विराटनगर – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुरानो शैलीको काम गर्ने तरिकामा परिवर्तन गरी कर्मचारीहरुलाई जनतालाई अनिभूत हुनेखालको काम गर्न निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आज कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो – “विगतमा एकात्मक केन्द्रित व्यवस्था थियो भने अब मुलुक सङ्घीयतामा गइसकेकाले हिजोको चिन्तन र सोचमा परिवर्तन गरी संविधानले र्र्नििदष्ट गरेका कार्यलाई सफल बनाउनका लागि कर्मचारीहरु अग्रसर हुनुपर्दछ ।” संविधानलाई अध्ययन गर्न कर्मचारीहरुलाई सुझाव दिँदै उहाँले संविधानको माध्यमबाट जनताले पाएको अधिकारलाई परिपूर्ति गर्नेतर्फ जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकारको प्राथमिकतामा परेका पाँचवटा कार्यलाई गम्भीर रुपमा अगाडि बढाउनुपर्ने विषयमा जोड दिँदै उहाँले भन्नुभयो – “संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु, भूकम्पपीडितलाई राहत वितरण, आर्थिक विकास र शान्ति, सुव्यवस्था र स्थानीय तहको निर्वाचन यी पाँच सरकारको मुख्य प्राथमिकताको कार्य रहेको छ ।”
संविधान कार्यान्वयनका क्रममा सातवटा प्रदेशका लागि सातवटा उच्च अदालतको स्थान तोकिएको चर्चा गर्दै उहाँले अब सरकार स्थानीय तहको निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्नेतर्फ केन्द्रित भएको बताउनुभयो ।
उहाँले स्थानीय तहको सीमाङ्कन, नामाङ्कन र सङ्ख्या निर्धारणका साथै स्वायत्त, विशेष र संरक्षित क्षेत्रसहित निर्धारण गर्ने कार्यलाई पुनःसंरचना आयोगले अगाडि बढाइरहेको जानकारी गराउनुभयो ।
सोही अवसरमा प्रजिअ तोयम रायले जिल्लाको गतिविधिबारे जानकारी गराउँदै नदीजन्य पदार्थ अवैध ढङ्गले हुने उत्खननको रोकथामका लागि समस्या र बजार अनुगमन गर्ने सम्बन्धित कार्यालयहरुमा कर्मचारीको अभाव र बाढीपीडितको अवस्थाबारे जानकारी गराउनुभयो ।
सोही अवसरमा विभिन्न कार्यालयका प्रमुखहरुले आ–आफ्ना कार्यालयका गतिविधि र समस्याबारे जानकारी गराउनुभएको थियो ।