Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- आफ्नो घर भाडामा लगाएका बहालवाला मन्त्री तथा विभिन्न दलका नेताले बहालकर नबुझाएको खुलेको छ । भाडामा बस्नेसित ठटाएर पैसा लिए पनि नियमबमोजिम कर बुझाउन भने दाँतबाट पसिना निकाल्छन् उनीहरू ।
कानुनअनुसार घर भाडामा लगाएबापत घरधनीले महानगरपालिकालाई दुई प्रतिशत र कर कार्यालयलाई १० प्रतिशत कर बुझाउनुपर्छ । तर काठमाडौंमा घर भएका उद्योगमन्त्री अनिल झा, स्वास्थ्यमन्त्री राजेन्द्र महतो र भौतिक योजना तथा निर्माणमन्त्री ह्दयेश त्रिपाठीले यस्तो कर बुझाएका छैनन् । घरबहाल कर नबुझाउनेमा कांग्रेस, एमाले र मधेसवादी मात्र होइन माओवादी नेतासमेत छन् ।
एकीकृत नेकपा (माओवादी)का लिलामणि पोखरेल, सूर्यबहादुर सेन, नेपाली कांग्रेसका नवीन्द्रराज जोशी, राधेश्याम अधिकारी, नेकपा एमालेका योगेश भट्टराई, भानुभक्त ढकाल, फोरम लोकतान्त्रिकका तिलक रावल, जितेन्द्र देव, फोरम नेपालका रत्नेश्वरलाल कायस्थलगायतले घरबहाल कर तिरेका छैनन् ।
मन्त्री त्रिपाठीको विशालनगरमा, महतोको सिनामंगलमा र झाको लाजिम्पाटमा रहेको घर भाडामा लगाइएको छ । त्यसैगरी, पोखरेलको कोटेश्वरमा, सेनको थापागाउँ, जोशीको गंगालाल मार्ग वसन्तपुरमा, अधिकारीको थापागाउँमा, भट्टराईको अनामनगरमा, ढकालको बल्खुमा, रावलको महाराजगन्जमा, देवको डल्लुमा, कायस्थको गोदावरी जाने बाटोमा रहेको घर भाडामा छ । तर, उनीहरूले त्यसबापत राज्यलाई बुझाउनुपर्ने कर नबुझाएको स्रोतले बतायो ।
केही नेताले भने महानगरपालिकालाई कर बुझाएको तर कर कार्यालयलाई नबुझाएको पाइएको छ । वडा कार्यालयमा थोरै लाग्ने भएकोले बुझाए पनि कर कार्यालयमा १० प्रतिशत लाग्ने भएकोले धेरैले नबुझाएका हुन् ।
एमाले नेता भट्टराई आफूले घरबहाल कर वडा कार्यालयमा तिरेको बताउँछन् । ‘वडा कार्यालयमा कर तिरिएको छ, कर कार्यालयलाई बुझाउनुपर्ने १० प्रतिशत करको विषयमा भने जानकारी भएन,’ भट्टराईले भने । फोरम लोकतान्त्रिकका देवले भने कर नतिरेको विषयमा प्रतिक्रिया दिन मानेनन् । ‘केही कोठा भाडामा लगाएको छु,’ देवले भने, ‘कर तिरे–नतिरेको विषयमा तपाईंलाई भन्न जरुरी छैन ।’
मन्त्री त्रिपाठीले भने आफ्नो घरै नभएको झुटो दाबी गरे । ‘विशालनगरमा मेरो घरै छैन,’ उनले भने, ‘घर नै नभएपछि भाडामा कसरी लगाउने रु’ उनले त आफ्नो विषयमा अझै खोज्न उल्टै चुनौती दिए । ‘मधेसी नेताविरुद्ध पहाडे पत्रकारले पहिलेदेखि नै यस्तै गर्दै आइरहेका छन्,’ उनले भने, ‘राम्रो कामको कसैले लेख्दैन, नराम्रो कुरा खोजी हिँड्छन् ।’
माओवादीका नेता पोखरेलले आफ्नो घरमा भुइँतलाको कोठामा विद्यार्थी बसिरहेको बताए । ‘मेरो बदनाम गर्ने मनसायले प्रचार गरिएको होला,’ उनले भने, ‘एउटा विद्यार्थीबाट लिएको थोरै रकमको कर किन तिर्नू भनेर नबुझाएको हुँ ।’
घर भाडामा लिनेले व्यावसायिक फर्म खोलेर कारोबार गरेको भए उनीहरू स्वयंले कर कार्यालयमा घरबहाल कर बुझाएका हुन्छन् । ‘घरबहाल कर बुझाउने दायित्व घरधनीको भए पनि उनीहरू बुझाउन आउँदैनन्,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया