काठमाडाैं – ब्रह्माण्डलाई रहस्यको फराकिलो र अपरिमेय क्षेत्र मानिन्छ । वैज्ञानिकहरुलाई चकित बनाउने तथ्यहरु यसभित्र लुकेका छन् भने पृथ्वीजस्तो सानो ग्रह अरु कैयौँ भएको र पृथ्वीका मानिसभन्दा पनि ठूलो र सभ्यताको दृष्टिले निकै अगाडि अन्य ग्रहका मानिसहरु रहेको हुनसक्ने कुरामा दिनानुदिन विश्वास बढ्दै गएको पाइन्छ ।
वैज्ञानिकहरु समेत यति ठूलो ब्रह्माण्डमा वर्षौँदेखि पत्ता लाग्न नसकेका कुराहरुको खोजीमा जुटिरहेका छन् । सोही क्रममा हाम्रै सौर्य प्रणालीमा रहेको एउटा ग्रह जसलाई हामी बृहस्पति भन्छौँ, त्यसका चन्द्रमाहरु दर्जन संख्यामा रहेको पत्ता लागेको छ । खगोलविद्हरुले बृहस्पति ग्रहका १२ वटा चन्द्रमा रहेको पत्ता लगाएका छन् । त्यसमध्ये ११ वटाको कक्ष सधैँ एउटै दिशा र कोणमा रहे पनि एउटा भने अनियमित तरिकाले घुमिरहेको र कुनै पनि बेला अन्यसँग ठोक्किनसक्ने उनीहरुको भनाइ छ ।
गलत दिशामा आफ्नो कक्ष लिएका कारण उक्त एक चन्द्रमा भने ठोक्किन सक्ने वासिङटन डीसीमा रहेको कार्नेजी इन्स्टिच्युसन फर साइन्सका वैज्ञानिक स्कोट शेफर्डले बताए । शेफर्डलगायत उनका समकक्षी वैज्ञानिकहरुले यति धेरै चन्द्रमाहरु पत्ता लगाएका हुन् । अर्कै ग्रहको खोजी गरिरहँदा यी चन्द्रमाबारे पत्ता लागेको हो । खासमा उनीहरु प्लानेट ९ को खोजीमा रहेका थिए । २०१७ मा चिलीमा भिक्टोर ब्लान्को नामको ४ मिटरको टेलिस्कोपबाट आकाशीय सर्वेक्षणका क्रममा जुपिटर अर्थात् बृहस्पतिका उक्त चन्द्रमाहरु देखिएका थिए ।
अनुसन्धाताहरुले सो क्रममा जुपिटरले जसरी नै सूर्यलाई घुमिरहेका धेरै वस्तुहरु त्यस क्षेत्रमा पाएका थिए । दुई वटा भित्री, नौ वटा बाहिरी कक्ष लिएर विपरीत दिशामा घुमिरहेको र एउटाचाहिँ दिशाविहीन अवस्थामा रहेको उनीहरुको भनाइ छ । अनुसन्धाताले दुई वटा चन्द्रमाबारे २०१७ मै बताएका थिए भने बाँकी चन्द्रमाबारे उनीहरु जुलाई १६ मा निश्चित भएका थिए । सबै चन्द्रमाहरुको मोसन (चाल) सामान्य रहेको बताइएको छ । भित्री चन्द्रमाहरु उक्त ठूलो ग्रहको ग्यास र धूलोको डिस्कबाट बनेको र त्यसले ग्रहलाई घुमिरहेको वैज्ञानिक मत छ । सौर्यप्रणालीको सुरुतिर यी चन्द्रमाहरु बनेको हुनसक्ने उनीहरुको भनाइ छ ।
यता बाहिरी चन्द्रमा भने स्वतन्त्र रुपमा अन्तरिक्षमा तैरिएर रहेका चट्टानहरु संगृहित भएर बनेको हुनसक्ने उनीहरुको भनाइ छ । विपरीत दिशमा घुम्नुमाचाहिँ ग्रहको कारण त्यस्तो भएको हुनसक्छ । एउटा चन्द्रमा निकै चहकिलो रहेको बताइएको छ । एक किमि वारपारको उक्त चन्द्रमालाई उनीहरुले रोमन गडेस अफ हेल्थ एण्ड हाइजिन संज्ञा दिएका छन् । यसले जुपिटरकै स्पिनका रुपमा उही कक्ष लिएर घुम्ने गरेको छ ।शाविहीन अवस्थाको भ्यालेट्युडो नामक चन्द्रमाचाहिँ करिब १०० मिलियन वर्षमा कतै ठोक्किनसक्ने बताइएको छ । यसले यसअघि पनि धेरै पटक ठोक्किइसकेको मानिएको छ । –साइन्स डट ओआरजीबाट