Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताउनुभएको छ ।

द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा यहाँ आज आयोजित ‘त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र स्वतन्त्र मुलुक नेपालले मैत्री, विश्वास र आपसी समझदारीबाटै अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री दाहालले पर्यटनको क्षेत्रमा कैलाश मानसरोवरदेखि पशुपतिनाथसम्म, लुम्बिनीदेखि वनारससम्म जोड्नुपर्ने भन्दै त्यसका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

भारत र चीनले आफ्ना छिमेकी मुलुकलाई प्राथमिकता दिएको बताउँदै उहाँले यी दुई मुलुकसँग सौहार्द्र सम्बन्ध कायम गरेर समृद्धिको बाटोमा लाग्नु सुखद् अवसर भएको बताउनुभयो । “व्यापारको हिसाबले नेपाल महत्वपूर्णस्थल बन्न सक्छ, त्यसका लागि पूर्वाधार र बहुपक्षीय सडक तथा रेलमार्गले दुई ठूला मुलुक भारत र चीनलाई जोड्नुपर्छ”– उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रविधिको अपार सम्भावनाका दृष्टिले हिमालयपार सडक तथा रेलमार्गलाई रोक्न नसकिने भन्दै पूर्वाधारको विकासलाई केही दशकमै पूरा गरेर त्यस क्षेत्रले आर्थिक सम्वृद्धिको आधार सिर्जना गर्ने बताउनुभयो । नेपाल, भारत र चीनबीचको त्रिपक्षीय समझदारीलाई आफूले निरन्तर अगाडि बढाएको बताउँदै प्रधानमन्त्री दाहालले हिमालय सीमापारको मुख्य उद्देश्य आपसी सहकार्य गरेर अगाडि बढ्नु हो भन्नुभयो ।

गरिबी, बेरोजगारी, वातावरणीय परिवर्तन तथा आतङ्कवाद जस्ता समस्यासँग जुध्न आपसी मैत्रीभाव तथा समृद्धिको आदानप्रदान जरुरी रहेको उहाँको धारणा थियो । “हिमालय सीमापार सहकार्यमार्फत मुलुकको महत्वपूर्ण ऐतिहासिक एवम् जनस्तरको सम्बन्ध र परम्परागत सभ्यता, संस्कृति र व्यापारमा सहयोग पुग्छ”– उहाँले भन्नुभयो ।

सोही अवसरमा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले काठमाडौँलाई भारत र चीनको व्यापारिक पारवहन बिन्दु बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालप्रति भारत र चीनको विश्वासमा खडेरी आउन नदिन नेपालले सन्तुलन कायम गर्नुपर्ने सचिव ज्ञवालीको भनाइ थियो । त्यसैगरी, नेपाली काँग्रेसका नेता डा रामशरण महतले नेपाललाई व्यापारिक रूपमा अगाडि बढाउनका लागि संविधानको कार्यान्वयनसँगै राजनीतिक स्थिरता कायम गर्नुपर्छ भन्नुभयो ।

द डेभलपमेन्ट इन्स्टिच्युटका अध्यक्ष भरतमोहन अधिकारीले नेपालले नगदेबाली, सांस्कृतिक तथा पर्यटकीय सम्पदा र जलविद्युत्बाट थुप्रै फाइदा लिन सक्ने सम्भावना छ भन्नुभयो । अध्यक्ष अधिकारीले नेपाल, भारत र चीनबीचको क्षेत्रीय सद्भाव तथा सहयोगबाट शान्ति र समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । अरनिको राजमार्ग तथा चीनसँग जोड्ने स्याफ्रुबेँसी–केरुङ राजमार्गमा सहयोग गरिसकेको मित्रराष्ट्र चीनले ल्हासा–केरुङ जोड्ने रेल्वेको विकासको प्रक्रिया अगाडि बढाएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । आज दिनभरि चल्ने सो गोष्ठीमा नेपाल, भारत र चीनका विषय विज्ञले प्रस्तुत गर्नुभएका कार्यपत्रमाथि छलफल गरिनेछ ।

तपाईको प्रतिक्रिया