Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – विसं २०७२ वैशाख १२ र त्यसपछिका भूकम्पले काठमाडौँ उपत्यकामा रहेका अधिकांश प्रमुख पुस्तकालयका भवन भत्किएपछि
काठमाडौँमा रहेका पुस्तकलाई अझै व्यवस्थित गर्न सकिएको छैन ।

हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन क्षतिग्रस्त हुँदा त्यहाँ रहेका करिब एक लाखभन्दा बढी पुस्तक बोरामा हालेर राखिएका छन् । पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले लामो समय बोरामा पुस्तक राख्दा बिग्रन सक्ने भएकाले भाडामै घर लिएर भए पनि पुस्तकालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैकल्पिक व्यवस्था नगरिदिएकाले हामीले पुस्तक जोगाउन अन्य उपाय अपनाउन सकेका छैनौँ ।”

उक्त पुस्तकालयमा करिब ३०० वर्षभन्दा पुराना महत्वपूर्ण पुस्तक रहेका छन् । ती पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्च माविमा बोरामा हालेर राखिएका छन् । उक्त पुस्तकालयमा सञ्चालित बाल शाखामात्र अहिले सञ्चालनमा रहेको छ । यसैगरी भूकम्पपछि केशरमहलस्थित केशर पुस्तकालय पनि सञ्चालनमा आउन सकेको छैन । उक्त पुस्तकालयमा रहेको करिब ६५ हजार पुस्तक पनि अलपत्र अवस्थामा एउटै कोठामा थुपारिएको छ । पुस्तकालय बाहिर पाल टाँगेर पाठकलाई बस्ने व्यवस्था मिलाइए पनि पुस्तक पढ्ने व्यवस्था भने मिलाउन नसकिएको पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पलगत्तै वर्षात्का कारण पानी चुहिएर हामीले पुस्तक बोरामा राखेका थियौँ । अहिले माथिल्लो तलाबाट तल्लो तल्लामा रहेका दुई वटा कोठामा पुस्तक ¥याकमा सुरक्षित तरिकाले राखेका छौँ । तर अझै पाठकका लागि पढ्ने व्यवस्था मिलाउन भने सकेका छैनौँ ।” उक्त पुस्तकालयमा पुस्तक, जर्नल, म्यागाजिन, पत्रपत्रिका गरी ६५ हजारभन्दा बढी पुस्तक छन् । केशरशमशेरले आफ्नो निजी सोखका रुपमा अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकबाट सङ्कलन गरिल्याएका पुस्तकलाई पुस्तकालय बनाएर राखेका थिए । विसं २०२६ मा उनले नेपाल सरकारलाई उक्त पुस्तकालय हस्तान्तरण गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयमा रहेको केन्द्रीय पुस्तकालयको अवस्था पनि उस्तै छ । भूकम्पका कारण पुस्तक मिलाएर राखिएको ¥याक क्षतिग्रस्त भएपछि अहिले पुस्तक भुइँमा नै अलपत्र अवस्थामा छन् । पुस्तकालयका अनुसार दैनिक एक हजारभन्दा बढी पाठक आउने पुस्तकालयलाई अझै व्यवस्थित गर्न सकिएको छैन । उक्त पुस्तकालयमा करिब पाँच लाखभन्दा बढी पुस्तक छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालभर करिब ४० हजारभन्दा बढी पुस्तकालय रहेकामा भूकम्पका कारण ६० भन्दा बढी पुस्तकालयमा क्षति पुगेको थियो ।

नवौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज शिक्षा मन्त्रालयले पहिलो पटक पुस्तक नीतिको मस्यौदा सार्वजनिक गरेको छ । पुस्तकालय दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले उक्त नीतिको मस्यौदा सार्वजनिक गर्नुभएको थियो । मन्त्री पौडेलले सरोकारवालासँगको छलफलपछि पुस्तक नीति ल्याउने मन्त्रालयको तयारी रहेको बताउँदै पुस्तक छपाइ र बिक्री वितरणलाई व्यवस्थित गर्न पुस्तक नीति ल्याइन लागेको जानकारी दिनुभयो । कसले पुस्तक छाप्ने ?, कसरी छाप्ने ?, कति छाप्ने ? र को मार्फत बिक्री वितरण गर्ने ? जस्ता विषयमा आवश्यक मापदण्ड नहुँदा पुस्तक छपाइ तथा बिक्री वितरणमा मनपरी हुँदै आएको छ ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलकै कार्यकालमा पुस्तक नीतिको मस्यौदा तयार गर्ने काम सुरु भएको थियो । यसका लागि हरिगोविन्द लुइँटेलको संयोजकत्वमा पुस्तक नीति मस्यौदा समिति गठन गरिएको थियो । सोही समितिले मस्यौदा तयार पारी मन्त्रालयमा बुझाएको हो । पुस्तक नीति आएपछि पुस्तकको छपाइ प्रक्रिया कानुनी दायरामा आउने मन्त्रालयको अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया