दुईतिहाई बहुमतको शक्तिशाली बाम सरकार एकपछि अर्को गर्दै आलोचित हुँदै आईरहेको छ । ठूला ठूला सपना देखाएर सत्तामा पुगेको वर्तमान सरकारप्रति नेपाली जनताका यति धेरै भरोसाका चाङ थिए तर ती सबै एक वर्ष नपुग्दै निराशामा परिणत हुन थालेका छन् । संघीय प्रणालीअनुसार देश नयाँ ब्यवस्थामा गएको सुरुवाती चरणमा सरकारले जनतामा उत्साहको सञ्चार गर्न नसक्नुलाई शुभ संकेत मान्न सकिदैंन ।
असाध्यै चर्चामा आएका सिण्डीकेट हटाउनेदेखि सुनकाण्ड हुँदै निर्मला बलात्कार पछिको हत्या प्रकरण, वाइड बडि खरिद प्रकरण र पछिल्लो समयमा आएर एशिया प्यासिफिक सम्मेलनसम्म आईपुग्दा ओली नेतृत्वको सरकार असाध्यै आलोचित बन्न पुगेको छ ।
पाँच वर्ष सम्मको म्याण्डेट पाएको बहुमतको वर्तमान सरकारलाई फटाफट काम गर्न कुनै अवरोध देखिदैन तथापि जुन गति र स्पिरिटमा काम गर्नुपर्ने हो त्यो अनुसारको पर्फमेन्स सरकारले देखाउन नसकेको सर्बत्र महशुस गर्न थालिएको छ । बिकास, निर्माणका कार्यहरु तिब्र गतिमा अगाडि बढाउने, समृद्धिको आधार सिर्जना गर्ने, मुलुकमा ब्याप्त भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्ने र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जस्ता कार्यहरु गरेर सरकारले पहिलो वर्ष भित्रै जनतामा उत्साह जगाउन सक्नुपर्थ्यो । त्यसको सट्टा एकपछि अर्को अलोकप्रिय कदम चालिनु, जनतामा भरोसा टुट्दै जानु वाम सरकारका लागि प्रत्युत्पादक साबित हुने लक्षण देखिन थालेको छ ।
राणाशासन, निर्दलीय पञ्चायती ब्यवस्था, राजाको प्रत्यक्ष शासन, बहुदलीय ब्यवस्था हुँदै संघीय गणतन्त्रमा आईपुग्दा पनि नेपाली जनताका आधारभूत जीवन पद्धतीमा तात्विक परिवर्तन आउन नसक्नुमा ब्यवस्थालाई मात्र दोष दिन मिल्दैन । यसो हुनुमा राजनीतिमा हालीमुहाली गर्ने र देश चलाउने जिम्मा पाएका नेताहरुको कमजोरी मान्न सकिन्छ । ३० वर्षको पञ्चायतको आयु जति समय गुजारीसकेको बहुदलीय ब्यवस्थालाई अझै पनि शिशु प्रजातन्त्र भनेर जनतालाई भुलभुलैयामा राख्न मिल्दैन । तामझाम, नारा, भाषण, उधारो आश्वासन र केवल सपना मात्र होईन, जनताले अब ताजा परिणाम खोजेका छन् । परिणाममुखी कार्यमा मात्र सरकार उन्मुख हुन सक्नुपर्दछ । राज्यको ढिकुटी खर्चेर विदेश भ्रमण, उदघाटन, शिलान्यास जस्ता कार्यमा सरकारका जिम्मेवार मन्त्रीहरुले समय दुरुपयोग गरिरहेका छन् । यहाँसम्म कि जिम्मेवार मन्त्रीले दसैको लिङ्गे पिङको उदघाटन गरेको समेत बिषय बाहिर आएका छन् । ब्यवस्था र प्रणाली मात्र परिवर्तन भएर हुँदैन, ब्यवस्थालाई डोर्याउने सारथीहरुको सोचमा पनि परिवर्तन नआएसम्म समृद्धिको माला जपेर मात्र मुलुकमा कदापि समृद्धि आउन सक्दैन ।
अर्कोतिर स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा पञ्चायतकालिन पुरानै ढङढङी अझै ब्याप्त देखिन्छ । कर्मचारीहरु तोकिएको समयमा कार्यालय पुग्दैनन्, उनीहरुको अनुगमन गर्ने प्रभावकारी सरकारी संयन्त्र छैन । जनताले तिरेको करबाट तलब खाने कर्मचारीहरु तिनै जनता सेवाग्राहीलाई अझै रैती ठानेर आफु ठालु पल्टिने सँस्कार कर्मचारीतन्त्रमा विद्यमान छ । कतिपय सरकारी कार्यालयहरुमा ज्यू-हजुरी र नजराना बिना काम हुँदैन । नाममा मात्र गणतन्त्र आएर के गर्नू, जनताले खासमा के पाए भन्ने अहिलेको अहम प्रश्न हो । नेताहरुको जीवनशैलीमा मात्र आएको परिवर्तनलाई गणतन्त्र मान्न सकिदैंन । वाम सरकारले ब्यवहारिकरुपमा आफुलाई खरोरुपमा उतार्न नसक्नु अहिलेको सबैभन्दा ठूलो कमजोरी हो ।
सत्तारुढ दलभित्रै सरकारको कार्यसम्पादनप्रति असन्तुष्टिका बादल मडारिन थालेका छन् । धुरीदेखि जगसम्म एकता नहुँदै सत्तारुढ पार्टी नेकपामा सत्ताको भान्साभित्र र भान्सा बाहिर पारिएका नेताहरुको स्वर फरक फरक सुनिन थालेका छन् । शान्ति, स्थिरता, सुशासन र समृद्धिका लागि भन्दै पार्टी एकता गरेको एक वर्ष नपुग्दै सत्तारुढ पार्टी भित्रैका जिम्मेवार नेताहरु प्रतिपक्ष जस्तै भूमिकामा प्रस्तुत हुने गरेका छन् । अझै बेला बितिसकेको छैन, आफुलाई शक्तिशाली ठान्ने बहुमतको वाम सरकारले घामछँदै आफुलाई सुधारेन भने ’जुन जोगी आए पनि कानै चिरेका’ भन्ने युत्ति चरितार्थ नहोला भन्न सकिन्न । परिणामस्वरुप गणतन्त्रप्रतिको जनतामा मोह भंग हुँदै जाने छ र यसैको फाईदा उठाएर प्रतिगमन शक्तिहरुले अवसर नपाउलान् भन्न सकिन्न ।***