Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सङ्गीतकार गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध गीत काठमाडाैँमा आज नयाँ पुस्ताका आठ गायकगायिकाका स्वरमा गुञ्जिएका छन् ।

सङ्गीतकार योञ्जनको ७४औँ जन्मजयन्तीका अवसरमा शुभारम्भ म्युजिकल जर्नीद्वारा आयोजित कार्यक्रमको सुरुआत ११ वर्षीय आयुष्मान विष्टले गाएको गीत ‘बनेको छ पहराले यो छाती मेरो’बाट भयो ।

उहाँले गाएको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीतपछि बेनुशा राईले ‘तारी नदेउ ए माझी दाइ माइतीको पाप लाग्ला है’ गाउनुभएको थियो । त्यस्तै मीना पोखरेल निरौलाले ‘मैले पुण्य मन पराएँ’, रिमा गुरुङ होडाले ‘बाँचीदिऊँ तिम्रै निम्ति’ गाउँदा शैलेश सिंहले ‘देशले रगत मागे मलाई बलि चढाऊ’ गाएर करिब सयको सङ्ख्यामा रहेका दर्शकलाई भावुक बनाउनुभयो ।

त्यसैगरी सङ्गीता शाक्यले ‘पिरतीको के चलन हो’, सुरज थापाले ‘यति चोखो यति मीठो दिउँला तिमीलाई माया’ तथा देवेन्द्रमान सिंहले ‘बिर्सेर फेरि मलाई नहेर’ गाउनुभयो । सिंह र शाक्यले युगल रुपमा ‘हिमालसरी म अग्लिरहेछु’ गीत गाउँदा कार्यक्रम प्रेममय भएको थियो ।

अन्त्यमा पुनः सिंहले नारायण गोपालले गाएको ‘अहिलेसम्म बाँचेका मेरा वियोगलाई’ गाउँदै कार्यक्रम समाप्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार नगेन्द्र थापाले योञ्जनसँग बिताएका क्षणलाई भावुक भएर सम्झँदै ‘आमाले त चिन्न नसकेका गोपाललाई मैले कसरी चिन्न सक्छु र’ शीर्षक कविता सुनाउनुभएको थियो ।

वरिष्ठ गीतकार चेतन कार्कीले योञ्जनलाई ‘त्रिवेणी’को सङ्ज्ञा दिँदै उहाँ कला, गला र कलम तीनै विधामा पोख्त सर्जक रहेको बताउनुभयो ।
नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमी, कवि मुरारी सिग्देल लगायतले योञ्जनका गीत सुनेर संसारभर छरिएर रहेका नेपालीका रगत र मुटु एकै पटक उचालिने बताउनुभयो । शुभारम्भले हरेक स्रष्टाको जन्मजयन्ती र पुण्यतिथिका अवसर पारेर यस्तै कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया