Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अमेरिकी अण्डर सेक्रेटरी अफ स्टेट वेण्डी आर शेरमानबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विहिबार भएको भेटवार्तामा नेपालको समसामयिक परिस्थिति, दुई पक्षिय हित र अन्तराष्ट्रिय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा शेरमानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा चासो राख्नु भएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले चैत्र मसान्त सम्म शान्ति प्रक्रिया टुंगोमा पुग्ने जानकारी गराउँदै यसमा कुनै शंका नगर्न आग्रह गर्नु भएको थियो । उहाँ अव बन्ने संविधान समावेशी, समानुपातिक, सहभागिता मुलक र लोकतान्त्रिक हुने पनि बताउनु भएको थियो ।
सेक्रेटरी शेरमानले नयाँ संविधानमा महिला तथा तेश्रोलिंगीहरुको अधिकार कस्तो रहने भन्ने विषयमा पनि चासो राख्नु भएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले महिला तथा तेश्रोलिंगीको अधिकार सुनिश्चित हुनेमा कुनै आशंका नगर्न आग्रह गर्दै अत्यन्तै अग्रगामी संविधान निर्माण गरिने जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले मानव अधिकार, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, तिब्बति र भूटानी शरणार्थीका अधिकारका विषयमा पनि चासो राख्नु भएको थियो । जवाफमा प्रधानमन्त्रीले मानवअधिकार प्रति प्रतिवद्ध रहेको भन्दै अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै शरणार्थीहरुको अधिकार सुनिश्चित हुने बताउनु भएको थियो ।
भेटमा प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियाको पूर्णतासँगै नेपालको मुख्य चासो तिब्र आर्थिक विकास हुने भएकोले त्यसका लागि अन्तराष्ट्रिय समर्थन आवश्यक हुने बताउनु भएको थियो । त्यस्तै उहाँले आफ्नो नेतृत्वको सरकारले विदेशी पूँजी भित्राउने नीति लिएको र त्यसका लागि लगानी वोर्ड समेत गठन गरिसकेको जानकारी गराउनु भएको थियो । लगानी वोर्ड मार्फत विदेशी लगानीलाई सुरक्षित गर्दै नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न आव्हान गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सेक्रेटरी शेरमानले अव नेपालको विदेश नीति कस्तो हुने भन्नेमा चासो राख्नु भएको थियो । जवाफमा प्रधानमन्त्रीले परम्परागत रुपमा नेपाल दुई छिमेकीको बीचमा पर्खालको रुपमा रहने र आफ्नो स्वाधिनताको रक्षा गर्ने रहेकोमा अव सार्वभौम सत्ताको रक्षाका लागि दुई देशबीचको गतिशिल पुलको रुपमा रहने बताउनु भयो । उहाँले पूरानो युगमा पर्खालको रुपमा रहे पनि अव बदलिदो परिस्थिति अनुसार पर्खाल नभएर गतिशिल पुल हुने बताउनु भयो ।
गतिशिल पुलको रुपमा रहेर मात्र हामीले तिब्रतर विकास गर्न सकिने समेत उहाँले बताउनु भयो । उहाँले दुई छिमेकीसँगसँगै बाहिरी देश अमेरिका लगायतका मुलुकहरुसँगको सम्बन्ध पनि अन्तराष्ट्रिय शक्ति सन्तुलनका आधारमा हुने बताउनु भयो । सन्तुलित अन्तराष्ट्रिय सम्बन्धले मात्र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न सकिने भन्दै अन्तराष्ट्रिय शक्ति केन्द्रहरुसँग सन्तुलित सम्बन्ध राख्न चाहेको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्रीको यो भनाईलाई सेक्रेटरी शेरमानले मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो । प्रधानमन्त्री भट्टराईले समग्रममा भेटवार्ता अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो ।
अव के सन्देश लिएर जाउँ भन्ने सेक्रेटरी शेरमानको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य समयमै टुंगोमा पुग्छ र नेपाल तिब्र आर्थिक विकासको गतिमा अघि बढ्नेछ भन्नेमा विश्वस्त भएर फर्कन आग्रह गर्नु भएको थियो । सेक्रेटरी शेरमान पछिल्लो समय नेपाल आउने सबैभन्दा उच्च पदस्थ अधिकारी हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया