बटारेः उ अलि छुच्चो छ । हुँदाखाँदैको व्यवसाय अरुलाई नै थमाएर जापान रवाना भएका । जापानी रहनसहनमा अझै बानी परिसकेको छैन । भाषा त्यही इरास्याईमासे (आउनुहोस्, स्वागत छ), आरिगातोउ गोजाईमास (धन्यवाद) अनि इसोगासिई देस (व्यस्तता छ) भन्न जानेका छन् । भाषा पढेर जात्रै प्रगति गरुँला भन्ने इच्छा पनि छैन । दुई घण्टाको ब्रेकमा फेसवुक चलाउन मै व्यस्त हुन्छन् । आएको एक वर्ष पत्तो नपाई वित्नै लाग्यो ‘मिलिक्कै’ । नेपाल (घरतिर) फोन गर्यो भने बाबुले साहुको ऋणको कुरा गर्छन्, श्रीमती ‘म जापान कहिले आउने ?’ भनेर सोधेरै हैरान गर्छिन् त केटाकेटी अनेकथरी माग राख्छन् ।
रनेः उ जापान आएको पाँच वर्ष भयो । एक पटक पनि नेपाल फर्कन पाएका छैनन् । जापान आउँदा आफू आएको रेष्टुरेन्ट नै बन्द भैसकेको थियो । यहीं भएको आफन्त र भनसुनकै भरमा उनले यो जागीर पाएका । दुकानको सरसफाई, बटारेको रेखदेखदेखि लिएर सम्पूर्ण देखभाल गर्ने जिम्मा उनैको हो ।
साहुजीः उनी एक होनहार समाजसेवी हुन् । समाजसेवी भएकै कारण आफ्नो भन्दा अरुकै लागि बढी समय खर्चिन्छन् । रेष्टुरेन्ट खोलेको गोडा छ‘एक वर्ष भयो । व्यवसायमा समय दिन खासै भ्याउँदैनन् । त्यसो भन्दाभन्दै पनि उनी हरेक दिन एक पटक भने दुकानमा पुगेकै हुन्छन्–हरेक दिनको हिसाव बुझ्न । रेष्टुरेण्ट जानुभन्दा अगाडि फोन गर्छन् रने अथवा बटारेलाई । सञ्चो बिसञ्चो सोध्दैनन् उनी । केवल सोध्छन् त ‘आज कति आए ?’ । वाहिरफेर व्यस्त भएनन् भने दुकानमै बसेर फोनमा व्यस्त हुन्छन्–देशको लागि, समाजको लागि यो गर्नपर्छ त्यो गर्नपर्छ । सायद टोकियो बसेर सिंहदरवार चलाउँछन् उनी।
भित्ताको घडीको सुई नटेरेरै ११ बजेतिर सोझिंदै थियो । बटारेलाई ११ बजेदेखिको लञ्च खोल्ने चटारो हुने नै भयो । ठीक त्यति नै बेला गह्रुँगो झोला बोकेर अल्याङ–फल्याङ शैलीमा साहुजीको रवाना भयो । साहुजीले काउन्टर सीटमा झोला टेकाए । पुलुक्क उता भित्रतिर नियालेर नजिकैको कुर्सी तानेर टुसुक्क भारी ज्यान विसाए । अनि निरसिलो चेहरा बनाउँदै भन्यो–‘लन्च खोल्ने बेला भा’हईन र ?’ बटारे हतार गर्दै लन्च खोल्न ढोकातिर के सोझिएका थिए, साहुजीको ओठ खुल्यो,–‘एक कप मीठो चिया खाउँ न, थोरै मरिच राखेर’ बटारेको मनमनै मनोवाद बोल्छ–‘टाईम न कुटाईम के चिया खान मन ला’होला ।’ तैपनि रोजगारदातालाई मुखले हस भन्नै पर्यो–‘हस्’ । तन्दुरमा कोईला थप्दै गरेको रने, साहुतिर पुलुक्क हेर्यो अनि फेरि तन्दुरमै घोप्टिएर थप कोईला थप्न थाल्यो । बटारेले चिया पकाउने भाँडो मस्काउँदै मनमा कुरा खेलाए–‘यी साहुजी के भा’होलान ? ढावा कसरी चलेको छ मतलव नै छैन । विहान आयो एक कप चिया खायो अनि दिनभरी काँ–काँ हराउँछन् बेलुकी त्यही हिसावकिताव बुझ्न आउँछन् । जहिले मुखमा उही–‘सेल भएन, सेल भएन’ । सेल भएन भनेर स्टाफलाई कराउने बस यत्ति हो काम । यसो लाईमिली गर्नु, यसो गरौं, उसो गरौं भनेर सल्लाह गर्नु अनि पो हुन्छ विजनेश । हामी दुईको भरमा काँ चल्छ दुकान ?’ रने तन्दुर सल्काएर नानको पेडा गन्न थाले–‘एक, दुई, तीन…’ । तुरुन्तै बटारेमाथि खनिन्छ,–‘पेडा यतिले पुग्छ त बटारे ?’ बटारे उत्तर दिन्छ–‘नपुगे बनाम्ला नि दाई ।’ रनेले अनुहारको भंगी विगार्दै बटारेलाई तेर्सो आँखाले खिस्याउँछ–उईस बनाईस् । बटारे पनि फिस्स हाँस्छ अनि साहुजीलाई एक कप चिया दिन्छ, रनेलाई एक कप अनि आफूलाई आधिकप कुनापट्टि लुकाउँछ । चिया पकाएको भाँडो त्यसै राखेर हात धुन्छ अनि टिसर्टको तल्लो भागले हल्का पुछेर लन्च खोल्न दौडिन्छ,–‘ओपन’ ।
एकदुई, दुईतीन गर्दै पाहुनाहरु छिर्न थाल्छन् । बटारे चर्को स्वरमा चिच्याउँछ इरास्याइमासे (स्वागत छ), हाई दोउजो (बस्नुहोस्), उसले जानेकै यत्ति हो । बटारे पानी लगेर ग्राहकको टेवलटेवलमा राखिदिन्छ । एक पाहुनाले केही सोध्न खोज्छ, ‘सुमिमासेन’ (सुन्नुस् त) । सायद आजको करी के छ भनेर सोध्न होला ? तर बटारे पाहुनातिर नगई किचनमा छिर्दै रनेलाई सुनाउँछ, ‘दाई पाहुनाले बोलाएका छन् ।’ बटारेले राम्ररी अर्डर लिन सक्दैन न त किचनमा पकाउन नै । रने कहिले भित्र, कहिले बाहिर । सानै छँदा विद्यालयमा पोखरी भित्र पोखरी बाहिर खेल खेलेको सम्झना हुँदो हो । बटारेसँग काम गर्न थालेदेखि कहिले किचन भित्र, कहिले किचन बाहिर । शनिवारको दिन केही व्यस्तता देखेपछि साहुजी केही सहयोग गर्न खोजे झैं गर्छन । उसले रनेलाई सोध्छ, ‘हिगावारी के हो ?’ (आजको स्पेशल करी के छ ?) । रनेले उत्तर दिन नपाउँदै बटारे कुर्लिन्छ,–‘चिकन साग’ । बटारे बीचमा बोलेको देखेर साहुजीले उर्दी जारी गर्छ, ‘गएर अर्डर लिअ न त ?’ बटारे अलमलिन्छ । रनेले वातावरण बुझेर भन्छ, ‘भो, भो यहाँ सलाद लगा’ । बटारेले अर्डर लियो भने गडवडी गराउँछ, आमाकुची–खाराकुची, खाराकुची–च्युउखारा, खाराकुची–फुचुउ । साहुजीले हेपेरै बोल्छ–अर्डर लिन सक्दैन अझै यल्ले ? बटारे मनमनै आफैले नसुन्ने गरी जवाफ दिन्छ, ‘सबै सक्न त तलव पनि गतिलै दिनपर्यो नि ! पाँच मान दिया’छ फुर्ती लाउँछ । नेपाली पसलको खाना पकाउन नै समय लाग्ने । सलाद, ड्रिङ्क, भात, नान, तन्दुरी, कवाव अनि करी । करीमा पनि नपिरो, पिरो, हल्का पिरो, बढी पिरो, बेस्सरी पिरो । पाहुनाको इच्छा अनुसारको खाना तयार पारेर खुवाएर नपठाएसम्म पाहुनाले केही सोध्ने हुन् कि भन्ने पीरले बटारेको मन भित्रभित्रै बटारिन्छ । कहिलेकाहीं निद्राकै बेला इरास्याइमासे भन्छ ऊ । त्यो सुनेर रने एक्लै हाँस्छ । निदमै भए पनि अभ्यास गर्दैछ केटोले । जापान आउनु अघि यी दुई रने र बटारेको चिनजान थिएन । बेग्लाबेग्लै गोठबाट ल्याएर दाईएका दुई वहर झैं नारिएर काम गरेका छन् अहिले । केही साहुजीको लागि, केही आफ्नो र परिवारको सुदूर भविष्यको लागि । कामकै शिलशिलामा भेट भएपनि दुइभाइको प्यार जमेको छ आजभोलि । विदा त छँदैछैन । पोहोर साल दशैंमा अाधि विदा भएको सम्झना छ रनेलाई । बटारे अाएपछि व्रेक तथा फुर्सदको बेला दुईभाइ दुःखसुख साटासाट गर्छन् । आ–आफूले बुनेको भविष्यको सपना एक अर्कालाई सुनाउँछन् ।
एकैछिन सहयोग गरे झैं गरेर साहुजी मिटिङ छ भन्दै बाहिरिए । रनेको बोझ थपियो । उसको बोझ कम गर्न र सहानुभूति दिन बटारे कहिले यता दौडिन्छ कहिले उता दौडिन्छ । उसको परिणामरहित चटारोले आफूलाई खासै राहत दिंदैन भन्ने रनेले पनि नबुझेको होइन तर के गर्ने यसैमा त अडेको छ दुईको प्यार । फुर्सदको समय कति छिटो सकिन्छ । रने र बटारे फेरि बेलुकी डिनरको लागि तयारी गर्न हस्याङ्गफस्याङ्ग गर्छन् । डिनरमा खासै मान्छे आउँदैनन् । मान्छे आएपनि व्यस्त हुने कसरी खुवाएर पठाउने भन्ने पीरै हुने, नआए पनि व्यापार भएन कसरी तलव खाने भन्ने पीरै हुने । जापान आएदेखि नै भिसा, भाषा अनि काम र काम गर्ने ठामले पिरोल्न छाडेको छैन । भिसा लगाउने दिन आउँदै गर्दा साहुजीले डकुमेन्ट दिन्छ कि दिंदैन भन्ने पीर, डकुमेन्ट पाएपछि अध्यागमनले भिसा दिने हो कि होइन भन्ने पीर अनि भिसा पाएर पनि साहुले बेलामा तलव दिने हो कि होइन भन्ने पीर । सँधै पीरैपीर । यस्तैयस्तै सोच्दै रने गुनगुनाउँछ,–‘जिन्दगीमा के सारो पीरैपीर, जता जान्छु उहीं देख्छु भीरैभीर, जापान आएर, साहुको ऋण खै क्यारी तिर्ने हो ८ मान खाएर । फोनको घण्टीले उसको मौनता भंग गरिदिन्छ । फोन साहुजीको रहेछ, सोधनी हुन्छ –‘आज कति आए ?’ रनेले जवाफ दिन्छ आउलान नि सर । बटारे रनेलाई हेर्दै खिस्याउँछ अनि आफैले आफैलाई उल्टो लोप्पा खुवाउँछ–उईस् ।***
(यस कथाका घटना तथा पात्र काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)