Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – आज बंगलादेशको राष्ट्रिय रंगशालामा नेपाली फुटबल टोली नयाँ इतिहास रच्ने ध्याउन्नमा छ । १२ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज माल्दिभ्सलाई पराजित गरेको खण्डमा पहिलो पटक नेपाल साफको फाइनलमा पुग्नेछ । नेपालले सन् १९९३ देखि नै साफमा सहभागिता जनाउँदै आएपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

यसअघि नेपाल सन् १९९५, १९९९, २०११ र २०१३ मा साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो । यसपटक आयोजक बंगलादेशसँगको खेलमा चामत्कारिक प्रदर्शन गरेको नेपालले इतिहास रच्ने धेरैको अपेक्षा छ । अघिल्लो महिना इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा कमजोर प्रदर्शन गर्दै नेपाली फुटबल टिम समूह चरणबाटै बाहिरिएको थियो । त्यही टुर्नामेन्टका अधिकांश खेलाडी जारी साफ खेल्ने टिममा रहेका छन् ।

त्यस्तै, साफको पहिलो खेल पाकिस्तानसँग पराजित भएपछि नेपालको प्रदर्शनमा आशंका गरिएको थियो । तर, भुटानविरुद्धको खेलमा नेपाली टोली नयाँ रणनीतिका साथ मैदान उत्रियो, जसमा नेपालले भुटानलाई ४-० को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा नेपालले कप्तान विराज महर्जन र उपकप्तान भरत खवास दुवैलाई बैञ्चमा राख्दै गोलरक्षक किरण चेम्जोङलाई कप्तानी दिएको थियो । कप्तान, उपकप्तान दुवैलाई बेञ्चमा राखेर प्रशिक्षक महर्जनले नेपाललाई ४-५-१ को फर्म्याटमा खेलाएका थिए । कप्तान विराज र उपकप्तान भरत खवास सब्स्टीच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । त्यही खेलबाट कप्तान विराजले सर्वाधिक खेल खेल्ने खेलाडीको रेकर्ड पनि बनाएका छन् । भुटानविरुद्धको खेल उनको ६९ औं ‘क्याप’ हो ।

भुटानविरुद्ध अनन्त तामाङ, सुनिल बल, निराजन खड्का र भरत खवासले एक-एक गोल गर्दै शानदार जित निकालेका थिए । बंगलादेशविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ को अवस्थामा थियो । घरेलु टोली बंगलादेशलाई उसका हजारौं समर्थकका अगाडि पराजित गर्नुपर्ने चुनौती थियो । त्यसमा नेपाली प्रशिक्षकले पुनः आफ्नो रणनीति बदले । उनले नेपालको फर्म्याट ४-४-२ कै अवस्थामा फर्काए । बंगलादेशविरुद्ध विमल घर्तीमगर र नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याए । नेपालको यही प्रदर्शन र लय नै नेपाली टोलीले फाइनल यात्रा तय गर्ने मुख्य र बलियो आधार हो ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर टिमका रुपमा नलिने बताएका छन् । उनले नेपालले बुधबार नयाँ इतिहास रच्ने दाबी पनि गरेका छन् । त्यस्तै, कप्तान विराज महर्जनले पनि फाइनल पुग्नेमा आफू ढुक्क रहेको बताएका छन् । मंगलबार  प्रतिद्वन्द्वी टिम माल्दिभ्सका प्रशिक्षकले पनि नेपाली टोलीको ‘स्पिरिट’को सामना गर्ने बताएका थिए । उनले भनेका थिए, “नेपाली टोली बलियो छ । खेलाडी लयमा छन् तर, हामी रोक्ने कोसिस गर्नेछौं ।” माल्दिभ्सले यो सिजनको साफ च्यम्पियनसिपमा एक गोल पनि गर्न सकेको छैन ।

अर्को सेमिफाइनल टोली भारतका प्रशिक्षकले समेत नेपाली टोलीको खुलेर प्रशंसा गरेका छन् । नेपाली टोली यो सिजनको साफ ट्रफीको हकदार रहेको उनको भनाइ थियो । नेपाल र माल्दिभ्सबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार आज अपरान्ह पौने ४ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया