Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – उपत्यकाका प्रमुख नदी सफाई गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।  बागमती सफाई महाअभियानको १७४ औँ हप्तामा शनिबार टेकु दोभानमा सफाई गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

Phohor

सफाईका क्रममा बङ्गुरलगायत चौपाया बध गरी रगत नदीमा बगाउनेको अनुगमन काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नेतृत्वको समूहले गरेको थियो । सफाईमा अधिकार सम्पन्न बागमती समिति, कामनपा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पचलीघाटस्थित चिन्तामणि महिला क्लबलगायत विद्यार्थीको पनि सहभागिता थियो । बागमती किनारस्थित पचलीघाटमा बागमती समिति, महानगरपालिका र चिन्तामणि महिला क्लबको सहकार्यमा उद्यान निर्माण गरी नदी संरक्षणमा सहयोग पुर्‍याउने सहमति भएको अधिकार सम्पन्न बागमती आयोजनाका निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिनुभयो । ‘

उद्यानका लागि महानगरपालिकालाई नमुना लागत (डिजाइन इस्टमेट) गर्ने अधिकार दिइएको छ, उद्यान निर्माणपछि नदी किनारको सार्वजनिक जग्गा संरक्षण हुनुका साथै बागमतीलाई सफा बनाउन पनि सहयोग मिल्ने आशा गरिएको छ’ उहाँले भन्नुभयो । सफाईमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायतका व्यक्तित्वको सक्रिय सहभागिता थियो । सफाइसँगै टेकु दोभान आसपासका घर घरमा गई जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइमा सबै सहभागी बनौँ भनी टेकुवासीमा जागरण फैल्याइएको बागमती समितिकी माला खरेलले जानकारी दिनुभयो ।

आगामी शनिबार १७५ औँ हप्ताको बागमती सफाई बागमती र मनोहरा दोभान शङ्खमुलमा हुने जानकारी गराइयो । सफाइसँगै बागमती समितिले निर्माण गरेको ज्येष्ठ नागरिक क्लिनिक पनि सञ्चालनमा ल्याइने निर्देशक सिंहले बताउनुभयो । रुद्रमती सफाइको १३३ औँ हप्तामा शनिबार ज्ञानेश्वर–डिल्लीबजार–मैतीदेवी–रातोपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले बताउनुभयो । वर्षाका कारण पर्खाल लगाइएको नदीमा पस्न नसकिने भएकाले नदी आसपासको क्षेत्रमा सफाई गरिएको हो । सफाईमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत व्यक्तित्वको उपस्थिति थियो ।

विष्णुमती नदीको १०९ औँ हप्तामा शनिबार डल्लुपुलमुनि सफाई गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी सानुमैयाँ महर्जनले जानकारी दिनुभयो । सफाईमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय संस्थाको उपस्थिति थियो । नख्खु खोला सफाइको ६१ औँ हप्तामा नख्खु पुलमुनि सफाई गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरोकार समाजका अध्यक्ष बलु पाण्डेले जानकारी दिनुभयो । सफाइमा कार्यविनायक नगरपालिकाका कर्मचारीलगायत स्थानीयवासीको सक्रियता थियो । सफा गरी निकालिएको फोहर ‘नेप्से म्याक’ प्रालिले व्यवस्थापन गर्नेछ ।

गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया