Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पोखरा – नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०.०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन ।
हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै रहे पनि बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिको गुनासो छ ।

अध्यक्षको प्रतिवेदनमाथि छलफल सकिएपछि आजै आर्थिक प्रतिवेदन एवम् समसामयिक विषयमा छलफल हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिनुभयो । अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा नेपाल तरुणको विद्यमान साङ्गठनिक अवस्था, सङ्गठनको आगामी कार्ययोजना, भ्रष्टाचार एवम् देशका अन्य विभिन्न विकृतिमा तरुणहरूको भूमिकालगायतको विषय समेटिएको छ ।

हिजोको बन्दसत्रमा प्रतिवेदनमाथि बोल्ने प्रतिनिधिले २१ औँं शताब्दीको परिवर्तित एवम् विकसित समाजको मागअनुरुप देशको आर्थिक एवम् सामाजिक विकासका लागि योगदान गर्नसक्ने किसिमको तरुण नेतृत्व आवश्यक भएकामा जोड दिएको काफ्लेले बताउनुभयो । महाधिवेशनको कार्यक्रम अन्तर्गत आज निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिए पनि अहिलेसम्म निर्वाचनको कुनै प्रक्रिया बढेको छैन ।

निर्वाचन समितिलाई निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली प्राप्त नभएका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन अधिकृत विश्व घिमिरेले जानकारी दिनुभयो । तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पार्टी नेतृत्वमा छलफल जारी रहेका कारण पनि बन्दसत्र एवम् निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ ।

यसैबीच, आजै उत्तमकुमार चापागाईं नेतृत्वको समूहले एक पत्रकार सम्मेलन गरी सर्वसम्मतको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका चापागाईंले विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गराउन तत्काल निर्वाचनको प्रक्रिया थाल्न आग्रह पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया