Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सार्वजनिक यातायातबाट सार्वजनिकस्थल र सडकमा फोहर नफ्याँक्न अनुरोध गर्दै आजदेखि जनचेतनामूलक अभियान सुरु गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टबिन राख्ने सहमति भएअनुसार आजदेखि अभियान सुरु गरिएको हो ।

आज बिहान रत्नपार्कस्थित पुरानो बसपार्क, गोङ्गबु नयाँबसपार्क र लगनखेल बसपार्कमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।

अभियानका क्रममा रत्नपार्कमा १००, गोङ्गबुमा १५० र लगनखेलमा ६० वटा डस्टबिन निःशुल्क वितरण गरिएको छ । यो महिनाभर देशभरका सार्वजनिक यातायातमा यस किसिमको चेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम छ । माघदेखि कानुनबमोजिम कारबाही गरिनेछ ।

सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोटल, खानेकुराका अवशेष, प्लास्टिक झोला, कागज) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले अभियान सञ्चालन गर्नुपरेको हो ।

“सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइक्रोनमाथिको पोलिथिन थैलो वा डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ, सवारी छुट्नु अघि चालकले डस्टबिन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्छ भनी जागरणमूलक कार्यक्रम गर्यौंं, सो अवसरमा निःशुल्क डस्टबिन पनि वितरण गरियो”– उहाँले भन्नुभयो ।

जागरण अभियानपछि यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम रु ५०० देखि रु पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा रु एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।

सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देशन दिएको छ । यो व्यवस्था कार्यान्वयनको अनुगमन स्थानीय निकायले गर्नेछन् । यो व्यवस्था लागू भएपछि सवारीसाधनबाट सडकमा थुक्न पनि पाइने छैन । सवारीबाट सडकमा थुक्नेलाई समेत रु ५०० जरिवाना गरिने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

अभियानमा यातायात व्यवसायी, केन्द्र, काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका अधिकारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया