Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – मलेसियामा जारी आईसिसी विश्व टी-ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई सहजै हराउँदै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दिएको १७३ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले वर्षाले खेल प्रभावित हुनुअघसि १८ रन बनाउँदै ९ विकेट गुमाएको थियो ।

त्यसपछि डि एल नियमका आधारमा नेपालले १४० रनले थाइल्याण्डलाई हराएको हो । यो सँगै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा पुगेको हो । वर्षाले खेल रोकिनुअघि थाइल्यण्डले ८.५ ओभरमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो। नेपालका लागि सन्दिप लामिछाने ५ तथा करण केसीले ३ विकेट लिए भने ललित नारायण राजबंशीले १ विकेट लिएका थिए ।

सन्दीपले आठौँ ओभरमा तीन र करनले नवौं ओभरमा दुई विकेट लिए। एक रनमै दुई विकेट गुमाएको थाइल्यान्ड पहिलो ओभरदेखि नै दबाबमा आएको थियो । ललितले पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा विकेट हात पारे । चौथो ओभरको दोस्रो बलमा सन्दीपले फेरि विकेट हात पारे । त्यसपछि १६ रनमा तीन विकेटको स्थितिमा पुगेको थाइल्यान्ड बाँकी २ रन जोड्दा ६ विकेट गुमायो । थाइल्याण्डको इनिङ्स करन र सन्दीपले संकटमा पारे ।

करनले सातौँ ओभरको तेस्रो बलमा थाइल्यान्डको चौथो विकेट झारे । सन्दीपले आठौँ ओभरमा चार बलको बीचमा तीन विकेट लिए । करनले नवौँ ओभरको चौथो र पाँचौ बलमा विकेट हात पारे । र चौथो ओभरमा एक-एक तथा नवौँ ओभरमा तीन विकेट हात पारे । थाइल्यान्डका पाँच जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । सन्दीपले तीन ओभरमा ८ रन खर्चिएका हुन् । यो सँगै जारी प्रतियोगितामा सन्दीपको तीन खेलबाट १४ विकेट भइसकेको छ । करनले १.५ ओभरमा दुई रन मात्र खर्चिएका छन् ।

यसअघि मलेसियामा जारी आईसीसी टी-ट्वान्टी विश्व कप छनोटमा नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सर्वाधिक नटआउट ४० रन बनाए । मात्र १४ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । अन्तिम ओभरमा करणले लगातार ३ छक्कासहित २१ रन बनाएपछि नेपालको इनिङ उकासेका थिए ।

यसअघि ओपनिङमा आएका अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमै पभेलियन फर्किएका थिए । २८ रन बनाउँदा विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोरमा अनिललाई गुमाएको थियो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हालेका थिए । तर, दिपेन्द्रसिंह ऐरी नेपालको स्कोर ९९ रन हुँदा व्यक्तिगत ३० रनमा आउट भएपछि नेपालको इनिङ धर्मरायो । त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भए। नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि आएका कप्तान पारस खड्का टिक्न सकेनन् ।

टिमको स्कोर ११५ रन हुँदा शरदले ३४ रन बनाएर आउट भए । त्यसको केही बेरमै कप्तान खड्का ५ रनमै आउट भए । त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए । त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्‍याए। सोमपाल कामी पनि ४ रनमा नटआउट रहे । थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए । थाइल्याण्ड अंक तालिकामा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया