टोकियो-जापानको सबैभन्दा ब्यस्त र केन्द्रमा पर्ने सिन्जुकु सिटीमा रहेका जापानी भाषा स्कुलमा अध्ययनरत ४४ भन्दा बढि बिदेशी बिद्यार्थीहरुलाई क्षयरोग अर्थात टिबी रोगको संक्रमण रहेको मंगलबार टोकियो महानगरपालिकाले सार्बजनिक गरेको छ । उक्त रोगका किटाणु बिदेशबाट सरुवा रोगको रुपमा भित्रिएको पनि महानगर श्रोतले जानकारी गराएको स्थानिय संचार माध्यमहरुमा प्रकाशित गरिएको छ । भाषा स्कुलमा अध्ययनरत छात्र, छात्रा तथा शिक्षक-शिक्षिकामा पनि सो रोग देखा परेको छ । सो मध्ये १० जनालाई भने भर्खरै सुरु भएको अवस्थामा पत्ता लागेको हो ।
श्रोतका अनुसार गत नोभेम्बर महिनामा एक जापानी भाषा स्कुलमा पढ्ने बिदेशी बिद्यार्थीलाई नजिकको अस्पतालले क्षयरोग लागेको पत्ता लगाएर अस्पताल भर्ना गरेको थियो । सो बिद्यार्थीसंग बस्ने अर्का एक बिद्यार्थीलाई पनि पछि स्वास्थ्य परिक्षणको क्रममा क्षयरोग लागेको पत्ता लागेको हो । त्यसपछि एक पछि अर्को गर्दै सोहि स्कुलका ४३ बिद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुमा पनि सो रोग सरेको थाहा लागेको समाचारमा बताईएको छ । जसमध्ये, ९ जनालाई खोकी लागिरहने भएकोले अस्पतालको नियमित निगरानीमा उपचार भईरहेको छ ।
क्षयरोगको लक्षण भेटिएको एक ४० बर्ष उमेर समुहकी शिक्षिका बाहेक सबै बिदेशी बिद्यार्थी रहेको समाचारमा उल्लेख छ । सबैभन्दा पहिले उक्त रोग लागेको २० बर्ष उमेर समुहका बिद्यार्थी गत बर्षको अप्रिलमा जापान आएको बुझिएको छ । उनलाई सेप्टेम्बर महिनाबाट क्षयरोगको लक्षण देखिएको र किटाणुहरु बिदेशबाट भित्रिएको अनुमान गरिएको छ । सो रोग लाग्ने बिद्यार्थी तथा उनीहरुको स्कुलको नाम भने गोप्य राखिएको छ ।