ओ हो ! जापान त्यतिकै जापान भएको होईन रहेछ । यहाँका मानिसहरु कामलाई असाध्यै महत्व दिन्छन्, श्रमप्रति श्रद्धा गर्दछन् । सबैजना काम गर्छन् । अरुका कुरा काटेर हिड्ने यहाँ कसैलाई फुर्सद छैन, अरुका बारेमा कसैले चासो राख्दा पनि राख्दैनन् । समयको उत्तिकै ख्याल गर्छन । देश पुरै सिष्टममा चलेको छ । समाज शिक्षित छ, नियम कानुनको सबैले बराबरी पालना गर्दछन् । यति भएपछि देश उभोँ लाग्न बेर नलाग्दो रहेछ । हामीकहाँ आफ्नो मान्छे हो भने उही काम क्षणभरमा हुन्छ नत्र झुलाईदिने सँस्कार हाबी छ, अनि सुरु हुन्छ, नजरानाको खेल । समयको महत्व त झन नेपाली सँस्कारभित्र अझै छिर्न सकेकै छैन ।
भारतीय सेनामा दुई वर्ष र नेपालको सशष्त्र प्रहरीमा अर्को दुई वर्ष जागीर खाएर जापान आएका एक नेपाली युवाले जापानमा रहँदा बस्दा सिकेको र जानेको अनुभवहरु हुन् यी । संघर्षका सुरुवाती दिनहरुमा छँदाखाँदाको नेपालको जागीर छोडेर बेकार जापान आएकोमा पश्चातापको अनुभूति भएपनि जीवनलाई क्रमशः ब्यवस्थित गर्दै आएपछि अहिले सबै ठिकठाकै चलेजस्तो लागेको बताउँछन् उनी । कहिलेकाँही भने उनलाई एउटा बिषयले निकै नमिठोसंग चिमोट्ने गरेको अनुभव यसरी सुनाए – ’संगै भर्ती भएका ब्याची साथीहरु अहिले सशष्त्रको डिएसपी भएकाछन्, नेपालकै जागीरलाई निरन्तरता दिएको भए आफु पनि अहिले एउटा जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिनसक्ने तहको अफिसर भईँदोरहेछ, कोही साथी सभासद छन् त कोही नेताजी बनेका छन् भने कोही ठूला ब्यापारी, उद्योगपति बनेका छन् । लाहुर खान यता आईयो, उता गुमाईयो ।’
उनी हुन् – म्याग्दी जिल्ला बेनी नगरपालिका वार्ड नं. १ रत्नेचौर घर भएका लक्ष्मण खत्री । २००८ मा जापान छिरेका उनीसंग एक दशक लामो जापान बसाईको अनुभव छ । पेशाले कुक रहेका खत्रीले जापानमा रहेका नेपाली कुक दाजुभाइहरुको समस्यालाई नजिकबाट बुझेका छन् । उनले भने – ’हातमा सीप नहुने कुक दाजुभाइहरु समस्यामा छन् । सीप हुने कुकको जापानमा चारैतिर अभावै अभाव छ । यत्राबिधी रेष्टुरेन्ट छन्, सीप हुने राम्रा कुक कसैलाई खाली बस्नुपरेको छैन । त्यसकारण जापान आउनुपूर्व आफुले गर्नुपर्ने कामको बारेमा पूर्णतयाः सीप सिकेर आउन जरुरी छ र सकिन्छ भने आधारभुत जापानी भाषा पनि सिकेर आएमा जापानमा दुख पाईदैन, अन्तिम सत्य पनि यही हो ।’
’उसो त कतिपय कुक दाजुभाइहरु मालिकबाट पनि पीडित छन्, न्युनतम तलबमा काम गर्नुपरेको, कसैले तलब नपाएको, पाए पनि समयमा नपाएको र भिसा लगाउन असजिलोमा परेको जस्ता समस्याहरु पनि छन् । कष्टमर आए पनि नआए पनि बिहान ९ बजेदेखि राती अबेरसम्म काममा ब्यस्त हुनुपर्ने उनीहरुको दैनिकी साँच्चिकै कहालिलाग्दो छ । उनीहरुलाई बाहिरी दुनियाँ बारे केही थाहा हुँदैन, त्यसमाथि उनीहरु भाषामा पनि कमजोर छन् । हप्ताको एक दिन वा आधा दिन बिदामा आराम, सरसफाई, परिवार, किनमेल गर्दैमा दिन जान्छ । बाँकी दिनहरुमा काममै ब्यस्त हुनुपर्छ – उनले भने । यद्यपि सीप भएका लगनशील र जाँगर हुनेहरुका लागि जापानमा भविष्य पनि छ, परिवार ल्याउन पाईने, यहाँ उपलब्ध सेवा, सुविधा उपभोग गर्न पाईने, बिश्वकै समृद्ध मानिने जापानी सभ्यताका राम्रा पक्षहरु सिक्न पाईने यस्तो अवसर उपयोग गर्न जान्नुपर्ने खत्रीको धारणा छ ।
वल्ला, पल्ला छिमेकी गाउँका साथीभाइहरु भारततिर गएर धमाधम कुक सिकेर जापानतिर लागेपछि उनलाई पनि जापानको मोहले तानेको बताउने खत्रीले सशष्त्र प्रहरीको जागीर छोडेर जापान आएका हुन् । त्यसअघि उनले भारतीय सेनामा पनि दुई वर्ष काम गरेका थिए । जापान आएर सुरुदेखि अहिलेसम्म एउटै कम्पनीमा निरन्तर काम गर्ने विरलै नेपालीहरुमा उनी पर्दछन् । जापानको ’मिनी नेपाल’ भनेर चिनिने शिनओकुबो स्थित बाराही हलाल फुड संगैको मोःमो रेष्टुरेन्टमा कार्यरत खत्री कामको प्रकृतिका कारण उनी नेपालीहरुको पनि केन्द्रमा छन् । दिनहुँ दर्जनौ नेपालीहरुसंग उनको संवाद हुन्छ, कामको खोजी, कोठाका समस्या, पारिवारिक समस्या, देशका कुरा, सुखदुखका भलाकुसारी सबै उनले सुनिदिने गर्छन । यी लगायत विविध बिषयमा आफुले जाने बुझेको सरसल्लाह पनि उनले दिने गरेको बताउँछन् । कामले काम सिकाउने र अनुभवले भुक्तभोगी बनाउने उनको बुझाई छ, त्यसैले पसलमा आउने जापानीहरुसंगको आधारभुत वार्तालापमा खासै समस्या नपर्ने भए पनि कहिलेकाँही अस्पताल, हुलाक, बैंक तथा अन्य अफिसियल काममा भने आफुले जानेको भाषाले नभ्याउने हुँदा अरुको सहारा लिनुपर्ने अवस्था आउने गरेको खत्री बताउँछन् ।
शिनओकुबोमा बढ्दो नेपाली चहलपहल बारे खत्री भन्छन् – सुरु सुरुमा नेपालीहरुको संख्या ज्यादै पातलो थियो, कोही भेटिईहाल्यो भने अत्यन्त आत्मीयताको आभास हुन्थ्यो, एकआपसमा खुशी साटिन्थ्यो, नेपालको घर ठेगाना, नाल-नाताको सोधीखोजी हुन्थ्यो, अचेल यतै नेपाली उतै नेपाली बढि भएपछि कसैलाई कसैको वास्ता छैन, नेपालीहरुबीच पहिलेको जस्तो भावनात्मक निकटता पनि अहिले पाईदैन ।’
दुई छोराहरुलाई नेपालमा पढाउँदै श्रीमती सहित जापानमा बस्दै आएका खत्री हालै मात्र नेपाल गएर आएका हुन् । बिदामा दुई महिना नेपाल बसाईमा देशले अब बिकासको गति समातेको आफुले अनुभव गरेको बताए । राजनैतिक स्थिरतासंगै देश सकारात्मक दिशातर्फ अगाडि बढेकोले अब मुलुकमा परिवर्तन हुनेमा आफु आशाबादी रहेको बताउँदै उनले भने – ’अनुभूति हुने गरी बिकासका बाछिटा गाउँघरसम्म पुग्ने क्रममा रहेको, बाटाघाटाहरु पहिलेभन्दा फराकिला, चिल्ला बनेको र बन्दै गरेको, जताततै बिकास र समृद्धिका घनिभुत चर्चा एवं बहस भईरहेको, जनतामा चेतनाको तिब्र लहर छाएको देखिन्छ । त्यसकारण अब १२ घण्टा काम गरेर जापानमा १ लाख कमाउनुभन्दा नेपालमै ३०, ४० हजारको कमाई हुने हो भने परिवारसंगै बसेर रमाउन सकिने अवस्था आईसकेको छ ।’
उनी भन्छन् – देखासिकी र लहलहैमा नेपाली युवा पुस्ता बिदेश मोहमा तल्लिन छन् भने घरपरिवार र समाजबाट पनि उनीहरुमा एक प्रकारको अप्रत्यक्ष दबाब छ । बिहे गर्न केटी खोज्न परेमा केटो कुन देशमा छ, कति कमाई गर्छ भनेर सोधिने हाम्रो समाज र सँस्कारका कारण पनि गाउँघर शुन्य पारेर चालिसौ लाख युवाहरु बिदेशिन बाध्य छन् । राज्यले उपयुक्त नीति ल्याएर युवाहरुलाई स्वदेशमै प्रोत्साहित गर्न सके बिदेशमा रहेका नेपालीहरुको ठूलो हिस्सा नेपाल फर्कन तयार देखिन्छन्, यो संभव पनि छ ।’
जीवन एक निरन्तर चलिरहने यात्रा रहेछ, जीवनमा प्राप्त हुने सफलता र सन्तुष्टि फरक पाटा हुन् जस्तो लाग्छ, जे छ त्यसैमा आत्मसन्तुष्टि गरेर खुशी हुन सक्नु नै जीवनको सार हो । जीवनमा त्यस्तो ठूलो महत्वाकाँक्षा केही पालेको छैन, जसले आफुलाई दुखी बनाउन मदत गर्छ । जापान संघर्षको पहिलो अध्याय एक दशकबाट सिकेका जानेका अनुभव उपयोग गर्दै अर्को ५, ७ बर्ष सानोतिनो ब्यवसाय बारे जीवनको दोस्रो अध्यायका रुपमा योजना बुन्दैछु । नियमले पाउने यहाँको स्थायी रेसिडेन्स त लिन परिहाल्यो । कुप्रो परुञ्जेल जापानमै टाक्सिएर बसिरहने रहर मलाई किमार्थ छैन । उमेर छँदै स्वर्गजस्तो आफ्नै देश नेपाल फर्केर केही गर्नुपर्छ भन्ने एउटै मात्र कुरा मेरो दिमाखमा सँधै खेलिरहन्छ । जापानको बसाईलाई जति तन्कायो उति तन्किने हुँदा जीवन यतै भासिने खतराबाट मुक्त हुन एउटा निश्चित अवधि तोकेर योजना बनाउनु सबैका लागि हितकर हुन्छ – खत्रीले भने ।
उनी अगाडि भन्छन् – सभ्य र सुसँस्कृत देश जापानमा बसेका छौं, यहाँबाट सिक्नुपर्ने धेरै छन् । कामप्रति लगनशीलता, इमान्दारिता, एकअर्काप्रति सम्मान, मेलमिलाप, आदरभाव यहाँबाट नेपालीहरुले सिक्नैपर्ने महत्वपूर्ण पक्ष हुन्, जसको अभावमा यहाँको नेपाली समुदायमा यदाकदा समस्या उत्पन्न हुने गरेको पाईन्छ । जसले गर्दा समस्त नेपालीको छबि धुमिल हुने गरेको छ । अर्काको देशमा बसेर हामीले नेपालको जस्तै पारा त्याग्न सक्नुपर्छ । जहाँ आफ्नो कामलाई पूजा र कार्यस्थललाई पवित्र मन्दिर मानिन्छ, सुख त्यहीँ भेटिन्छ र सन्तुष्टि पनि, मैले जानेको यही हो, यत्ति हो, आगे जो विचार ! ***
(कुराकानीमा आधारित)