आजको बिश्वमा यस कुरामा कुनै सन्देह छैन कि बास्तवमा अंग्रेजी भाषाको बिश्व साम्राज्य बढ्दै नै गएको छ । यसका कारणहरु छन् । यूरोपेली देश, अंग्रेज र अंग्रेजीलाई निक्कै निचो नजरले हर्ने देशहरु पनि आज यो भाषा सिक्न उद्यत छन् । आज चीन र जापान जस्ता देशहरुमा पनि यो अंग्रेजी भाषा सिक्ने होड नै चलेको छ । यसको सबैभन्दा मूल कारण हो बिज्ञान र प्रबिधिका लागि आजको बिश्वमा अंग्रेजी नै सबैभन्दा सर्बसम्मत जस्तै अन्तर्राष्ट्रिय भाषा बन्नु । अर्थशास्त्र र अन्तर्राष्ट्रिय ब्यापारमा पनि यसै भाषाको बर्चश्व छ । अनि त्यसैले ती सबै मानिसहरुलाई यसबाट ठूलो फाइदा छ जसको मातृ भाषा नै अंग्रेजी छ भन्ने कसैलाई पनि लाग्न सक्तछ । तर कुरा यति सरल अवश्य छैन ।
अंग्रेजी मातृभाषा भएको जति फाइदा अंग्रेजहरुलाई भएको मानिदैछ त्यो भन्दा बढी उनीहरुलाई नोक्सानी नै हुनेगरेको अनुभवले देखाएको छ । एउटा प्रतिष्ठित अंग्रेजी समाचार पत्रमा छापिएको लेखमा बताइएअनुसार सबैभन्दा ठूलो नोक्सान के भएको छ भने अंग्रेजहरुलाई बिश्वका मानिसहरुका अन्य भाषा सिक्नुपर्ने स्थिति नै बनेन । उनीहरु बिश्वको जुनसुकै कुनामा गए पनि आफ्नो भाषा बोलेको उनीहरुले पाउँदछन् । फलतः उनीहरुलाई अर्को भाषा सिकिरहनु पर्ने आवश्यकता नै पर्दैन । तर यसबाट उनीहरुको सोच्ने, बुझ्ने दृष्टिकोण र उनको सँस्कृति एकांगी बन्न पुग्दछ र पुगेको छ । के देखिएको छ भने अंग्रेजीभाषी मानिसहरुले अरु समाज र समुदायको सभ्यता सँस्कृतिलाई जान्ने बुझ्ने क्षमता नै कम भएर गएको छ ।
यद्यपि भूमण्डलीकरणको आजको युगमा यसको सबैभन्दा बढी आवश्यकता बनेको छ । ब्रिटेनको उपनिबेशबादको पछाडि अन्य बिभिन्न कारणहरु भए पनि यसको एउटा ठूलो कारण अंग्रेजहरुमा अरु देशको भाषा, सँस्कृति र इतिहासलाई जान्ने बुझने ठूलो जिज्ञासा र उत्कण्ठा पनि एउटा कारण थियो ।
बिश्वमा प्रभावशाली हुनका लागि बिश्वलाई बुझ्नुपर्ने हुन्छ र बिश्वलाई बुझ्नका निमित्त बिज्ञान र प्रबिधिको ज्ञानभन्दा पनि बढी आवश्यकता राजनीति, अर्थशास्त्र र इतिहास ज्ञानको हुन्छ । अहिले के भनिदैछ भने केवल अंग्रेजी ज्ञानको कारणले बिज्ञान र प्रबिधिमा त त्यस्तो खासै कुनै कठिनाई आइरहेको छैन तर सामाजिक बिज्ञानको अध्ययन र अनुसन्धानलाई भने ठूलो नोक्सान पुगिरहेको छ । जसको मातृभाषा अंग्रेजी छैन तिनले त अंग्रेजी सिक्छन् र उनीहरुलाई कम्तिमा दुई भाषाको ज्ञान हुन्छ । तर केवल अंग्रेजी मात्र जान्नेहरुभन्दा उनीहरु राम्रो स्थितिमा हुन्छन् । के मानिन्छ भने एक भाषा जान्ने भन्दा एकभन्दा बढी भाषा जान्ने मानिसको ज्ञान क्षमता बढी हुन्छ र उनीहरु बढी लचिलो र सहिष्णु पनि हुन्छन् । बिज्ञान र प्रबिधिको अत्याधुनिक बिकासले आज सारा संसारका देशहरु नै एक आपसमा जोडिएको बेलामा एउटै भाषा र सँस्कृति जान्नेहरुको प्रगतिको सम्भावना कम भएर जान्छ ।
सामान्य कुरा के छ भने कुनै पनि अर्को देशको इञ्जिनियर या प्रबन्धकका योग्यताहरुमा एउटा अतिरिक्त योग्यता जोडिएको हुन्छ र त्यो भाषाकै योग्यता नै हो । सामान्यतः अमेरिकीहरुका बारेमा के भनिन्छ भने उनीहरुलाई आफ्नो देशभन्दा बाहिरको जानकारी लगभग हुने गर्दैन । अंग्रेजीभाषी समाजका मानिसहरुलाई आज जुन खतरा महसुश हुँदै गइरहेको छ त्यो केवल अंग्रेजहरुका लागिको मात्रै खतरा होइन, अंग्रेजी बाहेक अरु भाषा नजान्ने अंग्रेजी मूलभन्दा फरक बर्ग पनि पैदा भएको छ । यसलाई कसैले अभिजातीय भएको प्रमाण पनि मान्दछन् भने कसैले अभिशापको कुरा पनि ।
दुनियाँदारीको लाभ-हानीको कुरा छोड्ने हो भने पनि कसैले पनि आफ्नो भाषा तथा सँस्कृतिबाट बिमुख र बञ्चित रहनु समझदारीको कुरा अवश्य नै होइन । यद्यपि अंग्रेजी अनेकौ कारणले महत्वपूर्ण भाषा बनेको छ । बिभिन्न अनुभवले के प्रष्ट पारेको छ भने एकभन्दा बढी अन्य भाषाहरु जान्नेहरुले नै अंग्रेजीको सामना पनि राम्रोसँग गरेका छन् । अंग्रेजी जान्नु आफैमा नराम्रो होइन, तर यो भाषा जानेकैमा तुजुक गर्ने जमाना अब गएको छ । जसको मातृभाषा अंग्रेजी छ तिनको अनुभवले पनि यो सिद्ध गरिसकेको या गरिरहेको छ । कुनै पनि भाषा ज्ञानको माध्यम र संबाहक हो । ज्ञानको निरन्तरताको माध्यम भएकोले पनि यसलाई जीवित बस्तु भन्ने गरिएको हो ।
यसलाई सही सूचना र ज्ञानको माध्यमकैरुपमा बुझ्नु बुझाउनु र बिकसित गरिनुपर्दछ । यस हिसाबले यसले स्वतः सँस्कृति पनि बोक्दछ । तर कुनै पनि भाषालाई हेय र असामान दृष्टिले हर्न र ब्यवहार गर्न खोजिएमा त्यो द्वन्द्व निम्त्याउने र अशान्ति कायम गर्ने माध्यम पनि बन्न जान्छ । त्यसैले भाषा सम्वन्धि सही दृष्टिकोण आजको आवश्यकता हो । त्यसको अर्थ हो भाषिक समानताको आधार खोजी गर्ने बिकसित गर्ने र त्यसको जर्गेना गर्ने !