Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पर्सा – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको इच्छा, भावना र माग बमोजिम सरकारले आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको जानकारी दिनुभएको छ ।

काँग्रेसको पहलमा सरकारले ल्याउन लागेको संशोधन प्रस्ताव सबै दलको सहयोगमा पारित हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले प्रस्तावको विरुद्ध जाने दललाई नेपाली जनताले दण्डित गर्ने दाबी गर्नुभयो । नेपाली काँग्रेस पर्साले वीरगन्जमा आज आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले मधेसी जनताको भावना र निष्ठामाथि शङ्का नगरी उनीहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न सबै दललाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो –“संसद्मा भोलि नै मधेसको माग र भावनाअनुसार संशोधन प्रस्ताव दर्ता गर्दैछौँ र त्यो पास पनि गराउँछौ ।” मधेसी जनताले माग गरेअनुसारको सीमाङ्कन, अन्तरिम संविधानमा भएको नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषालगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारिएको भन्दै काँग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पास हुनैपर्ने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले राष्ट्रसमक्ष संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी सङ्घीयतालाई बलियो बनाउने अभिभारा बाँकी रहेकाले संविधानलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकास दिन एमालेलगायत सबै दललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री दीपक गिरीले संविधान संशोधनको औचित्य छैन भनी एमालेले संविधान कार्यान्वयनमा समस्या सिर्जना गर्न चाहेको आरोप लगाउनुभयो । उहाँले मधेसी जनताको माग संबोधन गरी संविधानलाई सर्वस्वीकार्य नबनाए स्थानीय निकायको निर्वाचन हुन नसक्ने र संविधानसमेत कार्यान्वयनमा शङ्का उत्पन्न हुने भएपनि एमालेले संशोधन प्रस्तावविरुद्ध जनमानसमा भ्रम सिर्जना गरिरहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई काँग्रेस केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, फरमुल्लाह मन्सुर, गुरुराज घिमिरे, सांसदहरु राजेन्द्रबहादुर अमात्य, अनिल रुंगटा, रामअयोध्या यादव, राधेचन्द्र यादव, मधु शाही, लालबाबु सिंह, जितेन्द्र यादवलगायतका वक्ताले मधेसीको मागलाई हरहालतमा सम्बोधन गरी मुलुकलाई निकास दिन सबै दललाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया