Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

प्लास्टिक अंग्रेजी शब्द हो । यसलाई नेपाली भाषामा पगाल्न सकिने एकथरिको लचकदार पदार्थ भन्न मिल्छ । याद कतिको गर्नुभएको छ ? करिव करिव तपाईको दैनिक जीवनलाई प्लास्टिकले पूर्णरुपले घेरेको छ । अहिले घुम्ने कुर्चीमा बस्नुभएको छ ? हेर्नोस त प्लास्टिकले बनेको छ । कम्प्युटर अगाडि छ ? यदी डेक्सटप हो भने किबोर्ड, सिपियु, चार्जर सबैमा प्लास्टिक छ ।

खुट्टामा लगाउने जुत्तादेखि आकाशमा उड्ने बोइंग जहाजमा समेत प्लास्टिकको प्रयोग हुन्छ । प्लास्टिक प्रयोगमा कुनै ग्याप नै छैन । अहिलेको आधुनिक युगमा प्लास्टिकको प्रयोगले मानव जीवनलाई सरल बनाईदिएको छ ।

प्लास्टिक के हो ? कसरी बन्छ प्लास्टिक ?
प्लास्टिक कृत्रिम जैविक यौगिक हो अथवा सेन्थेटिक अर्गानिक कम्पाउण्ड हो । थोरै परमाणविक मास भएको कार्वन, हाइड्रोजन, अक्सिजन, हेलोजन भएका अर्गानिक कम्पाउण्डलाई उत्प्रेरकको सहायताबाट पोलिमराईज गरेर बिशाल परमाणविक मास भएको लचकदार पदार्थको कृत्रिम संश्लेषण गरेपछि प्लास्टिक बन्छ । प्लास्टिक एक किसिमको लचकदार पोलिमर (बहुलक) हो । यो लचकदार हुने भएकोले प्लास्टिकलाई चाहिएको आकारमा सजिलै परिबर्तन गर्न सकिन्छ । प्लास्टिकको यो गुणलाई प्लास्टिसिटी भनिन्छ ।

प्लास्टिक किन कुनै पातलो, कमसल, सारै लचिलो र कुनै धेरै बाक्लो, बलियो अनि कडा हुन्छ ?
प्लास्टिक धेरै प्रकारको हुन्छ । प्लास्टिक बनाउंदा प्रयोग हुने अर्गानिक कम्पाउण्डमा भएको अणु र पोलिमराईज गरेर दिने अन्तिम आकारले प्लास्टिकको भौतिक गुणको निर्धारण गर्छ । जस्तै थोरै मास भएको अर्गानिक कम्पाउण्डलाई अत्यधिक पोलिमराईज गरेर बिशाल मास भएको प्लास्टिकको निर्माण गरियो भने यस्तो खालको प्लास्टिक बाक्लो बलियो र कडा हुन्छ । यदि अर्गानिक कम्पाउण्डलाई सीमित समयसम्म पोलिमराईज गरेर थोरै परमाणविक मास भएको प्लास्टिकको संश्लेषण गरियो भने यस्ता प्लास्टिकहरु नरम र कमसल हुन्छन् । एक लाईनमा लेख्नुपर्दा धेरै मास भएको प्लास्टिक सामान्यतया: कडा र थोरै मास भएको प्लास्टिक सामान्यतया: नरम हुन्छ । तर यस्तो किसिमको भौतिक गुण पोलिमर कस्तो किसिमको अणुले भनेको छ त्यसमा पनि भर पर्छ ।

पोलिमराईज गरेर बनाईएको बेकलाईट पहिलो प्लास्टिक हो । यो प्लास्टिक सन् १९०७ मा बेल्जियमका रसायनशास्त्री लियो बेकलाण्डले अमेरिकामा आविष्कार गरेका हुन् र उनले नै प्लास्टिक नाम दिएका हुन् ।

सामान्य जनजीबनमा प्रयोग हुने प्लास्टिक र यसलाई सजिलै बुझ्न सकिने कुनै उदाहरण छ ?
यस्तो उदाहरण प्रशस्त छ । यहाँ दुईवटा उदाहरण प्रस्तुत गर्दैछु । पहिलो उदाहरण: तपाईहरुले भन्ने पोलिथिनको प्लास्टिक अथवा पोलिथिनको पाईप । तपाईहरुले माग्ने पनि पोलिथिनको प्लास्टिक नै हो । पसलवलाले बुझ्ने पनि पोलिथिन नै हो । तर तपाईले प्लास्टिकको नाम गल्ति उच्चारण गर्नुभएको छ । यो पोलिथिन होईन । यो पोलिईथिन हो । किनकी ईथिन भन्ने ग्यासबाट पोलिईथिनको आविष्कार भएको हो । ईथिन भन्ने ग्यास अथवा अर्गानिक कम्पाउण्ड जसमा दुईवटा कार्बन र चारवटा हाइड्रोजन हुन्छ र मास जम्मा २८ दशमलव ०५ ग्राम पर मोल हुन्छ । यसलाई पोलिमराईज गरेर हजारौ गुणा बिशाल मास भएको ठोस पदार्थमा परिबर्तन गरेर पोलिईथिनको संश्लेषण गरिन्छ । हरेक वर्ष करिव करिव ८ करोड टन पोलिईथिन संसारभरिबाट उत्पादन हुन्छ ।
अर्को उदाहरण, पीभीसी पाईपलाई लिन सकिन्छ । तपाईले भन्ने पीभीसी पाईप चाही सहि उच्चारण गर्नुभएको छ । पी (पोलि) भी (भाईनिल) सी (क्लोराईड) अथवा भाईनिल क्लोराईड (यसमा कार्बन हाइड्रोजन र क्लोरिन हुन्छ) लाई पोलिमराईज गरेर पीभीसी पाईप बनाईन्छ । पीभीसी पाईपको प्रयोग धेरै ठाउंमा हुन्छ ।

प्लास्टिकलाई के ले बिगार गर्छ ?
प्लास्टिकलाई चिसो पानीले कुनै असर गर्दैन । खाल्डो भित्र परेर माटोले पुरिएको प्लास्टिक धेरै वर्षसम्म जस्ताको तस्तै रहन्छ । माटोमा हुने सूक्ष्म जीवले प्लास्टिकलाई आक्रमण गर्दैन त्यसैले प्लास्टिक कुहिदैन । प्लास्टिकलाई माटोमा पुर्नु भनेको माटो फोहोर बनाउनु हो। आगो अथवा तातो बस्तुले प्लास्टिकलाई असर गर्छ र यसको आकारलाइ बिगार्न सक्छ । नरम प्लास्टिकलाई घामले पनि बिस्तारै गलाउन सक्छ, तर कडा खालको प्लास्टिकलाई खासै घामले पनि असर गर्न सक्दैन ।

के प्लास्टिकहरु हानिकारक हुन्छन ?
यदि प्लास्टिक बनाउंदा पोलिमर मात्र प्रयोग गरिएको छ भने यो हानिकारक हुदैन । तर प्लास्टिकलाई सुन्दर, रंगीचंगी, लचिलो, चम्किलो र प्रयोगको आवश्यकता अनुसारको आकारमा परिवर्तन गर्नको निम्ति प्लास्टिक बनाउंदा थप केमिकलहरुको प्रयोग गरिन्छ । अब यस्ता किसिमको प्लास्टिक हानिकारक हुन्छ ।

उदाहरणका लागि केटाकेटीहरुले खेलाउने प्लास्टिकका रंगीचंगी गुडिया (खेलौनाहरु), केटाकेटीहरुलाई दुघ खुवाउने प्लास्टिकको कमसल बोतल, मिनिरल वाटरको बोतल प्रयोग गर्न जानिएन भने हानिकारक हुन्छ । अचेल बजारमा पाईने कमसल प्लास्टिकको कप, जसमा तातो चिया, कफी र दुध पिउन प्रयोग हुन्छ यो चाही अति नै हानिकारक हुन्छ ।

यो कसरी हानीकारक हुन्छ ?
यस्ता किसिमको कमसल र रंगीचंगी प्लास्टिकमा थालेट र बिसफेनोल (ए) नामक केमिकलको प्रयोग गरिएको हुन्छ । जब यस्ता प्लास्टिक तातो अथवा प्रचण्ड घाममा पर्छ अनि बिस्तारै थालेट र बिसफेनोल (ए) प्लास्टिक बाट चुहावट हुन्छ । जस्तै तपाईले केटाकेटीहरुको टिफिन बक्समा तातो अम्लेट राखेर आफ्नो बाबु नानीले तातो खाऊन भनेर छोपेर पाठाईदिनुभयो भने यो तातोले गर्दा प्लास्टिकबाट बिस्तारै थालेट र बिसफेनोल (ए) तपाईको बाबु नानीको टिफिनमा प्रवेश गर्छ अनि केटाकेटीले खाजा संगै थालेट र बिसफेनोल (ए) रसायन पनि खान्छन् ।
सबैभन्दा डरलाग्दो समस्या त अचेल चोक चोक, घुम्ती, मेला, सपिङ मल र अस्पतालको चमेनागृहमा तातो चिया, तातो दुध, तातो पानी र तातो कफी कमसल प्लास्टिकको कपमा बेच्ने गरिन्छ । अब हेर्दा हेर्दैको प्लास्टिक तातो तरल पदार्थ हालेपछि लचक-लचक र पग्लने अवस्थामा पुग्दा पनि ग्राहकहरुले पिधमा समातेर भए पनि पिउने गरेको प्रशस्त देखिन्छ । अब आफै सोच्नुहोस यस्ता प्लास्टिक प्रयोग गर्दा तातोले चुहावट भएको थालेट र बिसफेनोल (ए) कति पिउनुभयोहोला ? यस्ता किसिमको कमसल प्लास्टिकको कप चिसो पानी पिउनको निम्ति बनाईएको हो, तातोको लागि होईन । भ्रममा नपर्नुहोला तातो तरल पदार्थ पिउनका लागि कागजको कप हुन्छ त्यसमा पिउंदा कुनै असर गर्दैन ।

बिसफेनोल (ए) र थालेटले के असर गर्छ ?
बातावरणीय स्वास्थ्य दृष्टिकोण अनुसन्धान पत्रमा प्रकाशित लेखअनुसार बिसफेनोल (ए) र थालेटले गर्ने असरहरु:
१. मानब मस्तिष्कको आकारप्रकारमा क्षती गर्छ
२. क्रोध र तनाब पैदा गर्छ
३. शरीरमा बोसोको रासायनिक परिवर्तनमा कमी आउंछ
४. रोग संग लड्न सक्ने शक्तिमा कमी हुन्छ
५. प्रजनन शक्ति कमजोर बनाउंछ
६. प्रोस्टेट क्यान्सर गराउंछ
७. प्रोस्टेट ठुलो हुन्छ र शुक्राणु उत्पादन कम हुन्छ
८. केटाकेटीहरुको एकाग्रतामा क्षती गर्छ
९. गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर गराउंछ
१०. पाचनथैलीमा इन्सुलिनको मात्र बढाउंछ

कसरी सुरक्षित रहने त ?
१. बच्चाहरुको टिफिन राख्ने प्लास्टिकको बट्टा किन्दा अलि कडा र राम्रो खालको किन्ने
२. धेरै तातो खाने कुरा बच्चाहरुको टिफिन बट्टामा नराख्ने (मन तातो राख्दा फरक पर्दैन)
३. किचेनमा प्रयोग गर्ने कमसल खाले प्लास्टिकको बट्टामा तातो दाल, तरकारी अथवा तातो खाने कुरा नराख्ने
४. मिनरल वाटरको बोतलमा उमालेको तातो पानी फिटिक्कै नराख्ने
५. तपाईको बच्चाले प्लास्टिकको बोतलमा दुघ खान्छ भने मन तातो भएपछि मात्र दुध बोतलमा राख्ने
६. प्लास्टिकको कपमा बिर्सिएर पनि तातो चिया, कफी दुध नपिउने
७. यदि घरमा माईक्रो ओभन छ भने खाना तताउंदा कमसल प्लास्टिक प्रयोग नगर्ने
तपाईहरुलाई थाहा छैन होला, अमेरिका र यूरोपमा सन् २००९ देखिनै बिसफेनोल (ए) र थालेटको प्रयोग गरिएको प्लास्टिकको खेलौना र बच्चाहरुको लागि प्रयोग गरिने टिफिन बट्टाहरुमा प्रतिबन्ध लागिसकेको छ । तर दूर्भाग्य भन्नुपर्छ नेपाल जस्तो बिकासोन्मुख मुलुकमा यो सम्बन्धि जनचेतनाको अभाव छ । खुलमखुल्ला चोक चोकमा चिसो पानीको प्रयोग गर्न बनाईएको प्लास्टिक कपमा तातो दुघ, कफी र चिया हालेर बेचिन्छ । दु:खको साथ भन्नुपर्दा यता हस्पिटलको बेडमा बिरामी सुतिरहेको हुन्छ, उता हस्पिटलको चमेनागृहबाट बिरामीलाई खुवाउने सय डिग्री सेलसियस भन्दा धरै तापक्रममा उमालेको दुध कमसल प्लास्टिकको कपमा राखेर बेचिन्छ । कलिला केटाकेटीहरुलाई तातो टिफिन कमसल प्लास्टिकको बट्टामा छोपेर पठाईने गरिन्छ । यसलाई हाम्रो चेतनाको दूर्भाग्य भन्दा फरक पर्दैन । ***

(लेखक डा. धिताल ग्रीन सुक्ष्म-उत्प्रेरक अनुसन्धान केन्द्र  (रिकेन) जापानमा कार्यरत बिशेष बैज्ञानिक हुन्)

तपाईको प्रतिक्रिया