काठमाडौं – एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार पार्नेगरी गृहकार्य अघि बढाएका छन् । पार्टी एकताबारे विभिन्न टिका-टिप्पणी आईरहँदा पार्टी एकता संयोजन समिति नै दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउने टुंगोमा पुगेको छ । यसै सन्दर्भमा केन्द्रित भई माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटासँग माओवादी र एमालेबीचको एकता प्रक्रिया, एकतापछि पार्टीको नीति तथा नेतृत्व र सरकार गठनमा भइरहेको ढिलाई लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सचिवालय सदस्य सापकोटासँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः
एमाले र माओवादी केन्द्र एकीकरणको एकता प्रक्रिया कहाँ पुग्यो ?
दुई पार्टी एकता प्रक्रिया त्यतिबेलै सुरु भएको भएको हो, जतिबेला दुई पार्टीका अध्यक्ष सम्मिलित एकता संयोजन समिति बन्यो । दुई पार्टी एक हुने भएपछि नै सँगै चुनावमा जाने निर्णय भयो । त्यो चुनावमा वाम तालमेलका लागि मात्रै थिएन, यदि त्यस्तो हुन्थ्यो भने पार्टी एकता संयोजन समिति नै बन्दैनथ्यो हामीले पार्टी एकता गरेर जाने टुंगो गरेरै चुनावमा जाने निर्णय गर्यौं र यो उचाई पनि हासिल गर्यौं । संयोजन समितिको बैठकले यसमा थप उर्जा थपिदिएको छ । कार्यदल नै गठन गरेर एकतालाई तिब्रता दिइएको छ, अव औपचारिक प्रक्रिया पूरा गरेर घोषणा मात्र गर्न बाँकी हो । म के विश्वास दिलाउन चाहन्छु भने, नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार हुन्छ ।
वैचारिक सांगठनिक कार्यदल बनाएर एकता प्रक्रियालाई टुंगो लगाउने तयारी छ भन्ने सुनिन्छ, एकीकृत पार्टीको सिद्धान्त के हुन्छ अब ?
प्रथमतः जुन सिद्धान्त लिएर यी दुई पार्टी अघि बढिरहेका छन्, तिनै सिद्धान्तको जगमा दुई पार्टी एकीकृत हुने हो । माओवादीले मान्दै आएको २१ औं शताब्दीको जनवाद र एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद फ्यूजन गरेर अघि बढ्न सकिन्छ । यसमा दुवै दल तेस्रो धारको सिद्धान्त बनाएर जानुपर्ने देखिन्छ । मुलतः देश जुन हिसाबले अघि बढिरहेको छ, यसको भौतिक परिस्थितिसमेतलाई ध्यानमा राखेर हामी हाम्रा कार्यदिशा, नीति र सिद्धान्त तय गर्र्छौं । सोहीअनुरूप अघि बढ्छौं ।
अलि स्पष्ट पार्दिनुस् न, एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै रहन्छ या २१ औं शताव्दीको जनवाद हुन्छ ?
यस सन्दर्भमा छलफलमै छौं । जुन ग्राउण्डमा हामीले २१ औं शताव्दीको जनवादलाई विकास गरेका छौं, त्यसलाई ध्यानमा राख्छौं । त्यसैगरी एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको ग्राउण्डलाई पनि ध्यानमा राख्छौं । यी दुवैले विकास गरेका अवधारणालाई ध्यानमा राखेर नीतिगत निष्कर्षमा पुग्छौं ।
निर्वाचनलगत्तै पार्टी एक हुने भन्ने कुरा थियो, एक महिनाको अन्तरालमा बल्ल कार्यदल बनेको छ, एकता प्रक्रिया लम्बिएको हो ?
दुईवटा पार्टी दृढतापूर्वक घोषणा नै गरिसकेकाले पार्टी एकीकरण हुनेमा सन्देह रहेन । यसलाई नेपाली जनताले अनुमोदनसमेत गरिसकेका छन् । एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्छ । एकता प्रक्रियालाई सकेसम्म चाँडो टुङ्ग्याउन घनिभूत छलफलमा समेत छौं । सम्भव भएसम्म हामी एक महिनाभित्रै पार्टी एकता टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएका छौं ।
तपाईंको पार्टी भित्रै एमालेसँगको एकतामा विमतिका स्वरहरु बाहिर आएका छन्, यसलाई के भन्नुहुन्छ ?
एकाध मान्छेले नबुझेर वा निजी स्वार्थका कारणले विरोध गरेका छैनन् म भन्दिन । कतिलाई यो वाम गठबन्धन पनि चित्त नबुझेको हुनसक्छ । कतिले पार्टी एकीकरणलाई गलत ढंगले बुझेको पनि हुनसक्छ । कतिले चाहिँ आफ्नो ब्यक्तिगत हिसाव किताव गर्दा भाग नपुग्ने लागेर यसरी कुरा आएका पनि हुन सक्छन् । अर्कातिर वाम एकता नहोस भनेर प्रायोजित समाचारहरु पनि बजारमा आएका छन् । तर, जीवन्त बहसले नोक्सानी गर्दै गर्दैन । सहि उद्देश्य र गन्तब्यमा हिंडिरहेका बेला गलत नियतले बहस भए पनि ती निस्तेज हुन्छन् । मान्छेले बुझदै जान्छन् । तर, यस्ता कुराले एकतामा कुनै असर पार्दैनन् ।
एमाले भित्र चाहिँ एकताका विषयमा कतिको अवरोध देख्नुभएको छ, तपाईंको बुझाई के हो ?
म त के भन्छु भने, एउटा पार्टीभित्र यस्तो हुनु स्वभाविक हो । एमाले भित्र पनि नहोला भन्न सकिदैन । तर, मनमा आफूलाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ताका आधारमा यस्ता कुरा भए पनि एकताको विपक्षमै जानेगरी प्रकट हुन सक्दैनन् । किन सक्दैनन् भने, भर्खरै त जनताले तिमीहरु मिलेर एउटै पार्टी बनाउ, पाँच वर्षसम्म स्थिर सरकार चलाउ भनेर पठाएका छन् । जनताको फैसला विरुद्ध बोल्ने आँट कसले गर्नु ? कसैले पनि गर्न सक्दैन ।
दुई पार्टीका कार्यकर्ताबीच कटुता पनि त देखिएको थियो नि, होइन र ?
तपाईंले भन्नुभएको कुरा विगतको हो । वर्तमानमा एमाले र माओवादीका कार्यकर्तामा कटुताको त कुरै छोडौं, दुई पार्टीका कार्यकर्तामा यो एमाले हो, यो माओवादी हो भनेर छुट्याउनै नसक्ने एकताको आधार पैदा भएको छ । कार्यकर्ता र जनताले यो एकताप्रति अग्रसरता नलिएको भए हाम्रो निर्णयले मात्र केहि हुने थिएन । कार्यकर्ता एक आपसमा यसरी हेलिए कि सवै सक्रिय भएर लाग्ने अवस्था बन्यो । जनताले सबैभन्दा बढि मनोवल यसपटकको चुनावमा दिए । यो सबै कार्यकर्ता र शुभचिन्तकको भावनात्मक एकताको परिणाम हो ।
एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ, सरकार र पार्टीको नेतृत्व सौदाबाजीको विषय बन्ने हो कि भन्ने चर्चा पनि छ, खास के हो ?
यस्ता प्रकारका चर्चा कम्युनिस्ट आन्दोलन नबुझेकाले गर्छन् । कम्युनिस्ट पार्टी जहिले पनि नेतृत्व भनेको सही, कार्यदिशा, नीति र सिद्धान्तले तय गर्छ । सोही आधारमा यसको निरूपण हुन्छ । अहिले दुई पार्टी एकतावद्ध हुँदा पनि नीति र सिद्धान्तका आधारमै एकतावद्ध हुन्छौं, न कि नेतृत्वको आधारमा मात्रै । सिद्धान्ततः नेतृत्वको निरूपण हुन्छ । कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्न प्रमुख बन्दैन । नीतिको प्रश्न प्रमुख बन्छ । नीति सही भए जसले नेतृत्व गरे पनि हुन्छ । व्यक्ति प्रमुख हुँदैन ।
तर, यहाँ त नेतृत्वकै विषयमा ज्यादा चर्चा छ नि ?
यो विषय सञ्चारमाध्यमलाई मात्रै चासो छ । उहाँहरूले चर्चा गर्नुभएको विषय हो । हामी दुवै पार्टी यस विषयमा छलफलको चरणमा प्रवेश नै गरेका छैनौं । माओवादी केन्द्रले यस किसिमको चर्चा गरेको छैन । एमालेले पनि यस विषयमा चर्चा गरेजस्तो मलाई लाग्दैन । दुवै पार्टीका कार्यकर्ताले पनि खासै चासो राखेका छैनन् । तर, मिडियामा अनेक कुरा आएका छन् र कतिपयले सोहीअनुसार धारणा बनाएका होलान् । पार्टी अध्यक्ष को बन्छ होइन, पार्टी एकता कहिले हुन्छ ? यही नै आजको सन्दर्भमा वस्तुवादी चर्चा हो ।
अलिकति प्रसङ्ग फेरौं, चुनाव सकिएको १ महिना बढी बितिसक्दा पनि परिणाम सार्वजनिक भएको छैन, जसले गर्दा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेन, किन ?
संसारभरका मानिसलाई ज्ञात भएको, जानकारी भएको विषय हो, कुनै पनि देशमा आम निर्वाचन सम्पन्न भइसकेपछि एक हप्ताभित्रमा नयाँ सरकार बन्छ । निर्वाचन गराउने सरकारले सोहीअनुरूप तयारी गर्छ । हाम्रो देशका जनताले नयाँ ‘म्याण्डेट’ दिइसकेका छन् । नवीन निर्णय दिइसकेका छन् । नयाँ सरकार कसको र कस्तो हुन्छ भन्ने प्रष्ट भइसकेको छ । तर, आयोग निर्वाचन परिणाम घोषणा नगरी बसिरहेको छ, यो आश्चर्यको विषय हो ।
कहिलेसम्म बन्छ त नयाँ सरकार ? कांग्रेसका मन्त्रीहरू त ‘फागुन सात’ को ‘सलामी’ खाएर मात्रै बिदा हुने भन्दैछन् ?
यसको साँचो निर्वाचन आयोगको हातमा छ । निर्वाचन आयोगले अविलम्व निर्वाचनको परिणाम घोषणा गर्नुपर्छ । निर्वाचन आयोगले परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया थालनी हुन्छ ।
अन्त्यमा नयाँ सरकारको नेतृत्व कसले गर्छ, प्रचण्ड कि ओली ? या आलोपालो गरेर चलाउने हो ?
यो महत्वपूर्ण कुरा होइन, राष्ट्रलाई ध्यानमा राखेर दुई नेताले निर्णय गर्नुहुनेछ । निर्णय काँधमा बोकेर हिंड्ने त हामी छँदैछौ । यसको स्वागत गर्न जनता कुरेर बसेका छन् । तसर्थ अहिले नै को प्रधानमन्त्री, को पार्टी अध्यक्ष भनेर विवाद गर्नु अर्थपूर्ण हुँदैन ।***