Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

सर्लाही – नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय समितिले चितवन शाखालाई ‘उत्कृष्ट शाखा–२०७२’ बाट सोमबार सर्लाहीको लालबन्दीमा सम्पन्न मध्यमाञ्चल भेलामा कदरपत्रसहित सम्मान गरेको छ ।

व्यावसायिक र मर्यादित पत्रकारिताको विकास तथा श्रमजीवि पत्रकारहरुको हकहित र अधिकारका साथै महासंघको संगठनात्मक सुदृढिकरण र संस्थागत विकासका लागि निरन्तररुपमा सशक्त कार्य गरेको भन्दै चितवन शाखालाई सम्मान गरिएको मध्यमाञ्चल क्षेत्रीय समितिका संयोजक शितलप्रसाद महतोले जानकारी दिनुभयो ।

मध्यमाञ्चल भेलामा दुई दशकदेखि पत्रकारितामा आवद्ध धादिङका राजेन्द्र प्रताप शाह र पर्साका कन्हैयालाल केशरीलाई पनि सम्मान गरिएको थियो । महासंघको गत वैशाखमा सम्पन्न केन्द्रीय साधारण सभामा पनि चितवन शाखा देशभरका पत्रकार महासंघ शाखामध्ये उत्कृष्ट हुन सफल भएको थियो । हाल पत्रकार महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ ।

मध्यमाञ्चल भेलामा महासंघका चितवन शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले आफ्नो शाखा सम्मानित भएपछि अझ जिम्मेवारीका साथ काम गर्ने जाँगर जन्मिएको बताउनुभयो । चितवन शाखालाई उत्कृष्ट बनाइराख्न भूमिका निर्वाह गर्ने महासंघको कार्यसमिती, सल्लाहकार, सम्पूर्ण संचारकर्मी र सिङ्गो चितवनको पत्रकारिता यो खुशीयालीको भागिदार भएको बताउँदै अध्यक्ष पोखरेलले यो अवसरका लागि पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय समिति र केन्द्रीय समितिप्रति हार्दिक आभारसमेत व्यक्त गरेका छन् ।

यसैबीच सर्लाहीमा सम्पन्न क्षेत्रीय भेलाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई पुनःआह्वानलगायत बाह्रबुँदे घोषणापत्र जारी गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष, सल्लाहकार, केन्द्रीय सदस्य तथा मध्यमाञ्चल क्षेत्रका शाखा अध्यक्ष एवम् पदाधिकारीको सहभागितामा सम्पन्न भएको भेलाले निर्धारित पारिश्रमिक, बिमा तथा स्वास्थ्योपचार सुविधालगायत विषयमा गम्भीरतापूर्वक पहल गर्न सरकारसँग माग गरेको छ ।

पत्रपत्रिकाको वर्गीकरण प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउनका लागि महासंघ क्षेत्रीय समितिले प्रेस काउन्सिल नेपालसँग आग्रह गर्दै लोककल्याणकारी विज्ञापनबापतको वृद्धि रकम सहज रुपमा भुक्तानी गराउन माग गरेको छ ।

त्यसैगरी नेपालीले चाहना गरेको समृद्ध, समावेशी र लोकतान्त्रिक नयाँ नेपालको निर्माणसँगै नेपाली पत्रकारिताले पनि नेपाली समाजका विविधताभित्र समानता, सम्मान र सहअस्तित्वलाई स्वीकार गर्दै सामाजिक समावेशीकरणलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

मध्यमाञ्चल क्षेत्रमा विभिन्न बहानामा पत्रकार र सञ्चारमाध्यममाथि भौतिक असुरक्षा कायमै रहेकाले महासंघको भेलाले पत्रकारमाथि भएका आक्रमणको भत्र्सना गर्दै आगामी दिनमा यस्ता प्रवृत्ति नदोर्याउन तथा पत्रकारको भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

संविधानसभामा रहेका सबै राजनीतिक दलले संविधानसभाबाट विसं २०७४ माघ ७ गतेभित्र नयाँ संविधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गरी संविधान पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको अवस्थामा दलहरु उदासीन देखिएको ठहर गर्दै भेलाले राजनीतिक विवादका विषयको समाधान गर्दै तत्काल निर्वाचनको मिति तय गरेर संविधान कार्यान्वयनको दिशामा अघि बढ्न माग गरेको छ ।

पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय संयोजक शीतल महतोको अध्यक्षतामा भएको भेलामा महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, पूर्व अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया