Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
‘जेठ १४ सम्म उच्च सतर्कता’
काठमाडौं- प्रहरी प्रधान कार्यालयले जेठ १४ आसपासको परिस्थितिमा सुरक्षा व्यवस्था चुस्त बनाउन भन्दै प्रहरीको सबै बिदा रोकेको छ ।
प्रहरीहरुले भैपरी, सरकारी, बिरामी, चाडपर्व सुत्केरी र किरियालगायत बिदा पाउँदै आएका थिए । प्रहरी प्रवक्ता विनोद सिंहका अनुसार किरिया र सुत्केरी बिदाबाहेक अरु लिन पाइँदैन ।
वैशाख दोस्रो सातासम्म भैपरी आउने बिदा दिए पनि डेढ सातादेखि रोकिएको छ । बढेको राजनीतिक गतिविधि, धर्ना, विरोधसँगै हुनसक्ने अराजक क्रियाकलाप नियन्त्रणमा खटिने प्रहरीको संख्या बढाउन बिदा स्वीकृत नगर्न सकुलर भइसकेको छ ।
जेठ १४ पछिको सुरक्षा अवस्था मूल्यांकन आधारमा बिदा फुकुवा गरिने सिंहले बताए । प्रधान कार्यालयले जनशक्ति विश्लेषण गरी कम देखिएका स्थानमा रिजर्भ रहेका सुरक्षाकर्मीलाई समेत कार्य क्षेत्रमा खटाउन सुरु गरेको छ । प्रधान कार्यालयका अनुसार ६० हजार १ सय ३० प्रहरीमध्ये प्रशासनिक काममा खटिने बाहेक सबैलाई तयारी अवस्थामा राखिएको छ । कार्यक्षेत्रमा खटिने प्रहरीको कार्यसमय चार घण्टा बढाइएको छ ।
प्रहरीलाई न्यूनतम १२ घण्टा कार्यक्षेत्रमा खटाइँदै आएकामा १६ घण्टा पुर्‍याइएको छ । “८ घण्टा आरामको समय छुट्र्याएका छौं, उनले भने, आवश्यक परे आरामको बेला पनि ड्युटी गर्नुपर्छ ।” प्रधान कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत जगेडामा बस्ने गरेका विशेष कार्यदल, गण र सशस्त्र प्रहरीसमेत परिचालनका लागि तयारी राखिएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालय अन्र्तगतको घटना सहायता कार्यदलका प्रहरी दैनिक रुपमै परिचालित हुने गरेका छन् । बन्द, धर्नालगायत राजनीतिक गतिविधिमा सुरक्षाका लागि समूहगत र व्यक्तिगत रुपमा विशेष कार्यदलको जनशक्ति परिचालित भइरहेका छन् ।
 “आवश्यकता अनुसार कार्यक्षेत्रमा खटिने प्रहरी नै अधिकतम परिचालित भएका छन्,” डिआइजी सिंहले भने, रिजर्भ फोर्स लाई आवश्यकता अनुसार जुनसुकै समय परिचालन गर्न सकिने गरी हाइअलर्ट राखिएको छ । उनले स्थानीय, क्षेत्र र केन्द्रमा अनुकूल सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिए ।
उपत्यकाको सुरक्षाका लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले वैशाखको पहिलो साता तीन चरणको सुरक्षा योजना लागू गरिसकेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका लागि आयुक्त कार्यालयले एकीकृत सुरक्षा रणनीति लागू गरेको हो । बढ्दो राजनीतिक गतिविधिसँगै प्रहरीलाई इन्धनको समस्या देखिएको डिआइजी सिंहले बताए ।
तपाईको प्रतिक्रिया