Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ –उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइको १८६ औँ हप्तामा आज त्रिपुरेश्वर पुलमुनि सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूह नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूह जनचेतनामूलक कार्यक्रम गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पूर्व सचिव किशोर थापा लगायतले नेतृत्व गर्नुभएको थियो ।

अधिकार सम्पन्न वाग्मती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीवन विज्ञान नेपालका साधक साधिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, सिस्नुपानी नेपाल, धुर्मुस–सुन्तली फाउन्डेसन, एडमार्क स्कुललगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । रुद्रमती सफाइको १४५औँ हप्तामा आज गौशालाचोकदेखि कमलपोखरी चोकसम्म पानीको फोहराले धुलो सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइका लागि महानगरपालिकाले ब्रोमर मेसिन र पानीको फोहरा हान्ने मेसिन उपलब्ध गराएको थियो । यसअघि फोहर मुक्त घोषणा गरिएको सो सडकलाई धुलोमुक्त बनाउने अभियानमा लागिएको समाजले जनाएको छ । सो अवसरमा सडकको किनारामा फालिएको एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, महानगरपालिकाका–७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

विष्णुमती सफाईको ११९औँ हप्तामा आज परोपकार पुलमुनि सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको नेतृत्वमा सफाइसँगै पुलमुनिको अव्यवस्थित बस्ती पनि हटाइएको अभियानकर्मी बिजेन्द्र लामाले बताउनुभयो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका २० वटा वडाका कर्मचारी एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । नख्खुखोला सफाइको ६६औँ हप्तामा आज नख्खु जेलसँगैको पुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतले सफाइ गरे ।

तपाईको प्रतिक्रिया