जब ‘पृथ्बी पर्याबरण दिवस’ का बारेमा सुक्ष्म किसिमले चर्चा गर्न थालिन्छ तब के महसुश हुन थाल्दछ भने जनताको नजरमा हाम्रो पृथ्वी कत्तिको दोयम हुन पुग्दोरहेछ । यो पृथ्वी मात्र एउटा यस्तो ठाउँ हो, जहाँ जीबन आज पनि संभव छ । तर जब कुरा पृथ्बीलाई बचाउने र सुरक्षित तुल्याउने आउँदछ, त्यति बेला बिद्वानले पनि अन्यत्रै हेर्न र मुख मोड्न थालेको देखिन्छ । बास्तवमा आज मानब जातिको अज्ञानता र पृथ्वीको निर्मम दोहनले हामीलाई यस्तो संघारमा ल्याएर खडा गरिदिएको छ यसमा सुधारको आरम्भ के कसरी, कस्तो तरिकाले गर्ने हो ? तत्काल र आजैदेखि यो बाहेक अरु केही सोच्ने र रमिता हेर्ने समय नै छैन । पर्याबरणसँग हाम्रो शाश्वत सम्वन्ध रहँदै आएको हो । जीवन र पर्याबरण एक अर्काका पूरक हुन् । पर्याबरण बिना जीवन संभब नै छैन । शुद्ध पानी, पृथ्वी र हावा हाम्रो स्वस्थ जीवनका लागि प्राथमिक र आधारभूत शर्त हुन् । जीवन र पर्याबरणको सह-अस्तित्वको यस्तो कुनै अर्को उदाहरण नै छैन । आखिर यो संकट हाम्रो बीचको सम्वन्धमा आएको असन्तुलनको परिणाम नै त हो । राम्रोसँग यस अमूल्य धरोहरलाई सम्हाल्नुको साटो सरकारी, गैर सरकारी बिभिन्न किसिमका आयोजनाहरु सञ्चालन हुने गर्दछन् ।
हामीले पृथ्वी र पर्याबरण बचाउने संकल्प पनि लिने गर्दछौं र बृक्षारोपणदेखि लिएर नदीनालाहरु, तलाउ तथा आफ्ना वरिपरीको सरसफाई जस्ता कार्यक्रमहरु पनि आयोजना गर्ने गर्दछौं । जन जागरुकता अभियान, सभा, गोष्ठी र सम्मेलनहरुको पनि आयोजना गर्ने गर्दछौं । तर दीगो र टिकाउ कुनै पनि हुँदैन । पृथ्वीलाई बचाउनका लागि हामीले मूख्यरुपमा पाँच बिन्दूहरुमा सर्बाधिक ध्यान दिनु अत्यावश्यक छ । पहिलो कुरा, के भने पृथ्बी एउटा गतिशील ग्रह हो, यस नाताले यसको गतिशीलतालाई बुझ्नुपर्ने हुन्छ । उदाहरणका लागि पहाड र पठार बन्ने प्रकृया । भन्नुको अर्थ के भने हामीले पृथ्वीको हरेक रुप, हरेक गतिबिधिलाई बुझ्नुपर्दछ । दोश्रो कुरा, सुदूर संबेदी बिधि अर्थात् ‘रिमोट सेन्सिङ’ बिधि अपनाएर पृथ्बीका हरेक बिबिधताहरुलाई अध्ययन गर्नुपर्दछ । तेश्रो कुरा, जलवायु परिबर्तनलाई बुझ्नु आवश्यक छ । उदाहरणका लागि यदि सरकारले घरेलु बिमानहरुमा यस्तो उपकरण लगाओस् कि जसबाट उपरी सतहको बायुमण्डलको मौसमका बारेमा जान्ने अबसर मिलोस र त्यसबाट प्राप्त तथ्यांकको उपयोग राम्रोसँग गर्न सकियोस्, सकिन्छ । चौथो कुरा, खाद्य सुरक्षाको कुरा हो । हामीलाई अन्न पृथ्बीबाटै प्राप्त हुन्छ । आज जस्तो किसिमले जनसंख्या बढिरहेको छ त्यसबाट आउँदा दिनहरुमा पृथ्बीमाथि निसन्देह अत्याधिक दबाब पर्न जानेछ । यो बढ्दो जनसंख्यालाई हामीले त्यतिबेला मात्र पोषकता दिन सक्तछौ जब पृथ्बी रहीरहेको हुन्छ । एउटा अर्को के तथ्य पनि छ भने बिश्वमा शाकाहारी भोजन गर्नेहरु बहुतायत छन् । यस हिसाबले पृथ्बीमा शाकाहारी भोजन उत्पादन गर्न पनि निकै ठूलो चूनौती छ । हामीले यस बिन्दूमा पनि ध्यान केन्द्रित गर्नैपर्ने हुन्छ । पाँचौ र अन्तिम कुरा के भने जल हो । हामीलाई पानी पनि पृथ्वीबाटै प्राप्त हुन्छ । हालैका दिनहरुमा पानी कस्तो नराम्रो किसिमले प्रदुषित हुन पुगेको छ यो हरेकको संज्ञानमा छ । प्रदुषणलाई कम गर्ने, पानीका मात्रा र गुणस्तरियतामा पनि दृष्टि पुर्याउन पर्ने जिम्मेवारी समेत बहन गर्नुपर्ने आवश्यकता छ । यी दुबै कुरा बास्तवमा एकदमै आवश्यक कुरा हुन् ।
यी माथि उल्लेख गरिएका सबै महत्वपूर्ण बिन्दूहरुलार्इ केन्द्रमा राखेर अन्तर्राष्ट्रिय बिज्ञान परिषद (इक्क्स) ले भबिष्यमा पृथ्बीलाई सुंरक्षित तुल्याउनका निमित्त गम्भीरतापूर्वक बिचार मन्थन गरिरहेको छ । यो परिषदले प्रमुखता के कुरालाई लिएको छ भने कसरी यो पृथ्बीलाई दीगो र टिकाउ उपयोग गर्न लायक तुल्याउने हो । यसमा पनि बिचार गर्दा तीनवटा कुरा अत्यन्तै महत्वपूर्ण छन् । पहिलो के भने प्राकृतिक बिपत्तीलाई कम गर्ने । दोश्रो कुरा ‘मेगा सिटी’ मा बढ्दो दबाबलाई कम गर्ने बारेमा बिचार बिमर्श गर्ने । हामी स्मार्ट सिटीको कुरा त गर्न थालेका छौ तर ‘स्मार्ट भिलेज’ लाई किन महत्व दिन खोजिरहेका छैनौं । यसका अतिरिक्त हामीले आज ‘स्मार्ट एग्रीकल्चर’ अर्थात ‘स्मार्ट कृषि’ लाई पनि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता अझ बढेको छ । यो कुरा एकदमै स्पष्ट छ कि हामीले ग्रामीण क्षेत्रलाई बिकसित गर्यौं भने सहर र महानगरहरुमा पर्ने जनसंख्याको दबाब पनि स्वभाबतः कम भएर जान्छ ।
अन्तिम र तेश्रो महत्वपूर्ण कुरा के छ भने हामीले आजीबिकाका लागि बैकल्पिक साधन बिकसित गर्नु एकदम आवश्यक छ । उदाहरणका लागि नयाँ प्रजातिका बालीनाली । साथै हर्बल (जडीबुटी) बोटबिरुवाहरुलाई बढावा दिइनुपर्दछ भन्ने निचोडमा पनि हामी पुगिहाल्नु पर्दछ । परम्परागत खेतीपाती, चीज बस्तुहरुलाई पनि ‘इकोसिष्टम’ अर्थात ‘पारिस्थिति’ सँग जोडेर लैजानुपर्दछ । हाम्रा सबै चाड पर्बहरु, प्रकृति र पर्याबरणसँगको तादाम्यता राखेर बनेका छन् । त्यसैले हामीकहाँ प्राचीन परम्परादेखिनै नदी, तलाउ, बृक्ष, पृथ्वी सबैको पूजा गर्ने अर्थात् तिनलाई सुरक्षित र सम्मानित राख्नुपर्दछ भन्ने जुन भाव रहेको छ त्यसलाई बिकसित र आधुनिक तुल्याईनु आवश्यक छ । तर अलिकति पनि पढेलेखेको आधुनिक समाजले यी जनताका असल परम्परालाई रुढीवादिताको कल्की भिराएर फोहोर फाल्ने ढ्वाङमा फालिदिने गरेका छन् । आज यी फोहोर मैलाका निमित्त हामीले ठूलो मूल्य चुकाउनुपर्ने स्थिति बनिरहेको छ । त्यसैले आज हामीले पर्याबरण जोगाउन र बिग्रेकोलाई सच्याउन चौतर्फीरुपमा ध्यान दिनु अत्यावश्यक भईसकेको छ । पर्याबरण बचाउनु आफैलाई बचाउने कार्य हो भन्ने कुरा अब पनि बुझिदैन भने त्यसले संकट थप्ने बाहेक अरु हुँदैन र हाम्रो अस्तित्व बिलुप्त हुने अँध्यारो सुरुङ्गमा हामी अर्थात मानब समुदाय फँस्ने छ । अन्तर्राष्ट्रिय पृथ्बी दिबस पनि केवल एउटा औपचारिकतामा सीमित हुन पुग्नेछ ।
आज हामी बिश्वका ७ अर्ब ५० करोडभन्दा बढी मानिसहरुमध्ये केही करोड मानिसहरुले पृथ्बीलाई नराम्रोसँग जथाभाबी दोहन गरिरहेका छन् । यसको मनपरीसँग दुरुपयोग गरिहेका छन् र पर्याबरण र पारिस्थितिलाई नराम्रोसँग बिगारिदिएका छन् । उनीहरुको कहिले पूर्ण नहुने ‘अगस्ति लोभले’ प्रकृतिको अधिशासित नियम (गभर्निङ्ग ल अफ नेचर) निरन्तर उल्लंघन गर्दै आएको छ । यसो गर्नबाट उनीहरुलाई कडाईका साथ रोक्नैपर्दछ । यो सम्पूर्ण मानब समुदाय लगायत सम्पूर्ण प्राणी तथा बनस्पति जगतको अस्तित्वको गम्भीर प्रश्न हो । आज जुन बाढी, पहिरो, खडेरी, खण्ड बृष्टि, अतिबृद्धिको मानब सुमदायले सामना गर्नुपरिरहेको छ जुन नयाँ नयाँ रोगहरुको सामना गर्नु परिरहेको, जुन जलवायु परिबर्तनलाई झेल्नु परिरहेको अनि तापक्रम सैहृय सीमाभन्दा बढ्दै गरहेको छ त्यसले गर्दा मानब समुदाय त्यसमा पनि मुठ्ठीभर मानिसहरु नै दोषी छन् । यो पृथ्बी र मानब समुदाय माथिको शोषण, एकाधिकार र अन्यायकै प्रत्युत्पादन हो भन्ने प्रमाणित भइसकेको छ । त्यसैले आज शोषणमा आधारित शासन ब्यवस्थाका बिरुद्ध बिश्वब्यापीरुपमा सचेत र संगठित आवाज उठाउने बाहेक जीबन र सुन्दर भबिष्यका लागि अरु कुनै बिकल्प छैन । क्योटो प्रोटोकलदेखि पछिल्लो पेरिस सम्झौतासम्मका कुराले पनि यही सबुत प्रमाण दिइरहेका छन् । केही शक्ति सम्पन्न देशहरुले प्रकृतिमाथि मच्चाएको शोषण र दोहनको पाप पृथ्बीका सारा निर्दोष मानिसहरुले किन ब्यहोर्ने हो ? यसको जवाफ पृथ्वीभरिका मानिसहरुले खोज्नै पर्दछ । ***