उत्कृष्ट गन्तव्य हो भनेर विश्व समुदायमा चिनाउन आवश्यक हुन्छ । अहिले नेपाल आउने पर्यटकले दिनभरि घुमेर बेलुका सात बजेपछि के गर्ने भन्ने अवस्था छ, पोखरादेखि देशैभरि हामीसँग भएका गन्तव्यको अवस्था उस्तै छ । यसका लागि समय बिताउने ‘प्रोडक्ट’ दिनुपर्छ । त्यसका लागि ‘नाइट मार्केट’ खोल्दा पनि हुन्छ । त्यहाँ नेपाली पहिचान झल्किने हस्तकला, स्थानीय खानाका परिकार लगायत राखेर ब्रान्डिङ गर्न सक्छौं । आम्दानीका लागि लुम्बिनीको माटो, सिता जन्मेको ठाउँ जनकपुरमा लगानी गर्नु आवश्यक छ । हामीले पाँचतारे होटलको कुरा छोडेर किन गाउँ-गाउँमा जाने पर्यटकलाई बाटोमै खीर नबेच्ने ? यस्ता गतिविधिले जनताको आयस्तर पनि बढ्छ ।

पछिल्लो समय विदेशी पर्यटकमाथि भईरहेको अमानवीय कार्य र लुटलाई कसरी हेर्नुभएको छ ?
नेपाल आउने पर्यटकमाथि केही व्यक्ति तथा संस्थाले धेरै छिटो नाफा कमाउने उद्देश्यले दुःख दिने गरको छन् । आजको भोलि नै धनी हुने मानसिकता परिवर्तन गर्नुपर्छ । व्यवसायीमा एक वर्ष दुई वर्ष पाँच वा १० वर्षसम्म सेवा दिँदै नाफा आर्जन गर्ने सोचको विकास भएको अवस्थमा लुट तथा ठगीमा स्वतः नियन्त्रण हुन्छ । यसका लागि नै मैले नेपालीमा आचरण सुधार गर्न आवश्यक छ भन्दै आएको छु ।

संघीयता कार्यन्वयनसँग स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार पर्यटकसँग लिने शुल्क बढाएका छन् । यसले भिजिट नेपाल २०२० को अभियनामा केहि प्रभाव पार्ला ?
यस विषयमा सबै समन्वयकारी निकायसँग बसेर छलफल गर्नुपर्छ । यसका लागि हामीले दुवै पक्षलाई हेर्नुपर्छ । हामीले सबैभन्दा पहिले सर्भिसमा सुधार गर्दै डिमान्ड बढाउनुपर्छ । एउटा अमेरिकी पर्यटक नेपाल आउँदा एक रातका लागि उसले त्यहींको ट्राभल एजेन्सी तथा विभिन्न संस्थालाई दुई सय डलर तिरेको हुन्छ । तर, नेपालमा त्यो पर्यटकले एक दिनमा ५० डलर मात्र खर्च गर्ने अवस्थामा आईपुग्छ । यसलाई पनि एकिकृत गर्न जरुरी छ । जहाँसम्म स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको कुरा छ उनीहरुले अनावश्यक शुल्क लगाउदैनन् जस्तो मलाई लाग्छ ।

अहिलेको पर्यटक आगमनको अवस्था कस्तो छ ?
हामी उत्साहित छौं, यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । गत वर्षको तुलनामा पर्यटकको आगमन झण्डै १६ प्रतिशतले बढेको छ । अझ गएको अक्टुबर महिनामा यस वर्षै धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । छिमेकी भारत र चीनबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ ।

अन्त्यमा, नेपाल भ्रमणमा आउने विदशी पर्यटकलाई आन्तरिक हवाई यात्रामा नेपालीभन्दा बढी शुल्क लिने गरिएको छ । यसको विषयमा के सोच्नुभएको छ ?
जहाँसम्म हवाई शुल्कको कुरा छ । यो सरकारसँग भन्दा पनि हवाई कम्पनीहरुसँग सम्बन्धित छ । एयरलाइन्स कम्पनीहरुलाई पनि हवाई शुल्कको विषयमा त्यति धेरै सहजता भने छैन । यसका लागि सबैभन्दा पहिले एउटा निश्चित हवाई शुल्क तय हुन आवश्यक छ । यसमा सुरक्षादेखि सर्भिसको कुरा जोडिएको हुन्छ । यसका लागि उचित फेयर के हो भनि सरकारले उचित आधार तय गर्नुपर्ने आवश्यकता छ । तसर्थ यो अभियानले नेपाललाई विश्वसामु चिनाउँछ, नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग गर्छ र युवाले देशमै रोजगारी पाउन सक्छन् भन्ने अपेक्षा लिईएको छ । यही अनुसार अगाडि बढ्ने हो ।***

तपाईको प्रतिक्रिया