बिदेशमा पलायन हुने कुरा म कल्पना पनि गर्न सक्दिन । बिदेश नै मेरो सपना हुन्थ्यो भने लाहुरे हुन जान्थे । अहिले पनि कति अफर आईरहेका छन् । म सँगीतमा डुबुल्की मार्दै यसैमा भविष्य खोज्ने मान्छे । आधा भर्याङ चढिसकेको छु, ढिलै होस् अर्थात बुढो नै हुनुपरे पनि म पुरै भर्याङ चढ्न चाहान्छु ।
यी भनाई हुन्, संगीतमा भविष्य खोज्दै २०५७ सालतिर राजधानी झरेका मुस्कानका धनी गायक देवराज आले मगरको । धादिङ जिल्ला आदिमचोक-९ आलचोक निवासी आले मगर स्कुले जीवनदेखि नै संगीत भनेपछि हुरुक्कै हुने गर्दथे । राजधानी झरेपछि कलेजको अध्ययनसंगै सामाखुशीस्थित दौंतरी दोहोरीबाट उनले ब्यवसायिकरुपमा गायन यात्रा सुरु गरेका हुन् । यात्राले अहिले एकदशक पार गरिसकेको छ । अहिले भने उनी गामवेशी रोधीघरमा आधुनिक गायक तथा म्युजिसियनका रुपमा कार्यरत छन् ।
लोकगीतबाटै गायनयात्रा सुरु गरेका आले मगरले ’हिउँखोलीमा पुल’ ’निष्ठुरी संसार’ लगायतका लोकगीतका एल्बम बजारमा ल्याईसकेका छन् भने तिम्रो माया, यादहरु, मोहनी लगायतका सोलो आधुनिक गीतका एल्बम पनि बजारमा ल्याएकाछन् । लोक तथा दोहोरी गाउँदै गर्दा आफ्नो स्वरले दोहोरीमा अलि म्याच नगरेको हो कि जस्तो लागेर पछि उनी आधुनिकतिर ढल्किएका हुन् । उसो त उनलाई गायककोरुपमा मात्र सीमित गर्नु उनीमाथि अन्याय हुनजान्छ । उनी एक कुशल संगीतकर्मी पनि हुन् । शोखले उनलाई म्युजिसियन बनाएको उनी बताउँछन् ।
एसएलसी सकेपछि म्युजिक पढ्ने आलेको प्रस्तावलाई कमाईका हिसाबले गीत र संगीतलाई राम्रोसंग बुझेका उनका बाबुले ठाडै अस्वीकार गरेका थिए । छोरो लाहुरे होस, पैसा कमाओस् भन्ने नेपाली सेनाका रिटायर्ड बाबुको चाहना बिपरित आले आफ्ना बाबु घरमा नभएको बेला भागेर काठमाडौं हानिएका थिए । आफ्नै तरिकाले अगाडि बढ्ने फैसला गरेर काठमाडौं झरेका आले थुप्रै संघर्षका दिनहरु झेल्दै आज उनी आधाबाटो हिडिसकेको बताउँछन् ।
उनको बुझाईमा आधुनिक गायक र म्युजिसियनहरु अचेल मर्कामा छन् । उनीहरु दोहोरीको छायाँमा पर्नुपरेको छ । अझ ट्रयाक बजाएर गाउने प्रचलनले त म्युजिसियनहरु थप मारमा परेका हुन् । उनले अगाडि भने – बिना अध्ययन म्युजिसियन बन्न सकिन्न, वर्षौ लगाएर संगीत सिकेर एकजना म्युजिसियन बन्छ । यता रेष्टुरेन्टमा वेटर गर्दागर्दै स्टेज चढेकाहरु रातारात गायक-गायिका बनिदिन्छन् । स्वरले हल्का साथ दिए पछि त उनीहरु हेर्दाहेर्दै चर्चित कलाकार बनिदिन्छन् । यतिसम्म कि आफ्नो सुर लागेको छ कि छैन, कहाँनेरबाट गीत उठाउने हो थाहा नपाउनेहरु पनि चल्तीका गायक गायिका बनिदिन्छन् । उनीहरुकै गीत चलेका छन् हिट भएका छन् । बिदेशतिर उनीहरुकै डिमाण्ड छ । यो बिडम्बनाको कुरा हो ।
बजारमा अहिले एकसे एक गायक छन् । पैसा खर्च गर्ने हो भने प्रविधिले गायक बन्न सजिलो बनाईदिएको छ । शोखले गाउनेहरुको पनि गीत चल्ने बनाउन सक्ने जमाना छ । पैसा पेलेर टेलिभिजन र रेडियोमा निरन्तर गीत बजाउन सक्यो भने गीत चल्ने बनाउन सकिन्छ । जमाना यस्तो आईसक्यो कि मिडियालाई पनि पैसा भए भयो । यो क्षेत्रमा बिशेष कला र प्रतिभा भएको, संगीत बुझेको, धैर्य गरेर लाग्ने मान्छेहरु अचेल पछाडि परेका छन् । तर निरन्तर साधना गर्न सक्ने हो भने एकदिन अवश्य सफल हुन सकिन्छ । त्यस्तो मान्छेको जब एउटा गीत चलेपछि उ अगाडि बढेकोबढ्यै हुन्छ, पछाडि फर्कन पर्दैन र उसले त्यसपछिको अर्को स्टेप अझ राम्रो गर्नका लागि थप कोशिस गर्दछ ।
तर अहिले बिदेश छिर्ने माध्यम बनाउनकै लागि एल्बम निकाल्ने होडबाजी छ । मार्केटमा बिक्नका लागि मिडियामा पैसा पेलेर एल्बम हिट बनाउने अनि आफु चलेको देखाउने प्रवृत्ति हाबी छ । यसले हाम्रो कला र सँस्कृतिलाई कता लैजाने हो चिन्ताको बिषय बनेको छ । तथापि चित्त बुझाउँदै आले मगर अगाडि भन्छन् – ’रातारात ह्वाट्टै माथि आएर सेलाउनुभन्दा बिस्तारै उकालो चढेकै राम्रो ।’
सारङ्गी बाहेक सबै बाद्यबादनमा कुशल आफै कम्पोजर पनि आले मगर आफुलाई आधुनिक गायक भन्न रुचाउँछन् । अब उनको गायकीझुकाव पुरै आधुनिकतिर मोडिईसकेको छ । उसो त उनी दोहोरी पनि तकडा गाउँछन् मै हुँ भन्नेहरुको पनि हुर्मत लिन्छन् ।
उनले पुराना दिनहरु सम्झन्दै भने – स्कुलमा हुने कार्यक्रमहरुमा देवले गाउनुपर्छ है भनेर साथीहरु उक्साउँथे अनि नारायण गोपाल, रामकृष्ण ढकाल र शम्भु राईका आधुनिक गीत बिना म्युजिक गाईदिन्थे, कति राम्रो गाएको भनेर सबैले फुर्क्याईदिन्थे, अनि म हौसिएर भुंईमा न भाँडोमा हुन्थे । म भित्र गायक बन्ने शोख त्यतिबेलैबाट पलाएको हो ।
कलाकारहरुको भित्री पीडा पनि खोतल्दै आले मगरले अगाडि भने – कलाकारहरु बाहिर हेर्दा हाइफाई गर्छन्, सबैले माया गर्छन, त्यतिबेला आनन्द लाग्छ । तर जब घरभित्र छिरेपछि कुनै कुराको अभाव झेल्नुपर्छ त्यतिबेला धत्तेरीका गलत क्षेत्र रोजिएछ भन्ने लाग्छ । साथीहरु लाहुरे भएर, बिदेश गएर, बिजनेश गरेर मस्तीको जीवन जिईरहेका छन् आफु भने यस्तो भनेर कहिलेकाँही हिनताबोध हुन्छ । तै पनि जे छु ठिकै छु भनेर चित्त बुझाउने बानी परेको छ ।
हङकङ पछि दोस्रो मुलुककारुपमा केही महिना अगाडि टोकियो रोधी क्लवको निमन्त्रणामा जापान आएका आले मगर संगीतलाई राम्रोसंग बुझेका गायक हुन् । उनी संगीतमा एकोहोरिएर लागेका छन् । जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि अझै २, ३ वर्ष यही क्षेत्रमा कठोर संघर्ष गरेर अगाडि बढ्ने उनको योजना छ । त्यसबाहेक उनको अर्को सपना भनेको चलचित्र क्षेत्रमा पनि काम गर्ने रहेको छ । छोरो लाहुरे होस्, नराम्रो काम नगरोस, पैसा कमाओस, जिन्दगी बनाओस् भन्ने चाहना राख्ने आले मगरका बाबुआमा अहिले भने छोराको काम गराई बुझेपछि सन्तुष्ट छन् ।
लोक तथा दोहोरी गीतको क्षेत्रमा बिकृति बढेकोमा भने आले मगरले यसरी चिन्ता ब्यक्त गर्दछन् – छाडा प्रवृत्ति बढ्दो छ, छाडा गाएर होस् या छोटा लुगा लगाएर जसरी पनि चल्नुपर्छ भन्ने मानसिकताले यो क्षेत्र गाँजेको छ । बिदेश जान कै लागि कलाकार बन्ने बिकृति बढेको छ । मै हुँ भन्ने गायकहरु पनि जता गयो उतै पलायन भैदिन्छन् ।
संघर्ष गरेपछि नेपालमै पनि त बाँच्न सकिन्छ भनेर सन्देश कसले दिने ? अर्कोतिर हाम्रा टिपिकल लोकभाकामा कसरी अझ निखारपन ल्याउन सकिन्छ भन्ने कसैलाई चिन्ता छैन । जतिसक्दो तोडमोड गरेर विकृत बनाईदैं छ । लोकगीत कसरी उत्पत्ति भयो भन्ने मै हुँ भन्ने गायकलाई पनि थाहा छैन । वास्तविक कुरो नबुझिकन रातारात चर्चामा आउनेहरुको बिगबिगी बढेको छ । आफुलाई चाहिने ज्ञान पढेर, जानेर, सिकेर आउने कलाकारहरु एकदमै कम छन् ।
पूर्वको हाप्पादेखि पश्चिमको सालैजो, चुड्का, देउडासम्मका इतिहास एउटा लोकगायकले बुझ्न जरुरी छ । यस बिषयमा नियमन गर्ने आधिकारिक निकाय छैन, सरकार मौन् छ । यहि पाराले जाने हो भने लोकगीत तथा दोहोरीको भविष्य संकटमा पर्ने देखिन्छ ।
बिदेशमा बस्ने नेपालीहरुलाई संकेत गर्दै गायक आले मगरले अन्तमा भने – मुलुक नै रेमिट्यान्सले धानिएको बेला कलाकारहरुको मुख्य आधार पनि बिदेश नै बनेको छ । नेपाली मौलिक सँस्कृति जोगाउन बिदेशका नेपालीहरुको पनि ठूलो हात छ । एकछिन रमाउन लागि मात्र नभएर टिपिकल नेपाली सँस्कृतिलाई चिनेर, बुझेर सोही अनुसार प्राथमिकतामा राखेर कार्यक्रमहरुको आयोजना गरिएमा सोही अनुसारका कलाकारहरुले अवसर पाउने हुँदा यसरी पनि नेपाली मौलिक संस्कृतिको जगेना गर्न सकिन्छ ।
नेपाली गीत संगीतको मुख्य आधार भनेको लोकगीत हो । लोक बिधाभित्र पनि थुप्रै लोकसँस्कृति छ । लोकसंस्कृति भित्रको एउटा महत्वपूर्ण पाटो हो दोहोरी । कैयौं संघर्ष गरेर जापानसम्म आएका नेपालीहरु यसबारेमा धेरै नै जानकार रहेको पायौं । दोहोरीमा उहाँहरुको एकदमै धेरै लगाव रहेको पाईयो, यसलाई जोगाईराख्न यहाँका जिम्मेवार संघसंस्था, मिडिया, कलाकर्मी सबैको ध्यान जान जरुरी छ । अन्तमा आफ्ना भनाईहरु राख्ने अवसर दिएकोमा जापानको लोकप्रिय अनलाईन समुद्रपारि डट कमलाई धन्यबाद दिन चाहान्छु । (गायक आले मगरसंगको कुराकानीमा आधारित)