पोखरा – अघिल्लो वर्षको भूकम्पका कारण भौतिक रुपमा ठूलो क्षति बेहोरेका गोरखा जिल्लास्थित ताप्ले गाउँ विकास समितिका सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्नु यतिखेर दैनिकी बनेको छ ।
गोरखा सदरमुकामबाट ताप्लेका ढुङ्गाडे, गरापानी, डेरे गाउँ, कोखे आहाले, झिङ्गटे, छापथोक हुँदै घ्याम्पेसाल लगायतका स्थानमा ठूलो सङ्ख्यामा सवारी साधन दैनिक रुपमा आवतजावत गरे पनि बाटोका अधिकांश स्थानमा मर्मत हुन नसक्दा यात्रु समस्यामा परेका हुन् ।
अत्यन्त जोखिमपूर्ण यात्रा गर्दै सदरमुकाम जानु आफूहरुको बाध्यता भएको बताउने गरापानीका स्थानीयवासी शान्ता बयलकोटी बाटोको जर्जरपूर्ण अवस्थाप्रति सम्बन्धित निकायको ध्यान पुग्न नसकेको गुनासो गर्नुहुन्छ ।
बाटोको ढल निकासलाई व्यवस्थित गर्न नसक्दा बाटोमा पानी जम्ने समस्याका साथै ठूला खाल्टाखुल्टी रहेको उहाँले बताउनुभयो । बिग्रेको सडकका कारण सवारी साधन जाममा पर्ने गरेकाले डेढ दुई घन्टामा पुग्न सकिने बाटामो घन्टौँं लगाउनुपरेको तात्ले गाविस –३ का स्थानीयवासी मङ्गल परियारले बताउनुभयो ।
“ताप्ले र आसपासका क्षेत्रमा कृषिजन्य तरकारी, कोदो मकै जस्ता अन्नपात राम्रो हुने भए पनि बाटोका कारण सहज रुपमा सदरमुकाम पुर्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “सरकारले बाटोको राम्रो व्यवस्थापन गरिदिने हो भने यस क्षेत्रका कृषक व्यावसायिक कृषिमा पनि आकर्षित बन्ने थिए ।” परियार जस्तै अर्का स्थानीयवासी गोकुल राना मगर पनि बाटो व्यवस्थित हुन नसक्दा लामो समयदेखि यहाँका सर्वसाधारण विकासको मूलप्रवाहमा पछाडि परिरहेको बताउनुहुन्छ ।
बाटो राम्रो भएमा गोरखा सदरमुकामबाट एक डेढ घन्टाकै अन्तरालमा पुग्न सकिने यो ठाउँ ग्रामीण पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्नसक्ने भए पनि ओझेलमा परिरहेको मगरको भनाइ छ । जातीय सद्भाव र एकतालाई आत्मसात् गर्ने स्थानीयवासीको सङ्गमस्थलका रुपमा विकास भएको यो ठाउँमा बाहुन, क्षेत्री, मुस्लिम, दलित, मगर लगायतका विभिन्न जातजाति बस्ने गरेका छन् ।
बाटोको ट्र्याक यसअघि २०४० सालमै खुलाइए पनि अहिलेसम्म व्यवस्थित नहुँदा सर्वसाधारणमा निराशा छाएको अर्का स्थानीयवासी यामबहादुर बाँनियाको भनाइ छ । “बाटो व्यवस्थित गर्नका लागि सम्बन्धित निकायमा पटक÷पटक ध्यानाकर्षण गराइए पनि त्यस तर्फ चासो दिइएको छैन,” उहाँले भन्नुभयो – “हिउँदमा धुलो उडाउँदै जेनतेन सवारी साधन चले पनि वर्षाद्को समय सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको छ ।”
भूकम्पपछि भत्किएका संरचना तीव्र रुपमा निर्माण हुने तथा सडकमार्ग चाँडै नै व्यवस्थित गर्ने आश्वासन पटक÷पटक बाँड्ने गरिए पनि काम अघि नबढ्दा जनताका आशा निराशामा परिणत हुने गरेको उहाँले बताउनुभयो ।