एक रुपियाँ पनि गोजीमा नलिईकन जापानजस्तो महंगो मुलुकमा उच्चशिक्षा हासिल गर्न आएका डा. कुमार बस्नेत आज जापानको एक प्रतिष्ठित तोशिबा कम्पनीमा बिशेषज्ञकारुपमा कार्यरत छन् । यो कसरी संभव भयो, यसको आफ्नै लामो कथा छ, डा. बस्नेतको । करिव ३० वर्षको जापान बसाईलाई उनले केवल ब्यक्तिगत स्वार्थमा मात्र खर्चेका छैनन् । जापानको नेपाली सोसाइटीका लागि उनले गरेको योगदान बहुआयामिक र अणुकरणीय छन् । यसप्रकारको ब्यक्ति एक, भूमिका अनेकको अवसर विरलै नेपालीलाई प्राप्त हुन्छ, अझ प्रवासमा । नेपाली विद्यार्थीहरुको संगठन नेसाजको नेतृत्वदायी भूमिका हुँदै तत्कालिन असहज परिस्थितिमा पनि जापानमा पहिलो अनलाईन पत्रकारिताको सुरु गर्ने श्रेय पनि उनैलाई जान्छ । डायस्पोरामा नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि बिश्वब्यापी अभियान चलिरहेको बेलामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको संस्थापक अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष र अध्यक्ष हुने सौभाग्य पनि उनैलाई मिल्यो । यतिमात्र हैन एनआरएन अभियान बिश्वभरि बिस्तार गर्ने क्रममा जापानको संस्थापक महासचिव भएर एनआरएन जापानको जग बसाउने अभियान्ता मध्यका पनि एक हुन् उनी । त्यसपछि दुई कार्यकाल केन्द्रिय सदस्य र एक कार्यकाल केन्द्रिय प्रवक्ताकारुपमा जिम्मेवारी निभाईसकेका डा. बस्नेत अहिले भने करीव गुमनाम जस्तै छन् । जसका कारण पनि उनलाई आजको युवा पुस्ताले क्रमशः बिर्सदै जान थालेको छ । विभिन्न कालखण्डमा सही समयमा फरक फरक तर सही जिम्मेवारी लिएर समयको कुशल ब्यवस्थापन गरी आफ्नो अब्बल परिचय बनाउन सफल डा. बस्नेत लामो समयदेखि सबै खालका सामाजिक जिम्मेवारीबाट अलग छन् । आफ्नो जिम्मेवारीप्रति सँधै सजग र केही पनि नगरी निष्क्रिय बस्नै नसक्ने स्वभावका डा. बस्नेतको यो आफ्नै बाध्यता हो वा अरु कुनै कारण, यसका अलावा उनका विद्यार्थी जीवनका संघर्षका शृङ्खला अझ रोचक र प्रेरणादायी छन् । जापानमा उनको सफलताको कथाबाट मात्र होइन उनको संघर्षमय अनुभवबाट पनि आजको पुस्ताले धेरै सिक्न सक्नेछन् । यिनै बिषयहरुमा केन्द्रित रहेर गरिएको भलाकुसारीमा उनका नालीबेली यसप्रकार छन् ।
यसरी तान्यो सूर्योदयको देश जापानले
म स्कुलको विद्यार्थी छँदै एकजना जापानीसंग मेरो मित्रता थियो । उनी एकपटक नेपाल घुम्न गएका थिए । उनलाई मैले नेपाल घुमाईदिएको थिएँ । उनीसंगको मित्रता अझ मजबुत भएपछि उनी फर्कने बेला म जापानमा अध्ययन गर्न चाहान्छु, म आफै काम गरेर अध्ययन खर्च जुटाउँछु तपाईलाई दुख दिने छैन भन्ने प्रस्ताव राखे । प्रत्युत्तरमा उनले पहिले १ चोटी आफै आएर हेर, जापानमा संघर्ष नगरेसम्म केही हुँदैन, राम्रोसंग आफै बुझेर, सक्छु जस्तो लाग्यो भने मात्र डिसिजन गर भन्ने आश्वासन पाएपछि एसएलसी सकेपछिको फुर्सदमा ती मित्रको सहयोगमा जापान आउने योजना बनाएँ । १९९१ को मे महिनामा पहिलोचोटी भिजिटका लागि जापान आएको हुँ । ३ महिनासम्म अलिअलि काम पनि गरे । त्यसबाट भएको कमाईबाट जापान आउँदा ती जापानीले तिरेको हवाईटिकटको रकम फिर्ता गरें । ३ महिनासम्म जापानको बिकास, प्रविधि, यहाँका मिहिनेती र अनुशासित जनता, शिक्षा प्रणाली, जनजीवन जस्ता बिषयमा नजिकबाट अवलोकन गर्ने अवसर पाएँ । जापानको कडा संघर्ष र दुःख देखेर जापानमा पढ्न सकिएला जस्तो मलाई पटक्कै लागेन । नेपाल फर्केपछि त्यतिबेला राजनैतिक अस्थिरताले गर्दा पढ्ने वातावरण राम्रो थिएन । ती मित्रले पनि नेपालको तत्कालिन राजनैतिक अवस्था र ३ महिनासम्म मैलै जापानमा गरेको संघर्ष देखेर प्रभावित भई तिमी जापानमा पढ्न सक्छौ, जसरी पनि जापान पढ्न आउनुपर्छ भनेर प्रोत्साहित गर्नुभयो । त्यसपछि म १९९२ को अक्टोबरमा विद्यार्थीकोरुपमा पुनः जापान आएँ । डेढ वर्षको भाषा कोर्स संगै डिप्लोमा सकेपछि सन् १९९४ को अप्रिलमा युनिभर्सिटी भर्ना भएँ । डेढ वर्षसम्म विद्यार्थीकोरुपमा पढ्दै गर्दा बिहान २ बजे उठेर साइकलमा पत्रिका डेलिभरी गर्ने पार्टटाईम काम गरेको सम्झना अझै पनि मानसपटलमा ताजै छ ।
युनिभर्सिटी पुग्ने बेलासम्म ४ सय मान ऋण
ती जापानी मित्रले ऋणस्वरुप युनिभर्सिटी खर्च उपलब्ध गराईदिने भएपछि नेपालबाट १ रुपैंया पनि नलिईकन आएको मैले जापानको महंगो युनिभर्सिटी पढ्ने योजना बनाएको थिएँ । युनिभर्सिटी भर्ना हुने बेलासम्म मलाई ती जापानी मित्रको ४ सय मान (४० लाख) येन ऋण लागेको थियो । जसको कारण मैलै पढ्दै आएको सोफिया युनिभर्सिंटीबाट इलेक्ट्रिकल इलोक्ट्रोनिक्स इञ्जिनयरिङमा विद्यावारिधी (पिएचडी) गर्न सफल भएँ । समग्रमा भन्दा नेपालको परिवारबाट १ रुपैंया पनि नलिईकन आफ्नो अध्ययन सकेको थिएँ । अध्ययन संगै काम गर्दै गरेर ती जापानी मित्रको ऋण पनि सबै चुक्ता गरेको थिएँ । ती मित्र थिए, योशिहिरो शिओकावा, जसलाई मैलै गड-फाडरकोरुपमा सम्मान गर्दै आएको छु र गरिरहने छु । म आज जे छु, जहाँ छु उनकै कारण छु, उनी नभएको भए म आज कुन दुनियाँमा हुनेथिएँहोला कल्पना गर्न गाह्रो छ ।
नेसाजबाट नेपाली सोसाइटीमा डेब्यू
युनिभर्सिटी पढ्दै गर्दा जापानमा अध्ययन गर्दै गरेका सिनियर नेपालीहरुसंग सम्पर्क भयो । त्यतिबेला नेपाली विद्यार्थीको संख्या ज्यादै कम थियो । ठिक त्यतिनै बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जापान भ्रमण भयो । आफ्नो देशको प्रधानमन्त्रीसंग जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको भेटघाट कार्यक्रम तय भएको रहेछ, प्राइभेट विद्यार्थीकारुपमा मलाई पनि साथीहरुबाट बोलावट भयो, सामुहिक भेटघाट गर्यौं । त्यतिबेला नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी समाज जापान (नेसाज) का संस्थापक अध्यक्ष सूर्यराज आचार्य लगायतका सिनियरहरुबाट प्रभावित भई म पनि नेसाजमा सदस्यकारुपमा जोडिने अवसर पाएँ । त्यसको लगत्तै अर्को कार्यकालमा अध्यक्ष हुने अवसर पनि पाएँ । त्यसभन्दा अगाडि पनि एशियन ट्वीन्टी फष्ट सेञ्चुरी फाउण्डेशनमा रहेर जापानीहरुलाई नेपाल चिनाउने अभियानमा सक्रिय थिएँ । टोयोटा रेन्टल कारले विदेशी विद्यार्थीहरुलाई सामाजिक कार्यमा प्रोत्साहित गर्न स्थापना गरेको फाउण्डेशन थियो त्यो । त्यहाँ गएर नेपालको बारेमा बोल्ने, नेपाली चलचित्रहरु देखाउने जस्ता स्वयमसेवी कार्यहरु मार्फत नेपाल चिनाउने अभियानमा संलग्न हुँदै आएको थिएँ ।
यसरी चढ्यो अनलाईन पत्रकारिताको भूत
त्यतिबेला नेपालमा रहेका मानिसहरुमा जापान लगायत बिदेशमा रहेका नेपालीहरु तल्लो स्तरको काम मात्र गर्दछन्, पैसा कमाउने ध्याउन्न भन्दा उनीहरुको अरु चिन्तन हुँदैन भन्ने नकारात्मक सोच थियो । अध्ययन, अध्यापन र अनुसन्धान गर्ने लुकेको बौद्धिक जनशक्ति पनि बिदेशमा छन् भन्ने मानसिकता उनीहरुमा थिएन । बिदेशमा रहेपनि मुलुकसंग जोडिई नेपालीहरुमा विद्यमान नकारात्मक सोचमा परिवर्तन ल्याउन र बिदेशमा लुकेको राम्रो जनशक्तिलाई उजागर गर्ने उद्देश्यले अनलाइन पत्रकारिता सुरु गरिएको हो । भर्खर भर्खर प्रयोगमा आउन लागेको नयाँ प्रविधिको अनलाईन पत्रकारितामार्फत सामाजिक कार्यमा क्रियाशील रहने गरी मेरै नेतृत्वमा एउटा टिम निर्माण गरी सन् २००३ मा नेपाल जापान डट कमको सुरु गरियो । खुत्रुकेमा जम्मा गरी राखेको पैसा २२ मान (२ लाख २० हजार) येन भएको रहेछ, त्यसबाट १७ मान (१ लाख ७० हजार) येनको डेल कम्पनीको ल्यापटप किनेर अनलाईन पत्रकारिता जस्तो नितान्त नयाँ क्षेत्रमा जीवनको गाडी गुड्न थाल्यो । मुलतः बिदेशमा बस्ने नेपालीहरुप्रतिको नकरात्मक सोचलाई मिडिया मार्फत परिवर्तन गर्न सकिन्छ भन्ने आत्मबिश्वासका साथ अनलाईनको अवधारणा ल्याईएको थियो । तथापि यसलाई निरन्तरता दिनुपर्ने अर्को चुनौती थियो । त्यसको एक मात्र विकल्प ब्यवसायिकरुपमा अगाडि बढाउनु नै थियो । कालान्तरमा एउटा भरपर्दो बिजनेश हाउसको जिम्मा लगाउने परिस्थिति बन्यो । त्यसपछि आफु जिम्मेवारी मुक्त भएर अर्को क्षेत्रमा काम गर्ने मौका पाएँ । अहिले त्यहाँ आफु नभए पनि निरन्तरता पाएकोमा खुशी लाग्छ ।
अनेसाससंगको कनेक्शन
त्यसपछि बिश्वभरि अनलाईनको बाढी नै आयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनेसास पत्रकारिता पुरस्कारको घोषणा गर्यो, त्यसमा म आफै पुरस्कृत हुन पुगें । त्यसपछि अनेसाससंग जोडिन पुगे । साथीहरुले जापानमा पनि अनेसासको च्याप्टर स्थापना गर्न प्रस्ताव गर्नुभयो, त्यसलाई नकार्न नसकेपछि साहित्यमा रुची राख्ने तत्कालिन साथीहरु समेटेर सन् २००४ मा अनेसास जापानको जन्म दियौं । यसरी अनेसास जापानको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मलाई नै प्राप्त भयो । जुन बेला अनेसासको बेष्ट च्याप्टरको अवार्ड पनि हासिल गर्न सफल भयौं । अनेसासको यात्रामा केन्द्रिय उपाध्यक्ष हुँदै सन् २००८ मा अध्यक्ष हुने अवसर पनि प्राप्त भयो । जुन समयमा केही देखिने कामहरु पनि गर्न पाएकोमा अहिले पनि गर्वानुभूति हुन्छ । लगभग अमेरिकामा मात्र सीमित डायस्पोरिक नेपाली साहित्यलाई अनेसास अभियान मार्फत अन्तर्राष्ट्रियकरण गर्ने, करीव २० वटा च्याप्टर बढाउने, अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने जस्ता कार्यहरु मेरै कार्यकालमा भएको हो । जसको सुरुवात हामीले अमेरिकाको न्यूयोर्कबाट गरेका थियौं । अन्तमा, विवादरहित कार्यकालकारुपमा अनेसासको नेतृत्व हस्तान्तरण गर्ने अवसर पाएकोमा खुशी छु ।एनआरएन जापानको संस्थापक महासचिवदेखि केन्द्रिय प्रवक्तासम्म
अर्कोतिर बिदेशमा बस्ने नेपालीहरुका लागि मुलुकसंग जोडिने र उनीहरुको आवाज सुनाउने कुनै न कुनै फोरमको आवश्यकता रहेको ठहर गर्दै देशबाहिर रहेको बौद्धिक सम्पति देशको हितमा प्रयोग हुनुपर्छ भन्ने मान्यतामा डायस्पोराका नेपालीहरु गोलबन्द हुँदै थिए, त्यसको हावा जापानमा पनि नआउने कुरै भएन । जसअनुरुप जापानमा पनि सन् २००४ को फेब्रुअरीमा एनआरएन जापानको स्थापना हुन पुग्यो, त्यसको पनि संस्थापक महासचिव हुने अवसर मलाई प्राप्त भयो । यस अभियान अन्तर्गत दुई कार्यकाल केन्द्रिय सदस्य, एक कार्यकाल प्रवक्ता रहेर काम गर्ने मौका पाएँ । त्यतिबेला आफ्नै संयोजकत्वमा क्षेत्रीय मिटिङको सुरुवात, सोभिनियर प्रकाशन गर्ने जस्ता जिम्मेवारी निर्बाह गर्ने मौका पाएँ । यस लगायत एनआरएनको केन्द्रलाई बलियो बनाउने कार्यमा बिशेष ध्यान दिनमा हामी बिशेषरुपले लाग्यौं । सो अनुरुप देखिने गरी परिणामहरु पनि निकाल्न सफल भयौं ।
एनआरएन अभियानमा आमुल सुधारको जरुरी
कालान्तरमा पारिवारिक जिम्मेवारी, कार्यब्यस्तता, काममा बढ्दो जिम्मेवारी लगायतका कारण गुमनाम जस्तै देखिएको भए पनि एनआरएन अभियान लगायत नेपाली समुदायको हरेक गतिबिधिमा अपडेट हुँदै आएको छु । यद्यपि जुन परिकल्पनाका साथ एनआरएन अभियान सुरु गरिएको थियो, जुन दिशामा जानुपर्ने हो त्यता तिर जान नसकेको मेरो बुझाई रहेको छ । एनआरएन गैर राजनैतिक बिशुद्ध सामाजिक संस्था भईकन पनि ब्यापारी केन्द्रित संस्था जस्तो बनेको छ । विभिन्न बिषयका विज्ञहरुलाई समेटेर उनीहरुको विज्ञतालाई मुलुकको हितमा उपयोग गरिनुपर्नेमा त्यसो हुन सकिरहेको देखिदैन । बिधानमा त्यस्तो ब्यवस्था नभए पनि सक्रिय राजनैतिक संस्थाजस्तो प्रत्यक्ष राजनैतिक प्रभावबाट संस्था अछुट रहन सकेको छैन । एनआरएन जस्तो सामाजिक संस्था चुनाव फोकसबाट बाहिर आउनुपर्छ । नेपालमा एनआरएनलाई हेर्ने दृटिकोणमा सकारात्मक सोच फैलाउन सकिएको छैन । राजनैतिक पार्टीको झल्को दिने गरी हुने निर्वाचन, भड्किलो र खर्चिलो प्रचारप्रसार, तडकभडक एवं भद्दा प्रदर्शनका कारण ब्यापारी पृष्ठभूमिका मानिसहरुभन्दा बाहिरका मान्छेहरु एनआरएनमा जान नसक्ने अवस्था सिर्जना गरिएको छ, जुन गलत छ । यसमा आमुल सुधारको आवश्यकता छ । विदेशबाटै अनलाइन भोटिङ गर्न मिल्ने ब्यवस्था गरी निर्वाचन प्रणाली बैज्ञानिक हुनु आवश्यक छ । यसबाट चुनाव केन्द्रित संस्थाबाट आम प्रवासीले सहभागिता देखाउन सक्ने, एनआरएन अभियानको मुलमन्त्रमा फर्किन सकिन्छ । अनावश्यक प्रतिष्ठाका लागि कार्यसमितिमा बस्ने होडबाजी भन्दा, समाजका लागि सामाजिक कार्य गर्न यस संस्थामा आबद्ध हुनेतिर सोचाईलाई बदल्न पर्छ । जबसम्म राम्रो सोच लिएर एनआरएन अगाडि बढ्न सक्दैन तबसम्म यस अभियान सीमित घेराभन्दा माथि उठ्न सक्दैन । अनावश्यक सम्मेलनहरु धेरै गर्नुभन्दा बिषयवस्तुमा केन्द्रित भएर सार्थक र थोरै सम्मेलनहरुको आयोजना गरिनुपर्दछ । यसबाट धेरै पूँजी बचाउन सकिन्छ । एनआरएन अभियानमा सुधारको लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने सोंचमा छु ।
नेतालाई गाली गर्नु बेकार, देश परिवर्तन नहुनुमा हाम्रै परनिर्भर सोच दोषी
हामी नेपालीहरुको सोचकै कारण देशको अवस्था आजको स्थितिमा पुगेको हो भन्ने मेरो विश्लेषण रहेको छ । अझै पनि हामीमा पृथ्वीनारायण शाहको पालाको सोच कायमै छ । हामीमा अझै पनि आश्रित एवं परनिर्भरता सोचले गर्दा देशले अपेक्षित फड्को मार्न नसकेको मेरो दृष्टिकोण छ । नेताहरु र ब्युरोक्रेसीलाई गाली गर्नु बेकार छ । हामी सबैको कारण देश उभों लाग्न नसकेको हो । लोकतन्त्र आए पनि अहिले पनि फरक दृष्टिकोणको सामन्तबादको निरन्तरता नै छ, यसले केही नेपालीलाई अवश्य धनी बनाउला, तर हाम्रो गरिबी यथावत रही बिकासमा गति लिन मुश्किल नै रहन्छ । तसर्थ सोचमा परिवर्तन ल्याउन आवश्यक छ । यद्यपि नेपाली युवाहरुको सोचमा केही परिवर्तनका संकेतहरु देखिन थालेका छन्, जुन सकारात्मक छन् ।
जापानको नेपाली सोसाइटी
१९९१ मा बैधानिकरुपमा जापानमा बस्ने नेपालीको संख्या जम्माजम्मी ३ सय ५१ मात्र थियो । त्यतिबेला पनि हामी नेपालको लागि जापानबाट के गर्न सकिन्छ भनेर चिन्तन, मनन र गन्थन गरिन्थ्यो । नेपालीहरु जापान आउनु राम्रो अवसर हो । नेपाली एकतामा कुनै आँच आउन नदिने गरी सबै जिम्मेवार हुन आवश्यक छ । सानो सानो कुरामा अल्झेर एकले अर्काको बिरोध गर्ने, सोसाइटीलाई हित हुने कार्यमा भन्दा नकारात्मक बिषयलाई बढि महत्व दिने जस्ता अहिले सतहमा देखिएका चिन्ताका बिषय हुन् । यसो हुनुमा अध्ययनको कमी, समझदारीको अभाव र संकिर्ण सोंच नै मुल कारण हुन् यसमा सबैको ध्यान जानु जरुरी छ । अहिले नेपालीहरुको संख्यामा आएको बढोत्तरीका बिषयमा चर्चा हुँदा जापानीहरुले विगतमा दुःख गरेका नेपालीहरुको मुल्याङ्कन गरेर नै जापानीले माया गरेर नेपालीहरुलाई जापान बोलाएको हो भन्नेहरु पनि छन् । त्यसकारण इतिहास मेटेर अगाडि बढ्न सकिदैन, इतिहास भनेको इतिहास नै हो । इतिहास र यस उत्कृष्ट देशबाट धेरै कुरा लिन र सिक्न सक्नुपर्दछ ।जहाँ गए पनि सानो नेपाल
हामी नेपालीले प्रवासबाट सीप, पूँजी, सकारात्मक सोंच लिएर नेपाल फर्कन सक्नुपर्दछ । नकारात्मक भावनाबाट टाढा हुन सिक्नुपर्दछ । जहाँसम्म मेरो कुरा छ, बच्चाहरु सानै छन्, कालान्तरमा नेपाल फर्कने सोच त हो तर आजको दुनियाँमा नेपाल फर्कनैपर्छ जस्तो पनि लाग्दैन, किनभने जहाँ गए पनि सानो नेपाल छँदै छ । सकारात्मक सोच हुने हो भने जहाँ बसे पनि नेपालको लागि केही गर्न सकिन्छ । जापानमा ३० वर्ष लामो जीवन भोगाईका अनुभवलाई एउटा खँदिलो आकार दिने सोचमा छु । त्यो भनेको एउटा पुस्तक लेख्ने हो, जापानबाट के सिक्ने ? अर्थात समग्रमा जापान के हो ? भन्ने बारेमा भावी पुस्तालाई गतिलो अध्ययन सामाग्री बन्न पुगोस् । त्यो अबको लक्ष हो ।
– प्रस्तुती : तिलक मल्ल