Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – “आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा” लोकबहादुर क्षेत्रीको यो गीतले मन छोयो भन्नेहरु धेरै भेटिन्छन् । त्यी नै मध्येका एक हुन्, लोक गायक राजन गुरुङ । लोक बहादुर क्षेत्रीका यस्तै मौलिक गीतले राजनको मन मात्र छोएन, लोक गायक बन्ने चाहना समेत जगायो । उनी सानैदेखि सबै प्रकारका गीतहरु गाउँथे । 

मेलापात हिड्दा होस् वा गोठालो लाग्दा नै किन नहोस् उनी भाका हाल्न थालिहाल्थे । गाउने बानीले गर्दा नै होला उनको स्वरमा निखारता थियो । त्यसैले गायन प्रतियोगीताहरुमा उनले कहिल्यै दोश्रो हुन परेन । गीत गाउन भनेपछि निकै हौसिने राजन घरको जेठो सन्तान हुन् । “बुवाआमाको लागि त म माइलो छोरो हुँ, तर जेठो दाई सानैमा बित्नुभएकाले जेठोबाठो बन्न पुगेँ”, उनले सुनाए । उमेरसँगै ज्यान पनि हलक्क बढेपछि उनले साथिभाईबाट लाहुरे बन्ने सुझाव पाए । त्यो सुझावलाई गम्भीरतापूर्वक लिए । किशोरावस्था नबित्दै मनभरी लाहुरे बन्ने सपना सझाए । यूवा जोस जाँगर थियो त्यसैले ब्रिटिश आर्मी बन्न अनेक गरे । राजन भन्छन्, “एकचोटी फेल भइयो, दोश्रो पटक ट्राई मारियो, दोश्रो चोटी पनि असफल भएपछि आफु नेपालमै फिट रहेको निकष्र्श निकालियो ।”

सुमधुर स्वरका धनी राजन गीत गाउन मात्र होइन मान्छेलाई आफ्नो वशमा पार्न पनि सानैदेखि सिपालु थिए । यहि कलाले उनले मायालुलाई वशमा पारे । उरन्ठ्यौलो उमेरमा मनले खाएको मान्छे अमृतालाई अनेक गरेर फकाए । सबै डर र चिन्तालाई दुरमा राखेर बिहे गर्ने आँट कसे । मागेर लैजान नदिने सुईको पाएपछि आमाबावुको एक्ली छोरीलाई भगाएर लगे । ठट्यौली गर्दै राजन भन्छन्, “हाम्रो छोरा नै जवान भइसक्यो तर पनि अमृताको सुन्दरता जस्ताको त्यस्तै छ, यस्तो सुन्दरीलाई त्यो बेलामा भगाउने आँट नगरेको भए सयौँ जुनीसम्म पनि पाउँदिन थिएँ होला ।” लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय सदस्य समेत रहेका राजन गुरुङ, विवाह गरेपछि नै संगीत क्षेत्रमा लागेका हुन् । खेतमा हलो जोत्दै गर्दा साथी तिलकले उनको स्वरको निकै प्रशंसा गरेछन् ।

आफ्नो पुरानो सपना ब्युँताइदिएछन् । पुरानो सपनालाई पछ्याउँदै उनी काठमाण्डौँ छिरेछन् । वि.सं २०५८ तिर राजधानी छिरेर उनले पारी शित्तल बनैमा …. बोलको पहिलो गीत रेर्कड गराए । त्यो गीतले उनलाई संगीत क्षेत्रका केहि मानिससँग घुलमिल गरायो । गायक तथा बाध्यबादक साधुराम रोक्कासँगको घनिष्ठता बढायो । स्वर त थियो तर सुर, ताल र संगीतको ज्ञान दिलायो । संगीत क्षेत्रमा होमिएका राजनको पहिलो गीत रेकर्ड भएदेखि नै संघर्षका दिन सुरु भए । बल्लतल्ल सोह्रखुट्टेको एक रोधी घरमा गाउने काम पाए । महिनामा ५ हजार तलब हुन्थ्यो । डेढ वर्ष काम गरे । रोधी घरमा दोहोरी गाए ।

दर्शक श्रोतालाई मनोरञ्जन दिलाए । तर, बिस्तारै आफु चाहिँ बिरक्तिए । बिरामी हुँदा औषधी किन्ने पैसाको समेत अभाव भएपछि उनलाई वैराग लाग्यो । त्यै वैराग्यले उनलाई पुनः घर फर्कायो । संगीत कर्मबाट टाढा हुन बाध्य बनायो । कास्की घान्द्रुकमा जन्मिएर नवलपरासीमा हुर्किएका उनले घर फर्किएपछि व्यवसाय सुरु गरे । ब्रर्दश ग्रुपको रुपमा अहिले राजनको कम्पनी चितवनमा प्रख्यात छ । त्यहि कम्पनीको सहायताले उनी लोकबहादुर क्षेत्रीको गीत सुन्दै गर्दा बुनेको सपना पुरा गर्न लागि परिरहेकै छन् । फलस्वरुप उनले गाएका घान्द्रुक गाउँको भोटे, आकाशै माथि जहाजै उड्यो, उहि खोलीमा पानीलगायतका गीतले चर्चा कमाउन सफल भइसकेका छन् ।

यीनै गीतले राजनलाई विभिन्न जिल्ला पुर्याइसकेको छ । गायकको परिचय दिइसकेको छ । देश विदेश पनि घुमाउने विश्वास लागिसकेको छ । उनी भन्छन्, “गायक त बनेँ तर, लोक गायक बन्न अझै सकेको छैन, लोक गायकको रुपमा परिचित बनेर मात्र संसार छाड्ने धोको छ।”

तपाईको प्रतिक्रिया