लामो समयदेखि हराईरहेकी सबिना महर्जनको खोजी कार्य सम्बधी केहि तथ्यहरु तथा खोजी कार्यमा सहयोगको लागि अपिल
बिगत लामो समयदेखि जापानको फुकुओका सहरबाट हराईरहेकी सबिना महर्जनको खोजतलास सम्बन्धमा केही दिन यता केहि अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरो नाम समेत प्रयोग गरेर केही तथ्यहीन, भ्रमित तथा अशिष्ट समाचारहरु प्रकाशित र प्रसारित भएको सन्दर्भमा मेरो ध्यानाकर्षित भएको छ । यस सम्बन्धमा निन्न अनुसारको सत्य तथा यथार्थ रहेको कुरा सबैको जानकारीको लागि निबेदन गर्न चाहन्छु ।
लामो समयदेखि हराईरहेकी नेपाली चेली सबिना महर्जनको बिगतमा भएका खोजी कार्यका केही वस्तुगत यथार्थहरु आम पाठक समक्ष पुगोस, उनको खोजीमा जापानवासी आम नेपालीको सहयोग प्राप्त हुन सकोस् र कसैले पनि यथार्थलाई भ्रमित गर्न नपाओस् भन्ने कामना गर्दै सबिनाको जापान आगमनदेखि अहिलेसम्मका केही प्रमुख खोजी कार्य तथा गतिबिधिहरुको विवरण प्रस्तुत गरेको छु ।
सबिना महर्जनको जापान आगमन, जापान बसाई र सम्पर्कबिहिन भएपश्चात खोजी कार्यका केही तथ्यहरु उल्लेख गर्न चाहन्छु ।
१. ललितपुर स्थित जापानी भाषा स्कुल स्ट्याण्डर्ड जापानीज ल्याङ्वेज इन्ष्टिच्यूट मार्फत सबिना महर्जन एशिया जापानीज एकेडेमीमा भाषा अध्ययन गर्न सन् २००८ को अप्रिल १४ (अप्रिल सत्र) मा फुकुओका जापान आएकी हुन् । आएको १६ महिनापछि सन् २००९ को अगस्त २८ देखि उनी सम्पर्कविहीन छिन् । उक्त १६ महिनामा सबिनाको पढाई तथा दैनिकी अत्यन्त राम्रो र सन्तोषजनक थियो । बहिनीको राम्रो अध्ययन र बसाई देखेर उनकी दिदी बिना महर्जनले पनि २००९ को अप्रिल सत्रका लागि यही स्कुलमा अध्ययन गर्न आउन निबेदन गरेकोमा दुर्भाग्यबश पेश गरेका कागजपत्रमा भएको कतिपय त्रुटीले गर्दा सिओई आएन र दिदी आउने कुरा भएन ।
२. मेरो अफिसको नियमित कार्यक्रम अनुसार सन् २००९ को अगस्त २५ मा फुकुओकाबाट नेपाल हिड्ने बेलामा अर्थात् एयरपोर्ट चेक इनको बेलामा सबिनाले फोन गरेर मेरो दिदीको पुनः निबेदन गर्नुपर्यो सेन्सेई, ड्याडी र दिदीलाई भेट्नु होला समेत भनेकी थिइन् । यो कुरा उनले घरमा पनि भनेकी रहेछिन् ।
३. अगस्त २७ बिहीबार स्कुल समयमा नआएपछि स्कुलबाट फोन गर्दा साइकल पञ्चर भएर आउन सकिन भनिछन् । अगस्त २८ शुक्रवार पनि स्कुल नआएपछि स्कुलबाट फोन गर्दा फोन नउठेको जानकारी मैले पाएँ । त्यसपछि अगस्त ३१ मा पनि स्कुल नआएपछि उसको कोठामा चेक गर्न स्कुलको मिस जानु भएछ तर कोठा बन्द रहेछ । बाहिर झ्यालबाट हेर्दा कोठामा बिस्तरा नभएको खाट र खाली टेबल मात्रै रहेछ । अरु कुनै पनि समान नरहेको कोठा सफा गरेर छोडेको अवस्थामा रहेछ । यसपछि मलाई नेपालमा सबिना २७ बाट स्कुल नआएको, २८ बाट फोन सम्पर्क पनि नभएको र ३१ सोमबार कोठा हेर्न जाँदा कोठामा पनि नभएको र सरसमानहरु पनि नभएको कुरा फोनबाट जानकारी भयो । मैले तुरुन्त सबिनाको परिवारमा फोन गरेर अवस्थाको जानकारी गराएँ । परिवारका मानिसहरुलाई यसबारे कुनै जानकारी नभएको र सम्पर्क पनि नभएको बताउनुभयो ।
४. यस्तो पत्याउनै नसकिने कुरा सुने पछि मैले पोखराबाटै सबिनाका क्लासका केही नजिकका नेपाली साथीहरुलाई फोन गरेर सोधपुछ पनि गरें । स्कुलको प्रिन्सिपललाई प्रहरीमा छिटो सूचना र खोजीको लागि अनुरोध गर्न अनुरोध गरें । साथै फुकुओका नेपाली समाजमा पनि टेलिफोन सम्पर्क गरेर सबिना हराएको जानकारी गरी उनको खोज तलासीमा सहयोग गर्न अनुरोध समेत गरें । यही क्रममा योकोहामा बस्ने नेपाली बिद्यार्थीले नक्कली नाममा स्कुलमा फोन गरेको रहेछ उसको नम्बर पनि मलाई स्कुलले पठायो र उसलाई सम्पर्क गर्दा उसले आफुलाई केही थाहा नभएको बतायो ।
५. यता स्कुलमा पनि सेप्टेम्बर १ मा सबै नेपाली बिद्यार्थीको भेला गरेर सबिनाको सम्पर्कबिहीनता र कोठाको अबस्था जानकारी गरी बिद्यार्थीहरुसंग भएको सूचना दिन अनुरोध गरिएको थियो । तर अधिकांशले उनको बारेमा केही थाहा नभएको जानकारी दिएछन् । कसैकसैले टोकियो गएको पनि हुनसक्छ भनेछन् ।
टोकियोमा सबिनाको साथी छ भन्ने कुरा धेरैलाई थाहा रहेछ । बिद्यार्थीहरुबाट खासै राम्रो सूचना प्राप्त नगरेपछि भोलिपल्ट सेप्टेम्बर २ मा फुकुओका प्रहरीको मिनामी वार्ड प्रहरीमा उजुरी दिने काम भएछ ।
६. हराएको १ हप्ता बितिसक्दा पनि उनको कुनै खबर नआएकोले परिवारका मानिसहरु पनि धरै नै आत्तिनुभयो र मैले आफ्नो सम्पूर्ण कामहरु छोडेर जहाजको टिकट समेत नयाँ किनेर सेप्टेम्बर ११ मा फुकुओका फर्के । जापान फर्केपछि मैले सर्बप्रथम हाम्रा नेपाली बिद्यार्थी भाइबहिनीहरुसँग सामूहिक तथा व्यक्तिगत भेटघाट र छलफल गरें । सबिनाका सबै सहपाठीहरुको भनाई तथा अनुमानहरु समेतको रिपोर्ट प्रहरीलाई दिइयो र प्रहरीलाई खोजी गर्न दबाब दिइयो । शुरुका दिनमा प्रहरी अनुसन्धानमा आउन मानिरहेको थिएन । कतै आफ्नै योजनाले गएहोला भन्थ्यो । हाम्रा नेपाली बिद्यार्थीहरुसंग सोधपुछ गर्ने सामान्य काम मात्रै गरेको थियो । जहाँसम्म सबिनाको फेशन सम्बन्धि कुरा छ, म स्कुलको एक जिम्मेवार स्टाफ मात्र नभई यस स्कुलमा अध्ययन गर्ने सबै नेपाली भाइबहिनीहरुको अभिभाबक पनि हुँ भन्ने मेरो मान्यताले मैले सदैब हाम्रा नेपाली भाइबहिनीहरुलाई उनीहरुको लवाईखवाईमा समेत बेलाबेलामा सम्झाई रहन्थे । खासगरी छोरी मान्छेहरुको फेशनले कहिले कहीं समस्या ल्याउन पनि सक्छ भनेर पनि स्कुलमा भन्ने गरिन्छ । यही सन्दर्भमा मैले सबिनालाई मात्र होइन उनको बुवा, दिदी, दाइलाई पनि सबिनालाई फेशन गर्न धेरै मन पर्छ । तपाईहरुले पनि सम्झाउनुहोला मैले पनि सम्झाएको छु भनेको थिएँ । यो कुरा मेरो विचारमा हरेक परिवार तथा अभिभाबकले आफ्ना छोरा छोरीलाई भन्ने सामान्य कुरा हो । यस कुरामा त आपति हुनुपर्ने कुरा देख्दिन । र सबिनालाई फेशन मन पर्ने भएर उनी खराब छिन् भन्न खोजेको पनि होइन । उनैको हितको लागि भनिएको थियो उनी पढ्ने बेलामा ।
७. सबिना महर्जनसंगै पढ्ने केही बिद्यार्थीहरुको शंका र सबिना बेपत्ता भएपछि नक्कली नामबाट कलेजमा फोन गर्ने योकोहामा बस्ने थापा थरको सेम्मोन कलेजको बिद्यार्थी जो सबिना संगको धेरै टेलिफोन सम्पर्क गर्ने दोस्रो ब्यक्तिप्रति धेरैले शंका गरेकोले र मिनामी वार्ड प्रहरीबाट पनि एकचोटी स्कुलबाट मान्छे गएर चेक गर्नुपर्यो भनेकाले म आफै टोकियो गई उसको कोठामा हेर्न र उ संग कुराकानी गर्न गएँ । त्यहाँ जानु भन्दा पहिले सबिनाको दिदी बिना र बुवासंग सल्लाह गरी मलाई सहयोग गर्न सबिनासंगै पढेको श्रेष्ठ थरको सबिनाको टेलिफोन रेकर्डमा सबैभन्दा धेरै फोन र एसएमएस भएको व्यक्तिको भाइ जो टोकियोमा बस्दथे । उनलाइ पनि संगै लिएर गएको थिएँ । उसंग भेटेपछि उसलाई पनि लिएर नेपाली दूताबास गएर तत्कालिन महामहिम राजदूत श्री गणेश योञ्जन तामाङ र तत्कालिन उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुबेदीज्यूलाई सबै परिस्थितिको जानकारी गराएँ र प्रहरी अनुसन्धानका लागि बिशेष पहल गरिदिन समेत अनुरोध गरेको थिएँ ।
८. मेरो टोकियोको भ्रमणको रिपोर्ट पछि संभवत सबै ठाउँको अनुरोध र दबाब आएपछि फुकुओका प्रहरी करिव एक महिना पछि सबिनाको खोजी र अनुसन्धान कार्यमा प्रस्तुत भएको थियो । प्रहरीले के कस्ता प्रकृतिका अनुसन्धान गर्यो भन्ने कुरा हामीलाई सबै जानकारी हुने कुरा भएन र कतिपय जानकारी पाएका कुरा पनि अनुसन्धानमा प्रभाब पर्न सक्ने भएकोले यहाँ भन्न सकिदैन । प्रहरीले के कति गर्यो भन्ने कुरा मैले थाहा पाए जति सबिनाका बुबा तथा दिदीहरुलाई अनौपचारिकरुपमा मैले जानकारी दिइरहेको थिएँ भने नेपाली दूतावास टोकियो, प्रहरी तथा फुकुओकास्थित नेपाली कन्सुलर अफिसबाट औपचारिक जानकारी त्यस समयमा भएको जानकारी हामीले पाएका थियौं । कतिपय रिपोर्टहरु जापान सरकार एबं प्रहरी प्रशासनले आफ्नो प्रक्रिया अनुसार गर्ने कुरा पनि हामीलाई जानकारी गराएका थिए ।
९. नेपाली दूतावासबाट महामहिम राजदूत योञ्जन, उपनियोग प्रमुख डा. सुबेदी, अनिल लम्साल, कृष्ण थापाज्यूहरु पनि बेलाबेलामा फुकुओका आई खोजी र अनुसन्धानको सन्दर्भमा फुकुओका प्रहरीसंग भेट गर्नुभएको थियो । त्यसपछि महामहिम राजदूत डा. मदनकुमार भट्टराईज्यू तथा तापस अधिकारीज्यूको पालामा पनि सबिनाको खोजी सम्बन्धि धेरै कुराकानीहरु गरेको थिएँ ।
१०. संक्षेपमा भन्नुपर्दा जापानी प्रहरीले आफ्नो सीप, नियम र प्रक्रिया अनुरुप सबिनाको खोजी कार्य तथा कुनै अप्रिय घटनाको संभावनाको अनुसन्धान पुरा गरेको जानकारी हामीलाई गराईएको थियो । उनीहरुको अनुसन्धानमा कतै पनि अपराधको संकेत नपाएको भनिएको छ साथै उनी कहाँ र कुन अबस्थामा छन् भन्ने कुरामा पनि कुनै संकेत भेटाउन नसकेको भन्दै हाल पनि उनीहरुले सबिनाको खोजीकार्य आफ्नो नेटवर्क अनुसार भईरहेको बताउँछन । अनुसन्धानको लागि सबिनाको परिवारको डिएनए समेत उनीहरुले संकलन गरेका छन् । सानुलालजीको यहाँ आउँदा नै डिएनए लिएका थिए भने बाँकी परिवारको प्रहरीको अनुरोधमा प्रहरीले दिएका डिएनए लिने सामग्रीमा नेपाल जाँदा परिवारलाई दिएर पछि जापान फर्कदा ल्याएर प्रहरीलाई दिएको थिएँ ।
११. यसैबिच सबिनाको खोजीमा जापान प्रहरी, मेरो र हाम्रो स्कुल एबं नेपाली दूतावासका प्रयासहरुका बारेमा सबिनाको अभिभाबकलाई प्रत्यक्ष जानकारी दिन र प्रहरी अनुसन्धानलाई अझ बढी प्रभाबकारी बनाउन दबाव दिने उद्देश्यले सबिनाका बुबा सानुलाल महर्जनलाई सबिनालाई जापान पठाउने ईन्ष्टिच्यूटका तत्कालिन प्रमुखको साथमा जापान आउने प्रबन्ध गरियो जस अनुसार २०१० को जुलाईमा जापान आउनुभयो । जुलाई २६ बाट २९ सम्म फुकुओका र २९ देखि अगस्त ४ सम्म टोकियोको भ्रमण गरी नेपाल फर्किनु भएको थियो । सो अबधिमा फुकुओका प्रिफेक्चरको प्रहरी हेडक्वार्टरमा अनुसन्धान कार्य सम्बन्धिको गतिबिधि एबं प्रतिबेदनमा छलफल बैठक भएको थियो । उक्त बैठकमा फुकुओका प्रिफेक्चरका उच्च प्रहरी अधिकृतहरु, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु नेपाली दूतावासका प्रतिनिधि अनिल लम्साल, फुकुओकाका नेपाली महाबाणिज्य दूत र उहाँको सेक्रेटरी, स्कुलका प्रिसिपल, सबिनाका बुबा सानुलाल महर्जन, इन्ष्टिच्यूटका प्रिन्सिपल र म स्वयम उपस्थित थियौं । यस बैठकमा प्रहरीले आफुले गरेका अनुसन्धानका विभिन्न पक्षहरुको जानकारी गराएको थियो । प्रहरी प्रमुखले सानुलालजीलाई हात मिलाएर जापानी प्रहरीले तपाईको छोरी खोज्न पुरा मिहेनत गर्नेछौ भनेका थिए ।
१२. प्रहरी संगको बैठक पछि सानुलालजीले महाबाणिज्य दूतको अफिस, स्कुल, सबिनाले काम गर्ने ठाउँहरुमा गएर भेटघाट गर्नुभएको थियो । सबिनाको बुझ्न बाँकी तलब पनि बुबालाई दिने कुरा भयो जस अनुसार करिव १ लाख २० हजार येन पैसा उहाँलाई मैले नै उपलब्ध गराएँ । सबिना बसेको घरको पनि निरीक्षण गर्नुभएको थियो । साथै बाणिज्य दूतको अफिसमा पत्रकार भेटघाट पनि भएको थियो जुन भोलिपल्टको पत्रिकामा सबिना र सानुलालजीको फोटो सहित प्रकाशित भएको थियो । फुकुओका नेपाल सोसाइटीका पदाधिकारी एबं सदस्यहरुसंग पनि भेला बोलाई सबिनाको खोजीमा सहयोग गर्न अनुरोध गरिएको थियो ।
१३. सानुलालजी स्कुलमा पनि आउनुभयो हाम्रो प्रिन्सिपलले स्कुल तथा मेरा तर्फबाट गरेका तमाम कुराहरुको विवरण दिनुभयो । सानुलालजी सबिनाको मोबाइल फोन बन्द गर्न पनि सफ्टबैंकको अफिस जानु भयो तर व्यक्तिगत सूचनाको कानूनले बन्द गर्न मानेनन । फुकुओकाका सबै कार्यक्रममा हाम्रो साथमा नेपाली राजदूतावासका अनिलजी संगै हुनुहुन्थ्यो ।
१४. फुकुओकाको कार्यक्रम सकिएपछि सानुलालजी, अनिलजी र म टोकियो प्रस्थान गरियो । सिधै दूतावास गएर महामहिम राजदूत गणेश योञ्जनसंग भेटघाट र कुराकानी भयो । राजदूतज्यूले जापानकै प्रहरी प्रमुखसंग भेट गराउने कार्यक्रम बनाउनुभएको रहेछ त्यसैले भोलिपल्ट उहाँले आफैले संगै लिएर जानुभयो र सबिनाको खोजीको लागि बिशेष अनुरोध पनि गर्नुभयो । सानुलालजीले पनि आफ्नो पीडा व्यक्त गर्नुभएको थियो । प्रहरी प्रमुखले पनि अनुसन्धान राम्रो संग हुने कुरामा विश्वास दिलाएका थिए ।
१५. यस बाहेक मैले शुरूमै बिशेष रुपमा नेपाली समुदायसंग पनि सबिना हराएको कुरा र उनको खोजीमा सहयोग गर्न एनआरएन जापान, नेपाली जनसम्पर्क समिति लगायत मैले चिनेजानेका सबै तह तप्काका संघसंस्थाहरु एबं महानुभाबहरुलाई अनुरोध गरेको थिएँ । नेपाल जाँदा पनि हरेक पटक नेपालस्थित जापानी राजदूताबासमा सबिनाको खोजीमा सहयोग गर्न अनुरोध गर्दै आएको थिएँ । जापानी राजदूत एबं सुरक्षा सम्बन्धि अधिकारीहरु संग पनि सबिनाको खोजीमा सहयोग गर्न बारम्बार अनुरोध गरेको थिएँ । यसका साथ साथै सानुलालजीको परिवारलाई पनि यहाँका सबै बस्तुस्थितिको जानाकरी शुरु देखि नै गर्दै आएको थिएँ । मैले अफ्नो तहबाट गर्न मिल्ने गर्न सक्ने सबै कुराहरु अत्यन्त निष्ठाका साथ गर्दै आएको थिएँ र छु ।
१६. हाल फुकुओकाको प्रहरीको खोजी कुन अवस्थामा छ भनेर बुझ्न खोज्दा फुकुओका मिनामी प्रहरीले सबिनाको खोजी आफ्नो नेटवर्कमा राखेको छ भन्छन् । फुकुओका मिनामी वार्ड प्रहरीले हरेक चोटी स्कुलहरुको मिटिङमा सबिनाको फोटो राखेर पर्चा बाँड्दै कहिकतै कसैले सबिनाको बारेमा सानो पनि खबर भएमा हामीलाई जानकारी दिनु होला भनेर भन्छन ।
१६. सबिना महर्जनको खोजीमा भए गरेका केही प्रमुख विवरणहरु यिनै हुन् । यस बाहेक पनि अरु अनगिन्ती सानामसिना काम कुराहरु गर्दै सबिनाको खोजीमा मैले धेरै समय बिताएको छु । सबिनाको खोजीमा भएगरेका कुरालाई गलत र भ्रामक रुपमा प्रचार प्रसार नगर्न सम्बन्धित सबैमा बिनम्र अनुरोध गर्न चाहन्न्छु । अनुसन्धानको क्रममा इन्टरपोलसम्म कुरा पुगेको कुराले उनको खोजी र अनुसन्धानको गहिराई बुझ्न सकिन्छ । यतिसम्मको प्रहरी खोजी र अनुसन्धान लगायत अन्य कुराहरुमा मैले र मेरो स्कुलको सक्रिय सहयोग रहेको कुरा जगजाहेर हुँदाहुँदै र स्कुलको निमन्त्रणामा जापान आई यहाँको सम्पूर्ण वस्तुस्थिति बुझेर गएपछि धर्मराज अधिकारीले केही गरेनन् स्कुलले केही सहयोग गरेन भनेर स्वयम सबिनाको बुबा सानुलालजीले भनेको कुराले मलाई र स्कुलका सम्पूर्ण स्टाफ तथा नेपाली विद्यार्थीलाई स्तब्ध तुल्याएको छ । म उहाँलाई हार्दिकता पूर्वक अनुरोध गर्न चाहन्छु कि म र स्कुलप्रति तपाईले राख्नु भएको नकारात्मक सोंचलाई छाडेर छोरीको खोजीमा सकारात्मक र आशावादी हुनुहोस । यतिखेर पनि म निरन्तर रूपमा सबिनाको दिदीसँग सम्पर्कमा छु । उनी अत्यन्त सकारात्मक र आशावादी छिन् र उनले म र मेरो स्कुललाई सबिनाको खोजीमा निरन्तर रुपमा सहयोग गरिदिन अनुरोध पनि गरिरहेकी छिन् ।
यति हुँदाहुँदै पनि उनको अवस्था थाहा नपाउनु हामी सबैको गम्भिर चिन्ताको विषय हो । उनी नभेटिएसम्म उनको खोजीकार्य निरन्तर हुन जरुरत छ । वर्तमानमा पनि म र स्कुल प्रहरीको निरन्तर सम्पर्कमा बसिरहेका छौ । सबिनाका बुवा, दिदी समेत प्रहरीको सम्पर्कमा रहेको कुरा सुनेका छौं । तर उनको बारेमा कुनै नयाँ खबर आउन सकेको छैन । त्यसैले उनको खोजीमा सम्पूर्ण नेपाली समाजले एकिकृत रुपमा सबैको सहयोग र सद्भाब लिएर हिड्नपर्ने आजको आवश्यकता हो । भए गरेका कुरालाई भ्रमित गर्ने र गराउने कुनै पनि प्रयत्नले सबिनाको खोजिमा सकारात्मक असर पार्दैन भन्ने कुरा पनि सबैमा निबेदन गर्न चाहन्छु । त्यसैगरी बर्तमान समयमा हाम्रा आम सञ्चारको माध्यम तथा सामाजिक सञ्जालको सही, तथ्यपरक र अनुसन्धानात्मक एबम मर्यादित प्रयोगले सबिनाको खोजीमा महत्वपूर्ण योगदान दिन सकिन्छ भनी विश्वास गर्न सकिन्छ । अहिलेसम्म भएगरेका खोजी र अनुसन्धान सम्बन्धी कुरा बुझ्न नेपाली राजदूताबास टोकियो अथवा जापानी प्रहरी फुकुओका आधिकारीक निकाय हुन् भन्ने मलाई लाग्दछ । त्यसैले सबिनाका सम्बन्धमा कुनै कुरा जानकारी गर्नु गराउनुपर्दा यी निकायहरुमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
अन्तमा, सबिनाको परिवारले लामो समय भोग्नु परेको पीडा र बेदनाप्रति मेरो पूर्ण सहानुभूति छ र सबिना महर्जनको खोजीमा मेरो व्यक्तिगत तर्फ र स्कुलको तर्फबाट हुन सक्ने सबै सहयोग निरन्तर रुपमा रहिरहनेछ भन्दै सबिना छिटो भन्दा छिटो सकुशल घर फिर्ता हुन सकुन् भनेर भगवानसंग प्रार्थाना समेत गर्न चाहन्छु ।***