Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले आफ्ना क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेष समयमा सांसद अनिता देवकोटाले राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न स्तरोन्नतिका साथै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न माग गर्नुभयो ।

samsad

सांसद काशीनाथ अधिकारीले मुलुकमा चरम ऊर्जा सङ्कट सम्बोधन गर्न अघिल्लो सरकारले अघि सारेको कार्ययोजना किन कार्यान्वयन गरिएन भनी प्रश्न गर्नुभयो । सांसद अग्निप्रसाद सापकोटले सरकार र व्यवसायीबीचको द्वन्दका कारण बसको यात्रा त परै जाओस् ट्रक र ट्र्याक्टरमा समेत बसेर लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताले जनताले निकै सास्ती झेल्नु परिरहेको सदनलाई जानकारी गराउनुभयो ।

सांसद कान्ता भट्टराईले गहन अध्ययन नभई नेपाली भाषामा सुधार र परिमार्जनका नाममा व्याकरण परिवर्तन गर्दा शिक्षक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको बताउँदै सदनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सुबोधकुमार पोखरेलले चुरे क्षेत्रको वन विनाशले तराईका जिल्लामा खडेरी भएको बताउनुभयो । सांसद जङ्गीलाल रायले तराई मधेसमा ठूलो जनसङ्ख्याले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने बताइरहेका बेला त्यसअघि नै संविधान संशोधनको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

सांसद नरसिंह चौधरीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको पुनःसंरचनाको कामको औचित्यमाथि नै प्रश्न गर्नुभयो । अनुराधा थापामगरले केही व्यक्तिले आफू खुसी नेपाली भाषामा परिवर्तन गर्न खोजेकाले जटिलता उत्पन्न भएको विचार व्यक्त गर्दै यस बारेमा छानबिन गर्न समिति गठनको माग गर्नुभयो । सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका बारेमा भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा जानकारी माग गर्दै सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले संविधान संशोधन गर्न छिमेकीलाई किन सोध्नुपर्ने भनी प्रश्न गर्नुभयो । उहाँले यसबारेमा प्रधानमन्त्रीले संसद्मा आएर जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

सांसद जनकराज जोशीले पूर्व विशिष्टलाई दिने सेवा, सुविधा र सुरक्षासम्बन्धी विधेयक अघि नबढेकामा आपत्ति जनाउँदै विधेयक तत्काल अघि बढाउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद अञ्जना ताम्लीले सूचना र प्रविधिको २१ शताब्दीमा पनि नेपालका सञ्चारकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा सदनमार्फत सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले द्वन्द्वकालमा ग्रामीण क्षेत्रबाट विस्थापित भएका कृषि विकास बैंक पुनःस्थापना गर्न माग गर्नुभयो ।

सांसद मुक्तिप्रसाद पाठकले बुटवल पावर कम्पनीबाट उत्पादित विद्युत्को आवश्यक छलफल नगरी गरिएको विद्युत् महसुल वृद्धिले सर्वसाधारण जनतामा समस्या परेको भन्दै समाधानका लागि ऊर्जा मन्त्रालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद उमेशकुमार यादवले सप्तरीको अस्पतालमा गलत उपचार भएको उदाहरण दिँदै त्यस सम्बन्धमा गलत गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेशमबहादुर बानियाँले संसद्को दैनिक कार्यसूचीका बारेमा नियमावलीमा भए बमोजिम आफूहरुले एक दिनअघि पाउनुपर्ने दैनिक कार्यसूची नपाएको गुनासो गर्दै कार्यसूचीका बारेमा आवश्यक अध्ययन र जानकारी लिने काम हुन नपाएको गुनासो गर्नुभयो । सांसद रश्मी ठाकुरले पूर्व विशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के भनी प्रश्न गर्नुभयो । उहाँले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर विशिष्टको किन नहुने भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राख्नु भयो ।

सांसद आनन्दप्रसाद पोखरेलले पोखरा जाने क्रममा चितवन दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका सप्तरीका सातजनामध्ये दुईजनाको मात्र शव भेटिएको जानकारी गराउँदै तत्काल खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद योगेन्द्र तामाङ घिसिङले स्थानीय निकायको निर्वाचन गर्न राष्ट्रियस्तरमा बृहत् छलफल हुनुपर्ने बताउँदै आदिवासी÷जानजाति, दलितलगायत पिछडिएका समुदायका लागि संरक्षित संरचना हुनुपर्ने माग गर्नुभयो ।
यसअघि शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया