काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान सर्वस्वीकृत संविधान हुन नसक्ने बताउनुभएको छ ।
काठमाडौँ–वाग्मती अञ्चल सम्पर्क कमिटीले आज यहाँ ‘विशेष महिला भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्दै उहाँले भन्नुभयो –“सर्वस्वीकृत संशोधन भए कार्यान्वयन हुने हो भने संसद्मा राजतन्त्र चाहियो, सङ्घीयता नचाहिने शक्ति पनि छन् । उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने ? त्यसैले सर्वस्वीकृत संशोधन हुन सक्दैन ।”
सर्वस्वीकृत भएपछि मात्र संविधान कार्यान्वयन हुन्छ भनेर भ्रम फैलाएको बताउँदै सर्वस्वीकृत भन्नु कार्यान्वयन नहुनु उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मार्फत ल्याइएका नयाँ योजना संविधानको नियमविपरीत ल्याएको जानकारी गराउनुभयो । “प्रधानमन्त्रीज्यूले संविधानको कुन धारा, नियमअनुसार ल्याउनुभएको हो”, उहाँले भन्नुभयो–“बिना बजेट ल्याइएका योजना सपना बाँड्ने काम भएको छ । ल्याइएका योजनाको बजेट कहाँबाट ल्याउने हो ? प्रधानमन्त्रीलाई प्रश्न सोधेका छौँ ।”
उहाँले स्थानीय तहको निर्वाचन नगरे सरकारविरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिनुभएको छ । आगामी चैतमा सरकार परिवर्तन र निर्वाचन एकैसाथ हुन नसक्ने ठोकुवा गर्दै उहाँले अहिलेको गठबन्धन सरकारले चुनाव गर्न नचाहेको जिकिर गर्नुभयो ।
“संविधान कार्यान्वयन नै नगरी २०७४ माघ ७ को म्याद सकाउने खेल हुँदैछ”, उहाँले भन्नुभयो–“त्यसपछि डाडुपन्यूँ मेरै हातमा हुन्छ भनेर सपना देख्न थालेका छन्, एमालेले त्यो सपना पूरा हुन दिने छैन ।” उहाँले तीनवटै निर्वाचन गरेर जनतालाई सम्पन्न गराउने र उपलब्धिलाई रक्षा गर्न एमाले दृढ भएर लाग्ने उल्लेख गर्नुभयो । एमालेलाई केहीले भारत विरोध भनेर आरोप लगाइरहेको भन्दै उहाँले भन्नुभयो – “एमाले कुनै देश र मधेस विरोधी पार्टी होइन । नेपालीप्रेमी पार्टी हो ।”
चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा संविधान निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले केही विदेशी राजदूतले संविधान निर्माण गर्दा संसद् सचिवालयका कर्मचारीलाई धम्काएको बताउनुभयो । उहाँले भारत र नेपालबीच भएको सन् १९५० को सन्धि गर्दा नै अव्यावहारिक भएकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो ।
कमिटीका अध्यक्ष श्याम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद आनन्द पोखरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सावित्री भुसाल, प्रदेश नं ३ की प्रदेश कमिटी सदस्य सरस्वती बस्नेतले प्रशिक्षण दिनुभएको थियो ।