Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – एक्स सर्भिसमेन सेल पोखराले भारतीय सेनाबाट सेवा निवृत्त भएका पेन्सनर र आश्रित परिवारजनले पाउनुपर्ने पेन्सनलगायतका सुविधा सहज बनाउन माग गरेको छ ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा एक्स सर्भिसमेन सेल पोखराका संयोजक कर्नेल कमानसिंह गुरुङले धेरै भारतीय पेन्सनर र तिनका आश्रितले लामो समयदेखि धेरै समस्या भोगिरहेको बताउनुभयो ।

उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भएको मौकामा भारतीय सेनाबाट सेवा निवृत्त नेपाली तथा उनका परिवारजनले झेलेको कष्टबारे जानकारी गराउने योजना राखिएको बताउनुभयो । आफूहरू भारत सरकारको विरोधमा नभएको स्पष्ट पार्दै उहाँले भारत सरकारले विद्यमान असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सन १९८९ देखि पारिवारिक पेन्सन डकुमेन्टमा दुरुस्त गर्न सुरु भए पनि परिवारको नाममा हुने सम्पूर्ण कागजात पेन्सन पेइङ अफिस(पिपिओ) र रेकर्ड अफिसले दुरुस्त गर्न नसक्दा झन्झटिलो बनेको बताउँदै त्यसलाई सहज बनाउन अफिसरसहितको टिम भारतबाटै ल्याएर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।

पेन्सनरको मृत्यु पछि स्वतः उसको पत्नीको नाममा पेन्सन दिनुपर्ने भए पनि कागजपत्रमा सामान्य त्रुटि हुँदा धेरै कागज मगाएका कारण पेन्सन नपाएर धेरै जना पीडित बनेको हुँदा उक्त समस्या तत्काल समाधान गर्र्नुपर्ने मागमा राखिएको छ ।

त्यस्तै केही नेपाली भारतको ठेगानामा भर्ती भएका कारण उहाँहरुको ठेगाना भारतबाट पेन्सन एकाउन्ट नेपालमा ट्रान्सफर गरिनुपर्नेलगायतका माग रहेको गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कास्की काउँखोलाकी भारतीय पेन्सनर बुद्धिबहादुर गुरुङकी श्रीमती भीमकुमारी गुरुङले २०६३ सालमा पतिको मृत्यु भए पनि आफूले अहिलेसम्म पेन्सन पाउन नसकेको बताउनुभयो ।

उहाँले पतिको मृत्यु हुँदा छोरी तीन वर्षीय भएकामा अहिले १३ वर्ष पुगिसकेको बताउँदै आफनो जीविकोपार्जन निकै कठिनताका साथ गुज्रिरहेको दुखेसो गर्नुभयो ।

त्यस्तै भारतीय पेन्सनर योरो गुरुङकी श्रीमती मुगा गुरुङले सन् २०१० मा पतिको मृत्यु भए पनि आफूले अहिलेसम्म पेन्सन पाउन नसकेको दुखेसो व्यक्त गर्नुभयो । कार्यक्रममा कास्कीमा मात्र कुल भारतीय पेन्सनरको सङ्ख्या ६३ हजार भएको जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया