Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा अरहान्त केशर सिन्हा र भावना सुनुवार च्याम्पियन बनेका छन् । तेस्रो संस्करणमा च्याम्पियन बन्दै पुरुषतर्फ अरहान्त र महिलातर्फ भावनाले उपाधिमा ह्याट्रिक गरे ।

सातदोबाटोमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष सिंगल्स तर्फको फाइनलमा अरहान्तले अमृत थापामगरलाई ३–१ को सेटमा पराजित गरे ।

पहिलो सेटमा ११–७ को जित हात पारेका अरहान्तलाई दोस्रो सेटमा भने अमृतले ७–११ ले हराए । त्यसपछिको दुई सेटमा ११–८ र ११–६ को जित हात पार्दै अरहान्त च्याम्पियन बने ।

पुरुषको जुनियर यू–१९ तर्फ अमिर ब्लोन च्याम्पियन बने । फाइनलमा अमिरले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सोझो सेटमा पाखा लगाए ।

पुरुषकै जुनियर यू–१५ तर्फको फाइनलमा विकास मगरले सलिम थापालाई २–० ले हराउँदै च्याम्पियन बने । विकासले ११–४ र ११–५ को सहज जित निकालेका थिए ।

महिला सिंगल्स तर्फको उपाधि भावना सुनुवारले जितिन् । भावनाले कृष्णा थापामगरलाई ३–० को सोझो सेटमा हराएकी थिइन् ।

कृष्णालाई खेलभरि नै दबाबमा राखेकी भावनाले ११–५, ११–७ र ११–१ ले हराएकी थिइन् । महिला यू–१५ तर्फ सपना ब्लोनले मुस्कान राउतलाई ११–४ र ११–३ ले पराजित गरिन् ।

पुरुष मास्टर खुल्ला ५० वर्षमाथि सुदिप बहादुर सिंह च्याम्पियन बने । उनले दिलिप अधिकारीमाथि ३–० को सहज जित निकाले ।

पुरुषको प्लेट च्याम्पियनसिपको उपाधि अमिर ब्लोनले जिते ।

पुरुषतर्फ पहिलो चरणमा पराजित भएका खेलाडीबीचको प्रतिष्पर्धामा अमिरले विदेशी खेलाडी स्टिभ फ्रान्सिसलाई ३–१ को प्रतिष्पर्धात्मक सेटमा पराजित गरे ।
विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्क्वास राकेट्स संघका अध्यक्ष किशोर महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले पुरस्कार वितरण गर्नुभयो ।

नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भएको थियो ।

तपाईको प्रतिक्रिया