Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

न्यूयोर्क – न्यूयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रशस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर होजे पराल्टासँग विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा पत्रकार किरण मरहठ्ठाले समुद्रपारिका लागि गर्नुभएको कुराकानीको संपादित अंश यहां प्रस्तुत गरिएको छ :तपाईले प्रतिनिधित्व गर्ने न्यूयोर्क क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । यस क्षेत्रको विविधतालाई कसरी व्याख्या गर्न चाहानुहुन्छ ?
म यसलाई संयुक्त राष्ट्रसंघकै स्वरुप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरुको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भएता पनि यो क्षेत्रलाई आफ्नो घर मान्दछन् । विविधताले हामीलाइ बल दिएको छ । म यो जिल्लालाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भू-भागमा बेमेल भएका समुदायका मानिसहरु पनि यहाँ मिलेर बसेका छन् । हामीले एक अर्कालाई सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । यहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरु छन् । हामी सबै रोजगार, गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविष्य चाहन्छौँ । जव हामी एकै समुदायको रुपमा बाचेका हुन्छौँ तव मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भैरहेको छ ।

संसारका फरक जातजाति, भाषा, संस्कृति र भूगोलका मानिसलाई संयोजन गर्दै उनीहरुको मौलिक पहिचानलाई संरक्षण गर्ने तपाईको योजनाहरु के के छन् ?
सबैभन्दा पहिला हामीले उनीहरुको संस्कृतिको पहिचान गर्नुपर्दछ । उनीहरुको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतिक अभ्यासमा थिए र यहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागि मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत सम्पर्क मार्फत जानकारी लिन सकिन्छ । तर मुख्य कुरो उनीहरु यो देशमा गुणस्तरीय जीवन बाँच्न आएका हुन् । उनीहरु अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रुपमा बुझ्नुपर्दछ । तसर्थ हामीले उनीहरुको राम्रो जीवनको लागि काम गर्नुपर्छ । उनीहरुलाई साना व्यवसायमा सहयोग गर्नु, सरसफाइमा ध्यान दिनु, उनीहरुका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनुपर्छ । साथै उनीहरुमाथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कर्तब्य हो । हाम्रो संघिय प्रशासनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागि मान्य हुने छैन ।

जनतालाई राजनीतिक रुपमा निर्णायक तहमा पुरयाउन तपाईले कुनै योजनाहरु बनाउनुभएको छ ?
राम्रो प्रश्न गर्नुभयो, हामी यहाँका सबै जनतालाई यो क्षेत्रको राजदूत भन्दछौँ । हामी जनतालाई राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरुमा बढि भन्दा बढि सहभागिताको लागी प्रोत्साहित गर्दछौँ ता की उनीहरुले स्थानिय तथा राष्ट्रियस्तरमा के भैरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन् । विशेष गरी सामुदायिक बोर्डको कार्यक्रम, निर्वाचित जनप्रतिनिधिका कार्यक्रमहरु र न्यूयोर्क पुलिसका कार्यक्रमहरुमा जनताको उच्च सहभागिताका लागि हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनिहरुको अभिमत लिन टाउनहल मिटिगंहरु आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरुले उनिहरुलाई राज्यका विविध नीतिनिर्माणमा सहभागिता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ ।

तपाईले न्यूयोर्क राज्यमा विगत ७ बर्ष देखि प्रतिनिधित्व गर्नुभयो, तपाईको कार्यकालका मुख्य उपलब्धिहरुलाई कसरी उल्लेख गर्न चाहनुहुन्छ ?
हामी धेरै सफल भयौँ भन्ने मलाई लाग्दछ । मुख्य गरी हामीले न्यूनतम ज्याला बृद्धि गरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबी विदाको अवधिलाइ लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरत हेरेर १२ हप्ता सम्मको पारिवारिक तलबी विदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रक्रियामा रहेकाहरुको लागि हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरुले वकिलको लागि तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गत बर्ष मात्र हामीले एक दशमलब एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विनियोजन गरेका छौँ । हामा सरकारी कार्यालयहरुमा कुनै प्रकारको विभेदका विरुद्धको कानूनी सेवाका वकिलहरु नि:शुल्क उपलब्ध गराएका छौं । हामीले सामुदायिक सेवामा लागेका विभिन्न संस्थाहरुलाई फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि ब्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलाबा साना व्यवसायलाई दिइने अनुदान रकम बढाएका छौँ । मलाई लाग्छ मेरो सात बर्ष सफल अवधि हो ।

भर्खरै केन्द्रीय सरकारले नयाँ करनीति पारित गरेको छ, यसमा तपाईको प्रतिक्रिया के छ ?
यो कर नीति गरिब मारेर धनी पोस्ने किसिमको भयो । यसले न्यूनआय भएका परिवारलाई त बर्बाद पार्छ नै मध्यम आय भएका परिवारलाई पनि राहत प्रदान गर्दैन । न्यूयोर्कका गरिखाने समुदायलाई त झन यसले बर्बादै पार्छ । मलाई विश्वास छ, हाम्रा सांसदहरुले क्यापिटल हिलमा यो बारेमा आवाज उठाउने छन् ।

साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताका लागि तपाईको के कार्यक्रमहरु छन् ?
यसका लागि हामीले गर्भनर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागि हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्युन ब्याजदरमा ऋण दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पूँजी भएका व्यवसायीलाई हामी तालिम र परामर्श सेवा पनि दिन्छौँ ताकि शुरु गरे पछि ब्याक हुनु नपरोस ।

तपाईको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोवास भएको क्षेत्र हो, नेपाली समुदायको बारेमा तपाई कत्तिको जानकार हुनुहुन्छ ?
नेपालीहरुको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको संख्या द्रुत गतिमा बढेको छ जुन स्वागतयोग्य कुरा हो । उनीहरुको उपस्थिति देख्दा मलाई गर्व लागेको छ । मैले मुख्य गरी ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली ब्यवसायहरु बढिरहेको देखेको छु । तर मलाई थाहा छ व्यवसाय नगर्नेहरुको संख्या ठुलो छ । मैले नेपाली सामुदायिक संस्थाहरु र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारी लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस ।

नेपालीहरुको स्वभाव र संस्कृतिको बारेमा तपाईको विश्लेषण के छ ?
म धेरै खुसी छु । धेरै मेहनती र स्वाभिमानी स्वभावको पाएको छु । उनीहरु केही गर्नका लागि यहाँ आएका हुन् भन्ने थाहा छ । साना ब्यवसाय र सामाजिक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केहि गर्न सफल भएका छन् भने हामीले प्रसंशा गर्नैपर्छ । उनीहरु क्वीन्सलाई आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारी कार्यक्रमहरुमा उनिहरुको सक्रिय सहभागिता रहने गरेको छ ।

तपाईलाई नेपालको बारेमा चाहिँ कत्तिको जानकारी छ ?
मलाइ केहि जानकारी छ । तर मैले नेपाली समुदायको बारेमा बढिभन्दा बढि जानकारी लिने कोशिस गरिरहेको हुन्छु । मलाई नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मनपर्ने खाना हो । नेपाली समुदायसंग भेटघाट र अन्तर्क्रिया गर्ने काम भैरहेको छ जसबाट मलाई नेपालको बारेमा जानकारी पनि बढिरहेको छ ।

नेपालीका लागि तपाईको केही बिशेष सन्देश छन् कि ?
नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरी हामीले संचालन गर्ने सबैप्रकारका कार्यक्रमहरुमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमि छोडेर यहाँ आउंदा निश्चयनै नेपालमा के के भैरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाईहरुको जीवन र सपना यहाँ छ तसर्थ यो समाजलाइ राम्रो बनाउन कोशिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागि म सदा तयार छु ।

नेपाल घुम्ने निम्तो आएमा के गर्नुहुन्छ ?
त्यो मेरो लागि खुशीको कुरो हुने छ । म अवश्य जानेछु ।

तपाईको प्रतिक्रिया