Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ। प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपालले मंगलबार भएको खेलमा भुटानलाई १ सय १७ रनले पराजित गरेको हो।

नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा अलआउट भयो।  भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बटुले। उनले १९ बलमा २ चौका हिर्काए। अन्य ब्याट्सम्यान नेपाली बलरसामू निरीह सावित हुँदा दोहोरो अंकमा रन जोड्न नपाइआउट भए। भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्केका थिए।

भुटानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट लिए। ललितले पहिलो ओभरमै २ विकेट लिएका थिए। उनले ४ ओभरमा २ मेडन राख्दा ४ रन मात्र खर्चिए। सन्दीपले पनि ४ ओभरमा २ मेडन ओभर फ्याँक्दा ६ रन खर्चिए। बसन्त रेग्मीले २ विकेट लिए।

उनले ४ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए  । टस हारेर पहिले ब्याटिङ  गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। नेपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे।

उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारी शून्य रनमा आउट हुँदा अनिलकुमार साहले २७ रनको योगदान दिए। उनले २१ बलमा २ चौका र १ छक्का हिर्काए। आरिफ शेखले १५ बलमा १३ रन  र दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन जोडे। करण केसीले ५ बलमा नटआउट १० रन जोडे।

यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया