काठमाडौँ – अध्यात्म चिन्तक यज्ञराज ज्ञवालीद्वारा लिखित तीन कृति आज सार्वजनिक गरिएको छ ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालले अाज आयोजना गरेको कार्यक्रममा ज्ञवालीका ‘देवदर्शन’, ‘हाम्रो धार्मिक आस्था’ र ‘प्रतिविम्ब’ पुस्तक शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्दै नेपालको सनातन धर्मको मर्मलाई भुल्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा लेखक ज्ञवालीले पुस्तकले आफू बस्ने समाज र बदलिँदो विश्व परिवेशमा आएको परिवर्तनलाई अँगालेको बताउनुभयो ।
पुस्तक ‘हाम्रो धार्मिक आस्था’ माथि टिप्पणी गर्दै प्रा. डा. वेणीमाधव ढकालले धर्मका पुण्य, स्वभाव, कर्तव्य आदि स्वरुप रहेको बताउनुभयो । कृतिबाट सामान्य मानिसहरुले पनि परम्परागत चाडपर्व मनाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । ‘देवदर्शन’ पुस्तकको समीक्षा गर्दै प्रा. डा. दुर्गाप्रसाद अर्यालले नेपाल र भारतका विभिन्न तीर्थस्थलमा तीर्थाटनका क्रममा लिएको जानकारीलाई प्रस्तुत गरिएकाले पुस्तकले ती पवित्र धामका बारेमा प्रशस्त जानकारी दिने बताउनुभयो ।
यस्तै ‘प्रतिविम्ब’ पुस्तकबारे टिप्पणी गर्दै डा. भागवत ढकालले पुस्तकले नेपाली राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक विषयवस्तुको यथार्थ चित्रण गरेको बताउनु भयाे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपाध्यक्ष यादव भट्टराई, संरक्षक सूब सेन, सल्लाहकार रामप्रसाद दाहाल र ठाकुर शर्माले धर्मलाई सेवासँग जोड्नुपर्ने र आफूले आफैँलाई जित्नुपर्ने बताउनुभयो ।