Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

Radhikaटोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा स्याङ्जा समाज जापानले आयोजना गरेको तीज बिशेष साँगीतिक कार्यक्रम आइतवार टोकियोमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालदेखि आएका कलाकारहरुले तीजसंग सम्बन्धित गीत तथा संगीतमा जापानमा रहेका चेलीहरुलाई यथेष्ट मनोरञ्जन मात्र प्रदान गरेनन् उनीहरुलाई आफ्नै गाउँघर र माइतीको तिर्सना पनि मेटाईदिए ।

उल्लेख्य तीजका गीतहरु गाएर शीर्ष स्थान बनाउन सफल गायिका राधिका हमालले आफ्ना थुप्रै बहुचर्चित गीतहरु पस्केर सबैलाई छमछमी नचाईन् भने अर्का तीज गीतका लोकप्रिय गायक खुमन अधिकारीले पनि आफ्ना दर्जन भन्दा बढि चर्चित गीतहरु गाएर नेपाली चेलीहरुलाई धित मरुञ्जेल नचाए । उनले आफ्ना बहुचर्चित तीजका गीतहरु गाएर घण्टौसम्म लगातार नचाउन सफल भए । यसैगरी अर्का चर्चित गायिका जमुना रानाले पनि आफ्ना थुप्रै गीतहरु गाएर थप मनोरञ्जन प्रदान गरिन् । कार्यक्रममा हाल जापानमै रहेका गायकद्वय प्रकाश कटुवाल र बैकुण्ठ महतले पनि आ-आफ्ना तीजका साँगीतिक कोसेली प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारद्वय सूर्य खड्का र समुन्द्रराज पौडेलले पनि तीज बिशेष गीत पस्केर माहौल तताएका थिए ।

समाजका अध्यक्ष जीवन न्यौपानेको सभापतित्वमा भएको सो तीज बिशेष साँगीतिक समारोहको प्रमुख अतिथि जापानका लागि कार्यबाहक राजदूतकी धर्मपत्नी गंगा अर्याल लगायतका बिशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए । तीज बिशेष साँगीतिक समारोहमा बिशेष अतिथिकारुपमा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले सँस्कृति जगेर्ना गर्ने नाममा विकृति फैलिएकोप्रति चिन्ता ब्यक्त गर्दै तीज पर्वलाई भडि्कलो हुनबाट जोगाउन र यसलाई ब्यवस्थित गर्न आवश्यक रहेको विचार ब्यक्त गरे ।

कार्यक्रमको प्रारम्भमा कार्यक्रम संयोजक अमृता बस्नेतले स्वागत मन्तब्य राखेकी थिईन् भने उपाध्यक्ष सागरमणि भण्डारीले तीजको शुभकामना ब्यक्त गरेका थिए । यसैगरी जीवन अर्यालले समाजको गतिबिधिमाथि प्रकाश पारेकी थिईन् । तीज धमाका २०१६ को साँगीतिक समारोहमा पत्रकार मुक्तिबाबु सुबेदीको कुशल सञ्चालन रहेको थियो ।

तीजकै दिन परेको स्याङ्जा समाजको तीज धमाका साँच्चिकै उल्लासमय वातावरणमा धमाका नै बनेर सम्पन्न भएको छ । तीज बिधामा खारिएका कलाकारहरुको शसक्त प्रस्तुती, आयोजकको अथक परिश्रम र अहोरात्र खटनको परिणामस्वरुप दर्शकहरुको उल्लेख्य उपस्थितिका बीच स्याङ्जा समाजको तीज धमाका सकिएको छ । समाजका अध्यक्ष जीवन न्यौपानेले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने प्रायोजक, मिडियाकर्मी, दर्शक, कलाकार, संघसंस्था सबैमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

स्याङजा समाजको तीज कार्यक्रम सकिएसंगै जापानमा औपचारिक तीज कार्यक्रमहरु सकिएका छन् । तुलनात्मकरुपमा यो वर्ष जापानमा धेरै तीज कार्यक्रमहरु भएका छन् । जापानमा बसेर गरिने यतिधेरै तीज कार्यक्रमबाट हामीले समुदायमा कस्तो सन्देश प्रवाह गरिरहेका छौं, यसबाट कस्तो नतिजाको अपेक्षा गर्न सकिन्छ र तीज पर्व मनाउने सन्दर्भमा यति धेरै तीज कार्यक्रम आयोजना गरिनु आवश्यक छ या छैन, यो बहसको बिषय भएको छ । यसतर्फ समाजका जिम्मेवार अगुवाहरुको बेलैमा ध्यान जान आवश्यक छ ।***

तपाईको प्रतिक्रिया