इरान – ब्राजिलमा भएको रियो पाराओलम्पिकमा सहभागी इरानका पारा–साइक्लिस्टको निधन भएको छ ।
शनिबार राति पुरुष सि ४–५ रोड रेसको क्रममा दुर्घटनामा परेका इरानका पारा–साइक्लिस्ट बहमन गोल्बानेजहदको उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटिले जनाएको छ ।
४८ वर्षका बहमन दुर्घटनामा परेपछि उनको मुटुमा गम्भीर समस्या भएको थियो । दुर्घटना लगतै उनलाई अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएको केही समयपछि नै उनको निधन भएको हो । बहमन सन् २०१२ को लण्डन पाराओलम्पिकमा पनि सहभागी भएका थिए ।
दुर्घटनाको विषयमा छानबिन सुरु भएको छ ।