काठमाडौं – सर्च इन्जिन गुगलले ४० वटा भाषामा उल्था गर्ने क्षमता भएको नयाँ एयरफोन बजारमा ल्याउने भएको छ । यसलाई ‘गुगल पिक्सेल बड्स’ नाम दिइएको छ ।
नोभेम्बरमै बजारमा आइसक्ने बताइएको यो एयरफोनको मूल्य १ सय ५९ डलर छ । गुगल पिक्सेल बड्सलाई एप्पलको एयरपोड हेडफोनसँग तुलना गर्न सकिन्छ । यसमा एयरपोडभन्दा केही फरक विशेषताहरु छन्, जसमध्ये ४० वटा भाषामा अनुवाद गर्न सक्ने क्षमता प्रमुख हो ।
उदाहरणका लागि ‘हेल्प मी स्पिक स्पेनीस’ भनेर वा एउटा बटन थिचेर स्पेनिस भाषामा बोल्न सकिन्छ । हेडफोनहरुलाई गुगल पिक्सेल २ फोनसँग पेयर गरेपछि मात्र यो सुविधा उपलब्ध हुन सक्छ । यसले मोबाइलको क्षेत्रमा गुगलले कसरी एप्पललाई टक्कर दिन खोज्दैछ भन्ने देखाएको छ ।
यी एयरफोनहरु गुगलको भ्वाइस एक्टिभेटेड एसिस्टेन्टका रुपमा रहेको गुगल एसिस्टेन्टको उपयोग गर्न सक्षम छन् । लगानीकर्ताहरुलाई गगुलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामीले आफ्नो अनुवाद क्षमतालाई विगत १० वर्षमा भन्दा पछिल्लो एक वर्षमा बढि सुधार गर्न सफल भयौं ।’ –एजेन्सी