काठमाडौँ – जथाभावी फोहर फालेको पाएपछि काठमाडौँ महानगरपालिकाले जरिवानास्वरुप रु ७१ हजार रकम असुल गरेको छ । वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार दसैँका बेलामा स्थानीयवासीले अटेर गरी जथाभावी फोहर फालेपछि महानगरले कारबाहीस्वरुप सो रकम असुल गरेको हो ।
कालीमाटी, थापाथली, कुलेश्वर, टेकु, कलङ्कीको विभिन्न स्थानमा जथाभावी फोहर फाल्ने १५ जनावाट उक्त रकम असुल गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । चाडबाडका समयमा बढी फोहर हुने हुँदा कामपाले दसैँको समयमा सकेसम्म कम फोहर गर्न र घरबाट निस्केको फोहरलाई जथाभावी नफाल्न दसैँ सुरु हुनुपूर्व नै अनुरोध गरेको थियो ।
फोहरको प्रकृति, त्यसले नागरिकलाई पारेको प्रभाव र एकै व्यक्तिले सार्वजनिक स्थानमा पटक पटक फोहर फालेको पाएपछि कामपाले जरिवानास्वरुप रु पाँच सयदेखि रु २५ हजारसम्म असुल गरेको जनाएको छ ।
चाडबाडको समयलाई ध्यानमा राखी कमपाले बिहान ६ बजेदेखि मध्यराति ११ बजेसम्म प्रत्येक वडामा अनुगमन टोली परिचालन गरिएको थियो ।