Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

नेपाली समाजमा दशैं तिहार जस्ता ठूला चाडपर्वको निकै महत्व रहँदै आएको छ । धार्मिक, सामाजिक दृष्टिले मात्र नभई आर्थिक दृष्टिकोणले पनि यी पर्वहरु महत्वपर्ण छन् । चाडपर्वको बेला बजारमा कारोबार पनि बढ्ने भएकोले राष्ट्रिय अर्थतन्त्रनै प्रभावित हुने गरेको पाईन्छ । ठूला चाडपर्वमा आवश्यक पर्ने सामान्य सामानसमेत बिदेशबाट आयात गरिने भएकोले चाडपर्वकै बेला सबैभन्दा बढी रकम देश बाहिर जाने गरेको सर्बबिदितै छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अहिले नेपालीहरुको घरआँगनमा भित्रिईसकेको छ । मखमली, गोदावरी जस्ता फूल, टिका, मीठाई, भाइमसला, पटका, दियो, मैनबत्ती, घर सजाउन प्रयोग गरिने झिलीमिली इलेक्ट्रिक बत्ती, ढाकाटोपी तिहारको बेलामा अत्यधिक खपत हुने वस्तुहरु हुन् । यी मध्य धेरैजसो विदेशबाट आयात हुने गर्दछन् । आयातित वस्तुको उपभोग बढ्दा बजारको कारोबार बढे पनि ठूलो मात्रामा पूँजी विदेशिने गरेको पाईन्छ । आयातमै निर्भर रहनुपरेकाले चाडपर्वमा बढ्ने कारोबारले मुलुकको अर्थतन्त्रमा खासै योगदान दिन सकिरहेको छैन । उपभोग्य वस्तुको उत्पादन स्वदेशमै गर्न सके त्यसका लागि विदेशिने रकम जोगिने मात्र नभई नयाँ रोजगारीका क्षेत्रहरु सिर्जना हुन्छ । चाडपर्वका बेला अत्यधिक उपभोग हुने अधिकांश सामान आयातित हुनु र सँधै विदेशमै निर्भर रहनु चिन्ताको विषय हो । त्यसैले उपभोग्य सामाग्रीको आयात प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने नीति बनाउन ढिलो भईसकेको छ । हरेक वर्ष आउने बिशेष महत्वका यस्ता पर्वहरुले राज्यको ध्यानाकर्षा हुनुपर्दछ ।

पर्वका बेला स्वदेशमा मात्र नभई विदेशमा रहेको नेपाली समुदाय पनि प्रभावित हुने गर्दछ । संभव भएसम्मका उपाय अवलम्बन गरी स्वदेशमा जस्तै गरी चाडवाड मनाउन नेपालीहरु उद्यत देखिन्छन् । यस्ता चाडपर्वहरुले नेपालीहरुबीचको सामाजिक र साँस्कृतिक सद्भावलाई निरन्तर कायम राख्न मदत गरेको छ भने हाम्रा पूर्खादेखि चल्दै आएका मौलिक परम्परा र रीतिरिवाजको संबर्द्धनमा टेवा पुग्ने गरेको छ । उज्यालो र सकारात्मक सन्देश दिने तिहार पर्वले दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धको गहिराई र महत्वलाई पुन:र्ताजगी गर्नुका साथै पुरुष र महिलाबिचको पारस्परिक श्रद्धा र ससम्मान भावलाई पनि उजागर गरेको हुन्छ । विविधतायुक्त साँस्कृतिक संरचना भएको नेपाली समाजमा यस्ता पर्वहरु धार्मिक दृष्टिले भन्दा सामाजिक र साँस्कृतिक दृष्टिले बिकास हुँदै गईरहेको पाईन्छ । यसकारण पनि तिहार पर्वको रौनकताले हरेक जातजाति र सम्प्रदायबीचको एकतालाई थप मजबुत बनाउँदै गईरहेको छ । यो नै नेपाली समाजको गर्व गर्न लायकको मौलिक विशेषता हो ।

यति हुँदाहुँदै नेपाली समाजमा चाडपर्वका नाममा हुने अवाञ्छित गतिविधि, फजुल खर्च, अत्यधिक मदिरा सेवन, सवारी दूर्घटना, जुवातास, पटका र देउसी भैलोको नाममा अघोषित चन्दा असुली जस्ता विकृतिहरु पनि मौलाउन थालेका छन् । यसतर्फ हरेक सचेत नागरिक थप सजग र सचेत हुँदै आफू बसेको समाजमा आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न सके साँचो अर्थमा दीपावलीको शुभकामना र सही मानेमा सकारात्मक सन्देश मान्न सकिन्छ । अन्यथा औपचारिकतामा मात्र सीमित शुभकामना र चाडपर्वको भद्दा उल्लासले मात्र समाज परिवर्तनमा तात्विक अर्थ राख्दैन । देशविदेश जहाँ रहेको भए पनि मौलिकतालाई पछ्याउँदै मीतब्ययिताको सिद्धान्तमा आधारित भएर पर्व मनाउन सकौं, दीपावलीको सबैमा शुभकामना ।

तपाईको प्रतिक्रिया