Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

prachanda finalll

काठमाडौँ – दश वर्षसम्म राज्यका विरुद्ध हतियार उठाएका विद्रोही कम्युनिस्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा बुधवारदेखि द्रोसो पटक राज्य सञ्चालनको बागडोर आइपरेको छ । विसं २०११ साल मंसिर २६ गते ढिकुरपोखरीमा पिता मुक्तिराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा उँहाको जन्म भएको थियो ।

एउटा सामान्य परिवारमा जन्मिनुभएका छविलाल दाहाल चितवनको कृषि क्याम्पसमा स्नातकको विद्यार्थी पुष्पकमल दाहालहुँदै रोल्पाका दुर्गम गाँउबाट विद्रोही नेता प्रचण्डका रूपमा स्थापित हुनुभएको थियो । बाबु मुक्तिराम र आमा भवानीका आठजना सन्तानमा सबभन्दा जेठो प्रचण्ड आफैँ चार सन्तानका बाबु समेत बनिसक्नु भएको हुनुहुन्छ । पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनैतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालिसकेको थियो ।

उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको द्रोसो निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका ‘प्रचण्ड’ले राजनीतिमा आउनुपूर्व झन्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएसएडमा काम गर्नुभएको थियो । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गर्नु भएका ‘प्रचण्ड’ २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन मा प्रवेश गर्नुभयो ।

चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका ‘प्रचण्ड’ २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो । २०३८ सालमा क्षेत्रीय व्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका ‘प्रचण्ड’ २०४० सालमा अनेयुसंघको अध्यक्ष बन्नुभयो । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीव्र गतिमा अघि बढेको पाइन्छ । २०४१ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ मा पोलिट्ब्यूरो सदस्य बन्नुभयो ।

२०४२ मा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बन्नु भएका प्रचण्ड हालसम्म पार्टीको प्रमुख नै हुनुहु्न्छ । २०४८ सालमा नेकपा एकता केन्द्रको महासचिव हुनु भएका ‘प्रचण्ड’ २०५१ मा नेकपा माओवादीको महासचिव र २०५७ मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसयता उहाँ एकीकृत नेकपा माओवादीको अध्यक्ष हुनुहुन्छ ।

विसं २०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहको नेतृत्व गर्नुभएका ‘प्रचण्ड’ राज्य सत्ता पल्टाउन गठन भएको सशस्त्र फौज ९जनमुक्ति सेना, नेपाल०को सर्वोच्च कमाण्डर पनि बन्नुभयो । २०६३ साल असार २ गते २५ वर्षको भूमिगत जीवनबाट बालुवाटारमा सार्वजनिक हुनु भएका ‘प्रचण्ड’ १८ अगष्ट २००८ देखि २५ मे २००९ सम्म नेपालको प्रधानमन्त्री बन्नुभयो । २०६४ सालमा भएको संविधानसभा चुनावमा उहाँले काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको थियो ।

उहाँले काठमाडौँमा नेपाली काँग्रेसका राजेन्द्रकुमार के।सीलाई पराजित गर्नुभएको थियो । तर २०७० सालको द्रोसो संविधान सभाको निर्वाचनमा भने प्रचण्डले भारी मतले पराजय भोग्नुपर्योल । काठमाडौँ क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीसँग प्रचण्ड पराजित हुनुभएको थियो । यद्यपि २ ठाउँबाट उम्मेदवारी दिनुभएका प्रचण्डले सिरहा क्षेत्र नम्बर ५ बाट भने विजयी हासिल गर्नुभयो ।

पछिल्लो समय टुटेफुटेका माओवादी शक्तिहरूलाई एक बनाउनका लागि प्रचण्डको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ । गत जेष्ठमा माओवादी अध्यक्ष प्रचण्डकै अगुवाईमा विभाजनको चार वर्षपछि पुरानै ठाउँ आइपुगेका माओवादी घटकहरुले दलको नाम बदल्दै नेकपा माओवादी केन्द्र राखिएको छ । एकीकृत नेकपा माअ‍ोवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत १० घटकबीच एकता घोषणा भएको हो । यद्यपि द्धन्द्ध कालमा प्रचण्डका सहकर्मी मानिएका बाबुराम भट्टराई र मोहन बैद्य भने हाल नयाँ पार्टी गठन गरेर छुट्टै हुनुहुन्छ ।

यसले प्रचण्डको राजनीतिक जीवनमा केही असर पार्ने कतिपयको ठहर छ । यसअघि पनि प्रधानमन्त्रीको जिम्मेवार सम्हालेर तत्कालीन प्रधासेनापति रुक्माङगत कटुवालसँगको विवादका कारण प्रधानमन्त्री पद गुमाउनुभएका प्रचण्डले यो अन्तिम अवसर भएको बताँउदै आउनुभएको छ । २०६५ साल साउन ३१ गते संविधानसभामा भएको चुनावमा प्रचण्ड ४६४ मत पाई विजय हुनुभएको थियो । उहाँको विपक्षमा ११३ मत परेको थियो । संविधानसभामा ५ सय ७७ जना सभासद् उपस्थित भए पनि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाली काँग्रेसले उहाँको विपक्षमा मतदान गरेको थियो ।

प्रचण्डलाई एमाले, मधेसी जनअधिकार फोरमलगायत संविधानसभामा रहेका २१ दल तथा स्वतन्त्र सभासदको समर्थन थियो । २०६२ र६३ को आन्दोलनको सफलतापछि उहाँ खुला राजनीतिमा आउनु भयो र संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो पार्टी बनेपछि उहाँको प्रधानमन्त्री बन्ने बाटो खुलेका हो । तर, हाल माओवादी तेस्रो पार्टी भएर एमालेसँग सहकार्य गरेर अगाडी बढेको माओवादी र एमालेबीच खटपट सुरु भएपछि निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा विरुद्व संसदमा अविश्वासको प्रस्ताव नै दर्ता गरेर राजीनामा दिन बाध्य बनाईयो ।

कुनै समय प्रचण्ड बिरुद्व प्रतिपक्षमा रहेर शक्त विरोध गरेको नेपाली काँग्रेस अहिले प्रचण्डको सहयात्री बनेको छ । हाल प्रचण्ड नेपाली काँग्रेस, मधेसी मोर्चा सहितको समर्थनमा ३ सय ६३ मतसहित प्रधानमन्त्रीमा विजयी हुनुभयो । उँहाको विपक्षमा एमाले सहितका २ सय १० उभिए । प्रधानमन्त्रीका लागि उँहा एक्लो उम्मेदवार रहेपनि नेकपा एमाले सहितका दलले विपक्षमा मतदान गरे ।

संसदको द्रोस्रो ठुलो दलसहित केही साना दल प्रतिपक्षमा रहेका बेला प्रचण्डलाई सत्ता चलाउनु त्यति सहज भने नहोला । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको अन्तरविरोधको सूक्ष्म विश्लेषण गरी त्यसमा मज्जाले खेल्न सक्ने कुशल खेलाडीका रूपमा स्थापित प्रचण्डले काँग्रेस र मोर्चालाई मिलाएर अगाडी बढ्न सके केही सहज भने देखिन्छ । कानुन र संविधानको अवज्ञा गर्ने नेताको रूपमा विद्रोही नेता प्रचण्डले पाउनुभएको सफलता कानुन र संविधानको पालना गराउँदै गठबन्धन सरकार हाँक्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि चुनौतीपूर्ण हुनेछ ।

तपाईको प्रतिक्रिया